शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

बुधबार, १४ वैशाख २०७९, २१ : ३२
बुधबार, १४ वैशाख २०७९

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ ।  ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । 

त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप १२.५ अर्ब डलर ऋण लिनेछन् । यो समाचारबीच मंगलबार टेस्लाको शेयरमा १२.२ प्रतिशतको गिरावट आयो। यो गिरावटले मस्कको सम्पत्ति पनि २१ अर्ब डलरले घटेको छ । हाल घटेको रकम उनले ट्वीटर किन्ने समयमा तिर्ने बाचा गरेको नगद रकम बराबर हो । 

मस्कले ट्वीटर किन्नको लागि टेस्लाको शेयर बेच्दैछन् भन्ने चिन्ताले टेस्लाका लगानीकर्ता हच्किएपछि यो स्थिति आएको वेडबस सेकुरिटिज नामक वित्त फर्मका विश्लेषक ड्यान इभ्स बताए ।  अनलाईन ट्रेडिङ प्ल्याटफर्म ओयान्डाका एक विश्लेषक एड मोयाले यस विषयमा भने, ‘यदि टेस्लाको शेयर मूल्य निरन्तर घट्यो भने मस्कको ट्वीटर खरिदसमेत धरापमा पर्न सक्छ ।’

मंगलबार टेस्लाबाहेक समग्र प्रविधि क्षेत्रका शेयरमा गिरावट भएको थियो । यसै कारणले मंगलबार न्यासड्याकको कारोबार सन् २०२० डिसेम्बर यताकै न्युन तहमा पुगेर बन्द भएको थियो ।  एक लगानीकर्ताले विश्व आर्थिक वृद्धि सुस्त हुँदै गएको र अमेरिकाको फेडरल रिजर्भको आक्रमण ब्याज दरको प्रभाव शेयर बजारमा पर्न सुरु भएको आशंका व्यक्त गरे ।

मंगलबार नै ट्वीटर कम्पनीको शेयर मूल्य पनि घटेको थियो । उसको शेयर मूल्य ३.९ प्रतिशतले झरेर प्रति कित्ता ४९.६८ डलरमा कारोबार भएको थियो । जबकि मस्कले कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा किन्ने सहमति जनाइसकेका छन् । 

टेस्लाको शेयर मूल्य घटिरह्यो भने मस्कले ट्वीटरसँग गरेको सहमतिमा पुनर्विचार गर्न पनि सक्छन् । किनकि मस्कको २३९ अर्ब डलरको सम्पत्ति भनेको लगभग उनीसँग रहेको टेस्लाको विशाल संख्याको शेयर नै हो । –द गार्जियनबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप