शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्राधिकरणले ३८ रुपैयाँमा बिजुली आयात गरेको छैन : कुलमान घिसिङ

बुधबार, १४ वैशाख २०७९, २० : २८
बुधबार, १४ वैशाख २०७९

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात भइरहेको भनेर हल्ला भइरहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो ३८ रुपैयाँ प्रतियुनिट तिरेर बिजुली आयात नगरेको प्रस्ट्याएका छन् ।

यस्तो छ कुलमानको भनाइः
घिसिङले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने उच्च मूल्य २० भारू (३२ रुपैयाँ) लाई ३८ रुपैयाँमा आयात गरियो भनेर हल्ला चलाइएको छ । एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं । त्यसमा १८ भारु (२८.८ रुपैयाँ) परेको रहेछ । त्यो पनि १५ मिनेटको ब्लकमा । यसभन्दा हामीले माथि कोट गरेकै छैन । अहिले १२ भारु प्रतियुनिटको सीमा लगाइदिएकाले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन ।

प्राधिकरणले ‘अप्टिमाइज इम्पोर्ट’ कसरी हुन्छ त्यतातर्फ ध्यान दिएर विद्युत आयात गरिरहेको छ । नेपालको जडित क्षमता बढेकाले मंसिरसम्म विद्युत आयात गर्नु भएको थिएन । उक्त अवधिसम्म नेपालबाट ३९ मेगावाटसम्म बिजुली निर्यात भइरहेको थियो । तर, उत्पादन घटेपछि पुसबाट आयात सुरु भएको हो ।

पुसमा प्रतियुनिट औसत मूल्य तीन भारु (४.८ रुपैयाँ)मा बिजुली आयात भएको थियो । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीले उत्पादन थालेपछि पिक समयमा बिजुली आयात गर्नुनपर्ने प्राधिकरणले जनाएको छ । नेपालले भारतीय एक्सचेञ्ज मार्केटको विकल्पमा विहारबाट प्रतियुनिट ६.१८ भारु (९.८८ रुपैयाँ)मा आयात गर्दै आइरहेको थियो ।

त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट गर्नुपर्दैनथ्यो । ६.१८ भारुलाई आधार मूल्य तय गरी प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गथ्र्यौं । एक दिन त औसत मूल्य प्रतियुनिट १.८३ भारु (२.९२) आएको छ । पुस, माघ, फागुनसम्ममा आयात विद्युतको प्रतियुनिट औसत मूल्य ३ भारु (४.८ रुपैयाँ)भन्दा कम छ ।

यसमा प्रसारणलाइन शुल्क ५३ पैसा थप्दा औसत ३.५३ भारु छ । रातिको मूल्य सस्तो भएकोले सोही समयमा आयात गरेकोले औसत मूल्य कम भएको हो । माथिल्लो तामाकोसीलाई पिकिङ गरी पिक समयको महँगो विद्युत कहिले पनि किन्दैन थियौं । राती ९९ पैसा भारुमा किनेर आयात गरेका छौं, २ सय देखि ३ सय मेगावाटसम्म । फागुनसम्म ३.५३ भारुको हाराहारीमा थियो ।

चैतमा आएपछि भारतमा विद्युतको मूल्य दैनिक रुपमा एक्कासी बढ्यो । तर, पनि त्यतिबेलासम्म आन्तरिक रुपमा व्यवस्थापन गरी हामीले पिकमा किनेनौँ । चैतमा भारतीय बजारमा मुल्य बढेका कारण यस अवधिसम्मको औसत मूल्य केही बढ्यो । बिहारबाट फागुनसम्म विद्युत ल्याएनौँ । प्रतिस्पर्धी बजारमा सस्तोमा पाउँदा पाउँदै बिहारबाट ६.१८ भारुमा किन ल्याउने ? प्रतिस्पर्धी बजारमा सस्तो थियो । यसरी हामीले ‘अप्टिमाइज इम्पोर्ट’ गरेका हौं । चैतसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ४.५० भारुको हाराहारीमा छ ।

वैशाखको १५ गतेसम्ममा औसत मूल्य केही बढेको छ । किनभने हामीले औसत मूल्य नै प्रतियुनिट १२ भारु थियो । तर, धेरै परिमाणमा आयात भएको छैन । पुसदेखि अहिलेसम्मको औसत मूल्य प्रतियुनिट करिब ५.२० भारु छ । सो प्रसारण शुल्क सबै जोडेर भएको मूल्य हो । कुनै बेला सस्तो किनेको छ कुनै बेला महंगो भयो त्यसको औसत मूल्य हेर्नु पर्ने हुन्छ । आन्तरिक उत्पादनले नधान्ने भएकोले करिब एक महिना पाएसम्म भारतबाट आयात गर्नु पर्ने हुन्छ । बाँकी अवधिको सहित आयात विद्युतको प्रतियुनिट मूल्य औसतमा ६ भारुको हाराहारीमा हुन्छ । महंगोमा बिजुली किनेकै छौं ।

द्धिपक्षीय सम्झौता गरेर महंगोमा किनेको भए आरोप सही हुनसक्थ्यो । प्रतिस्पर्धी बजारमा तय भएको दरमा किनिएको हो । बिहारबाट पनि किन्नु पर्ने भएकोले औसत मुल्य केही माथि गएको हो । सस्तोमा बेच्यो भन्ने आरोप पनि गलत छ । गत सेक्टेम्बर र अक्टोरबरमा विहारलाई दियौँ । बिहारमा बिक्री गरिएको विद्युतको प्रतियुनिट मूल्य ६.१८ भारु हो । जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो । इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो । ३९ मेगावाट डेढ महिना बिक्री गरेको हो । त्यसपछि त आन्तरिक उत्पादनले नधान्न थालेपछि आयात सुरु गरिएको हो । त्यतिबेला खपत गरेर बचत भएको करिब ५÷६ सय मेगावाट अतिरिक्त ऊर्जा थियो ।

दशैंको समयमा नेपालको माग ८०० हाराहारीमा थियो । त्यतिबेला १ हजार ८ सय मेगावाटको उत्पादन ८ सय मेगावाटको विद्युत माग थियो । औसतमा ३÷४ सय मेगावाट खपत गर्न नसकी खेर गएको थियो । हामीले भारतबाट स्वीकृति पाएपछि ३९ मेगावाट एक्सचेन्ज बजारमा बिक्री गर्यौ । हामीले जति कोट गरेपनि विद्युत बिक्री भएन भने शून्यमा आउनु पर्छ नि । डेढ महिनाको ३९ मेगावाटको ३.५० भारु औसत मूल्य पाएका थियौं । दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौता अनुसार नभएर ९६ वटा ब्लकमा प्रतिस्पर्धी दरमा तय भएको रेटमा बिक्री गरिएको हो । अहिले हामीसँग अतिरिक्त ऊर्जा भएको भए प्रतियुनिट औसत मूल्य १२ भारु पाउँथ्यौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप