बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरका ७ जना उम्मेदवार विरुद्ध उजुरी दर्ता

बुधबार, १४ वैशाख २०७९, १८ : ४०
बुधबार, १४ वैशाख २०७९

मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकाका २ जना, बकैया गाउँपालिकामा ३ जना, मनहरी गाउँपालिकाका २ जना गरी ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका नम्बर वडा–४ का नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नविन सिग्देल र हेटौंडा–१९ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ । दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा एमालेबाट नै वडा अध्यक्ष पदमा उम्मेदवार भएर चुनाव जितेका थिए ।

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्षका उम्मेदवार सिग्देल विरुद्ध अवैधानिक उपभोक्ता समिति गठन गराई राज्य कोषको रकम निकासा गरेको आरोपमा उजुरी परेको हो ।

यता हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सुवेदी माथि करछलीको आरोपमा उजुरी परेको हो । त्यस्तै जिल्लाको बकैया गाउँपालिकामा ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । उजुरी पर्नेमा नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी दिएका छावा अधिकारी र नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ भने वडा नम्बर–५ का नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध उजुरी दर्ता भएको छ ।

मनहरी गाउँपालिकाका २ उम्मेदवार विरुद्ध उजुरी परेको छ । नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको हो भने मनहरीको ३ नम्बर वडाका उम्मेदवार नेपाली काँग्रेसका अनन्त प्रसाद अर्याल माथि उजुरी परेको हो ।

गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै विष्ट विरुद्ध उजुरी परेको हो भने विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित काँग्रेसका अर्याल माथि उजुरी परेको हो ।

उजुरी परेका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरणसमेत आइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारहरू विरुद्ध परेको उजुरी उपर छानविन भइरहेको जनाइएको छ ।

यदि आरोप पुष्टि भए उनीहरुको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अन्य पालिकाका उम्मेदवारहरू विरुद्ध कुनै पनि उजुरी परेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप