मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सोह्र हजार नौ सय १७ हेक्टर जमिनमा चिया खेती

बुधबार, १४ वैशाख २०७९, १७ : ३७
बुधबार, १४ वैशाख २०७९

नेपालमा सोह्र हजार नौ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी समेत गरे ।

उनले भने, ‘आ.व.२०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आव २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । करिब एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याएको तथ्याङ्कमा देखियो । यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अबको ३ वर्षभित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्ब विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।’

बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे । बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजारभन्दा बढि चिया कृषक र ६० हजार भन्दा बढी यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप