मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५ दलीय गठबन्धनको ‘भद्रगोल तालमेल’ ले एमाले उत्साहित !

बुधबार, १४ वैशाख २०७९, १६ : ४६
बुधबार, १४ वैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उत्साहित हुन पुगेको छ । सुरुमा सत्ता गठबन्धनले ‘कसिलो’ तालमेलको गृहकार्य गरे पनि चुनावी मिति नजिकिदै जाँदा आपसमा हानथापले विभिन्न पालिकामा तालमेल नै छिन्नभिन्न भएको देखिन्छ । सत्तारुढ गठबन्धनभित्र बढेको भद्रगोलले चुनावी नतिजा आफ्नो पोल्टामा पर्ने एमाले नेता कार्यकर्ताको बुझाइ छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले उत्साहका साथ चुनावी अभियानमा होमिएको भन्दै सत्ता गठबन्धनलाई एमालेले गणना नै नगरेको प्रतिक्रिया दिए । ‘एमालेले गठबन्धनलाई गणना नै गरेको छैन । गणना गर्नुपर्ने आवश्यकता पनि छैन’, पौडेलले भने, ‘एमाले बलियो छ, हामी एक्लै प्रतिस्पर्धा गर्न सक्दैनौं, त्यही भएर गठबन्धन बनाउनुपर्‍यो भनेर सत्तारुढ दलकै नेताहरुले बारम्बार बताइरहेको अवस्थामा उहाँहरुले नै एमालेको श्रेष्ठता देखाइरहनु भएको छ ।’

पौडेलले देशभर उत्साहका साथ एमाले नेता कार्यकर्ता चुनावी अभियानमा होमिएको पनि बताए । ‘चुनावका लागि हाम्रा नेता कार्यकर्ता देशभर उत्साहका साथ चुनावी अभियानमा लाग्नुभएको छ’, उनले भने, ‘वैशाख ३० को निर्वाचनपछि एमाले सवैभन्दा ठुलो र सशक्त पार्टी भएर स्थानीय सरकारहरु बनाउँछ ।’ 

उनले एमाले नेतृत्वको सरकारले गरेका कामहरु लिएर नेताहरु जनतामा जाँदा एमालेप्रतिको जनआकर्षण बढेको समेत दावी गरे । ‘हिजो गरेका राम्रो कामको विवरण लिएर व्यवस्थित ढंगले जनतामाझ एमाले गइरहेको छ । नेकपा एमाले जनताको पार्टी हो र जनताको काम गर्छ भन्ने भइसकेको पनि छ । त्यसैले हामी निराश हुनुपर्ने अवस्था छैन’, पौडेलको भनाइ छ । 

पाँच दलीय सत्ता गठबन्धनले जिल्ला, प्रदेश र केन्द्रमा तीन तहको संयन्त्र गठन गरेर पार्टी शक्तिका आधारमा तालमेल गर्दै साझा उम्मेदवार तय गर्ने बताएका थिए । तर, अपेक्षा गरिएभन्दा निकै कम स्थानीय तहमा मात्र साझा उम्मेदवार तय गरिएको छ ।

केन्द्रबाटै उम्मेदवार तय गरेका ६ महानगर र ११ उपमहानगरमा पनि बागी र विद्रोही उम्मेदवार प्रशस्तै खडा भएका छन् । केन्द्रको निर्देशनसमेत नमानेर पोखरा, विराटनगर, वीरगञ्ज महानगर र हेटौंडा, नेपालगञ्ज लगायतका उपमहानगरमा सत्ता गठबन्धनबाटै बागी उम्मेदवारी परेका छन् । यद्यपि बागी र विद्रोहीलाई उम्मेदवारी फिर्ता गर्न लगाउन सत्तारुढ दलले निर्देशन दिइरहेका छन् । निर्देशन नमान्नेलाई गठबन्धनबाट कारवाहीसमेत हुन थालिसकेको छ । गठबन्धनबीच तालमेल भएका भनिएका पालिकामा पनि कतै ५ दल, कतै ४ दल त कतै दुई दलबीच मात्रै तालमेल भएका छन् । यतिमात्र होइन, केही पालिकामा गठबन्धन घटकले एमालेसँग पनि तालमेल गरेको पाइएको छ । स्थानीय तहमा एमालेसँग गरेको तालमेल तोड्न केन्द्रले निर्देशन दिए पनि सम्बन्धित दलका स्थानीय कमिटीले केन्द्रको निर्णयलाई नै चुनौती दिँदै आएका छन् ।

सत्ता गठबन्धन अहिले यतिसम्म अलमलमा छ कि, आपसमा कसले कति स्थानमा नेतृत्व गरेर उम्मेदवारी दिएको छ र एक्लाएक्लै कति स्थानमा निर्वाचन लड्ने तयारी छ भन्ने समेत लेखाजोखा हुन सकेको छैन । गठबन्धनका प्रायः नेताहरुको एउटै जवाफ छ– ‘हामी रेकर्ड संकलन गरिरहेका छौं । आएपछि मात्रै भन्न सकिन्छ ।’ नेताहरुको यो जवाफबाटै पनि गठबन्धनमा कति भद्रगोल छ भन्ने सहजै बुझ्न सकिन्छ ।

‘कुन तहमा कसको कोसँग तालमेल भयो ? भनेर १७ गतेमात्रै यकिन तथ्यांक आउँछ । किनभने अहिलेसम्म तालमेल भएकै ठाउँमा पनि दोहोरो उम्मेदवारी परेका सूचना आइरहेका छन्’, नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले रातोपाटीसँग भने, ‘तालमेल नभएका धेरै स्थानमा हामीले आफ्नै ढंगले उम्मेदवारी पनि दिएका छौं ।’

सत्ता पक्षले गठबन्धन गरेका ठाउँहरुमा पनि गठबन्धनभित्रैबाट बागी, विद्रोही र अविश्वासका रेखाहरु प्रस्टै देखिएका छन् । यसको फाइदा एमालेले स्वतः लिने एमाले नेताहरुको भनाइ छ । ‘कमजोर गठबन्धनसँग एमाले डराउने कुरै छैन,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘यो चुनाव एमालेका लागि धेरै महत्वपूर्ण हुन्छ किनभने देशभर एमालेले जितेर स्थानीय सत्ता सम्हाल्दैछ ।’

नेतृ शाक्यले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने आँट नभएर गठबन्धन बनाए पनि यसको जग अत्यन्त कमजोर रहेको दावी गरिन् । ‘एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट भएन । भागबण्डाका आधारमा गरिएको गठबन्धन कसरी बलियो हुनसक्छ ?’, शाक्यले प्रश्न गर्दै भनिन्, ‘त्यस्तो गठबन्धनले एकअर्कामा कसरी सहयोग गर्न सक्छ ? सक्दैन । त्यसैले मैले गठबन्धन बलियो देखेको छैन ।’

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा देशभर आपसमा चुनावी तालमेल गरेर एमालेलाई हराउने योजनामा थिए । तर, देशभर गठबन्धन गर्ने केन्द्रको निर्णयको (खासगरी नेपाली काँग्रेसका) स्थानीय तहका कार्यकर्ताले चर्को विरोध गरेपछि गठबन्धनबीच देशभर तालमेल हुन सकेन । अन्ततः तालमेल हुन नसकेका स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पाँच दल पुगेका थिए ।

एमालेसँगको तालमेल खारेज गर्न निर्देशन

गठबन्धनमा तालमेल भद्रगोल भएपछि शीर्ष नेताहरुलाई तनाव भएको छ । बागी, विद्रोही र दोहोरो उम्मेदवारी पर्नुका साथै माथिल्लो निकायको निर्देशन नमानेर कतिपय स्थानमा गठबन्धन घटकले एमालेसँग समेत चुनावी तालमेल गर्न थालेपछि शीर्ष नेताले एमालेसँगको तालमेल खारेज गर्न निर्देशन नै दिनुपरेको छ । उम्मेदवारी मनोनयन सकिएको तेस्रो दिन बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्न निर्देशन दिएको हो ।

गठबन्धनको बैठकपछि जारी विज्ञप्तिको सातौँ बुँदामा निर्देशनात्मक शैलीमा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप