शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

जनकपुरधाम : जहाँ स्वतन्त्र उम्मेदवार नै अधिक सफल भएको इतिहास छ

बुधबार, १४ वैशाख २०७९, १६ : ४५
बुधबार, १४ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेको छ । सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेर उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले कतै एक्लै र कतै साना दलसँग तालमेल गरेर उम्मेदवारी दिएको छ ।

विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकाहरुले राजनीतिक दलहरूबाट स्थानीय तहको विकास सम्भव नभएकाले आफू अग्रसर भएको प्रतिक्रिया दिएका छन् । कतिपयले भने दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि २६ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ८ जनाले दलबाट र अन्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जनकपुरको इतिहासमा स्वतन्त्र उम्मेदवार नै भारी

२०४७ जेठ २८ मा नगरपालिका ऐन अनुसार नगरपालिका बनेको जनकपुरमा २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका लागि काँग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए । दिगम्बर रायले पार्टीबाट मेयरको टिकट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट भएर स्वतन्त्ररुपमा उम्मेदवारी दिए । लालकिशोर साहले पनि काँग्रेसबाट असन्तुष्ट हुँदै उपमेयरमा उम्मेदवारी दिएका थिए ।

सो निर्वाचनमा दलका उम्मेदवार सामु स्वतन्त्र उम्मेदवार नै भारी भए । जसअनुसार मेयरमा बृषेशचन्द्र लाल र उपमेयरमा लालकिशोर साह निर्वाचित भए ।

त्यसको पाँच वर्षपछि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट दामोदारप्रसाद उपाध्यायले मेयरमा टिकट पाए । काँग्रेसबाट असन्तुष्ट भएका बजरंगप्रसाद साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनेका उपाध्यायलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बजरंग साह मेयरमा निर्वाचित भए ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने तत्कालीन राजपा नेपालका लालकिशोर साह जनकपुरको मेयरमा निर्वाचित भए । त्यो निर्वाचनमा लालकिशोरले काँग्रेसका उम्मेदवार मनोजकुमार साहलाई दोब्बर मतान्तरले पराजित गरे ।

जनकपुरधाममा बागी वा स्वतन्त्र उम्मेदवारहरू दलीय उम्मेदवारका सामु भारी भएको इतिहास रहेका कारण पनि अहिले स्वतन्त्र उम्मेदवारी दिएकाहरु हौसिएका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई फापेको छ ।  

अहिले नेपाली काँग्रेससँग असन्तुष्ट भएर मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काँग्रेसबाट मेयर पदका आकांक्षी रहेका उनले सत्तारुढ गठबन्धनमा जनकपुरधामको मेयर जसपा नेपाललाई दिने सहमति भएपछि काँग्रेससँग असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

जनकपुरको इतिहासमा विगतदेखि नै काँग्रेसले नेता कार्यकर्ताको सही मूल्यांकन नगर्दा विद्रोह बाहेक अर्को विकल्प नरहेको बताए । काँग्रेसले विगतदेखि नै सही उम्मेदवार चयन गर्न नसक्दा बागी उम्मेदवार खडा हुनु परेको र त्यस्ता उम्मेदवारले नै जित्दै आएको समेत उनले प्रस्ट पारे ।

काँग्रेसका पाका नेता ललन चौधरीले पनि पार्टीभित्रको व्यवस्थापन र सही मूल्याङ्कनमा समस्या देखिएको बताए । परिणामस्वरुप काँग्रेसभित्र विगतदेखि नै घात अन्तर्घात हुँदै आएको उनको भनाइ छ । उनले जनकपुरधामसहित तराई मधेस काँग्रेसको उर्वर भूमि रहे पनि यसको संरक्षण रक्षा र विस्तार गर्न नसक्दा काँग्रेसमा विद्रोह भएको बताए ।

उनले भने, ‘काँग्रेसले तराई मधेसको मुद्दालाई समयमै सम्बोधन नगर्दा मधेसमा आन्दोलन उग्र भयो । महन्थ ठाकुर, जेपी गुप्तालगायत विभिन्न नेताहरु काँग्रेसमै थिए तर काँग्रेस नेतृत्वले उनीहरुको कुरालाई ध्यान नदिँदा, मधेस र मधेसभित्रको विशिष्टतालाई नबुझ्दा समस्या उत्पन्न भयो ।’

काँग्रेसभित्र रहेका विभिन्न गुट उपगुटले एकअर्कालाई पाखा लगाउने गरेका कारण विगतदेखि नै काँग्रेसबाट असन्तुष्ट रहेकाहरुले बागी उम्मेदवारी दिने गरेको र जनकपुरधाम उपमहानगरमा उनीहरु नै निर्वाचित समेत हुँदै आएको उनको भनाइ छ ।

यता राजनीतिक विश्लेषक रोशन जनकपुरी भने स्थानीय तहको निर्वाचनमा जनकपुरधाममा कुन दल वा कुन स्वतन्त्र उम्मेदवारको स्थिति कस्तो छ भनेर अहिले नै भन्नु हतार हुने बताउँछन् । उनले भने, ‘न दलबाट कोही मजबुत उम्मेदवार छन्, न त स्वतन्त्रबाटै कोही सशक्त उम्मेदवार छन्, त्यसैले अहिले अनिश्चयको वातावरण छ, अहिले नै आकलन गर्दा हतार हुन्छ ।’

०४९ साल र ०५४ सालमा जनकपुर नगरपालिकाको नेतृत्वमा काँग्रेसबाटै विद्रोह गरेका स्वतन्त्र उम्मेदवार विजयी भए पनि उनीहरुको पछाडी राजनीतिक दल नै शक्तिको रुपमा रहेको उनको भनाइ छ । उनले केही राजनीतिक दलको शक्ति र २०५४ सालमा केही जातीय शक्तिका कारण स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप