मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास रोक्यो

बुधबार, १४ वैशाख २०७९, १३ : ५६
बुधबार, १४ वैशाख २०७९

पोल्याण्ड र बुल्गेरियाका अधिकारीले रुसले तिनको देशलाई दिइरहेको ग्यास आपूर्ति रोकेको बताएका छन् । रुसको माग बमोजिम पेट्रोलियम पदार्थको मूल्य रुबलमा तिर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिएको हो बताइएको छ । युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले देशको मुद्रा रुबलमा भुक्तानी गर्ने मुलुकलाई मात्र पेट्रोलियम पदार्थ ढुवानी गर्ने बताएका थिए । 

पोल्याण्डको सरकारी पीजीएनआईजीले रुसी उर्जा कम्पनी ग्याजप्रोमलाई उदृत गर्दै बुधबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि आफूहरुलाई दिइरहेको पेट्रोलियम पदार्थ काटिने बताए । बुल्गेरियाको अर्थ मन्त्रीले ग्याजप्रोमले अप्रिल २७ देखि उनका मुलुकलाई दिइरहेको प्राकृतिक ग्यासको आपूर्ति रोक्ने सूचना पठाएको जानकारी गराएका छन् ।  रुसी समाचार एजेन्सी तासले ग्यासप्रोमले यस कदमबारे प्रतिक्रिया नदिएको लेखेको छ । तर ग्याजप्रोमका प्रवक्ता सर्गेई कुप्रियानोभ मंगलबारदेखि पोल्याण्ड ‘नयाँ भुक्तानी प्रक्रिया अनुरुप भुक्तानी गर्न बाध्य हुने’ बताए । 

ग्यास वितरण सञ्चालकहरुको युरोपेली सञ्जालले रुसले यामल सम्झौता अन्तरगत पोल्याण्डको ग्यास आपूर्ति रोकेको बताएको छ । तर बुल्गेरियाको आपूर्तिबारे भने उसले अनभिज्ञता जनायो ।  गत महिना पुटिनले ‘मित्रवत नरहेको विदेशी खरिदकर्ता’ ले ग्याजप्रोसमसँग ग्यास किन्दा युरो र डलरको साटो रुवलमा लेनदेन गर्नुपर्ने निर्णय गरेको थिए । सो घोषणाका आधारमा रुसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध कदम चालेजस्तो देखिएको छ । 

रुसको घोषणालाई हालसम्म हंगेरीले मात्र सहमति जनाएको छ । अरु मुलुकले भने विगतमा गरेको सम्झौताको उल्लंघन हुने गरी रुसले एक पक्षीय निर्णय गर्न नपाउने भन्दै विरोध जनाएका छन् । 
यदि अन्य युरोपेली मुलुकमा गइरहेको रुसी तेल र ग्यास रोकियो भने यसले युरोपभर ठूलो उर्जा संकट निम्त्याउन सक्छ । त्यस अवस्थामा प्राकृतिक ग्यास मूल्य बढ्नेछ भने तिनमा कोटा लागू गर्नुपर्ने हुनसक्छ । तथापि त्यस्तो कदमले रुसकै अर्थतन्त्रमा पनि ठूलो असर पुग्नेछ । 

फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गर्नुअघि युरोपले प्रयोग गर्ने कुल ग्यासमध्ये ४० प्रतिशत रुसबाट किनिरहेको थियो । अत्यन्त चिसो हुने युरोपेली भेगले तिनको आवासीय भवन न्यायो बनाउन, विद्युत उत्पादन गर्न र खाना बनाउन ग्यासको प्रयोग गर्ने गर्छ । युद्ध घोषणापछि पनि युरोपले रुसी ग्यास आयात गरिरहेको छ । हालसम्म युरोपले आफूले खरिद गरेको रुसी ग्यासको पैस ६० प्रतिशत युरो र बाँकी डलरमा तिर्दै आएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप