मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा बिपी काँग्रेसबाट उम्मेदवारी दिने माथि पनि कारबाहीको तयारी

बुधबार, १४ वैशाख २०७९, १३ : ००
बुधबार, १४ वैशाख २०७९

नेपाली काँग्रेसले डडेल्धुरामा एमालेसँग तालमेल गरी उम्मेदवारी दर्ता गराएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । मंगलबार पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको काँग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ताको चेतावनी दिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डडेल्धुराका बागी उम्मेदवारलाई यही १६ गतेभित्र उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वले आग्रह गरिसकेको रातोपाटीलाई बताए । 

उनले भने, ‘उहाँहरुले मनोनयन दर्ता गर्नुभएको छ । १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । उहाँहरुले आवेगमा आएर उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँहरुले आफ्नो उम्मेदवारी फिर्ता गर्नुहुनेछ । यसका लागि पार्टीका शीर्ष नेताले आह्वान पनि गरिसक्नुभएको छ । ९०  प्रतिशतले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

उनीहरुले १६ गतेसम्म कसैले उम्मेदवारी फिर्ता लिएन भने पार्टी विधानअनुसार पाँच वर्षसम्म काँग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने पौडेलले बताए । पार्टीले अनुशासनको नाममा कसैसँग पनि सम्झौता नगर्ने पौडेलको भनाइ छ । 

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेस बिपीका नाममा काँग्रेसको असन्तुष्ट पक्षले एमालेसँगको तालमेलमा पालिका र वडामा बागी उम्मेदवारी दिएको थियो । 

अमरगढी नगरपालिकामा काँग्रेस बिपीबाट प्रमुखमा काँग्रेस बिपीबाट हरिप्रसाद भट्ट मनोनयन दर्ता गरेका थिए । यस्तै बिपी काँग्रेसबाट अजयमेरु गाउँपालिकामा उपाध्यक्षमा रामचन्द्र ऐर, गन्यापधुरा गाउँपालिकाका अध्यक्षमा सुरेन्द्र माली, भागेश्वर गाउँपालिका उपाध्यक्षमा नरबहादुर ठकुराठीले मनोनयन दर्ता गराएका थिए । कर्णबहादुर मल्लका अनुसार २१ वटा वडामा बिपी काँग्रेसबाट उम्मेदवारी दर्ता गरिएको छ ।

उनले भने, ‘१४ औं महाधिवेशनको प्रक्रियाबाट बन्चित गरिएको साथीहरुबाटै उम्मेदवारी दर्ता भएको छ । उनीहरुले चुनाव लड्छन् । म उनीहरुको साथमा छु ।’ वैशाख १० गतेसम्म अभिभावकत्व लिन दिन गरिएको आग्रहको सुनुवाइ नभएपछि बिपी काँग्रेसबाट उम्मेदवारी दर्ता गरिएको उनको भनाइ छ । 

उनले उम्मेदवारी फिर्ता पनि नहुने दाबी गरे । बरु एमालेका साथै अन्य दलसँग पनि तालमेल गरी जनताका बीचमा मत माग्न जाने तयारीमा रहेको बताए । काँग्रेस राजनीतिको ३२ वर्षे यात्रामा पटक पटक हन्डर खाएको बताउँदै उनले आफूमाथि भएको कारबाही अप्रत्यासित नभएको बताए । यस्तै वैशाख ३० गते हुने स्थानीय तहको परिणामपछि आगामी यात्राबारे निर्णय लिने मल्लले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप