शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आखिर महिला हिंसा कहिलेसम्म ?

बुधबार, १४ वैशाख २०७९, १२ : २६
बुधबार, १४ वैशाख २०७९

सबैले नयाँ वर्षको दिन वैशाख १ गते राम्रा राम्रा उपहार पाए, मीठो मीठो खान पाए, रमाइलो मेला महोत्सवमा घुम्न गए । तर रुपन्देही, तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी अमृता खत्रीले नयाँ वर्षको दिन आफ्नो घरपरिवार र लोग्नेबाट मृत्यु उपहार पाइन् । उनी केही दिनदेखि माइतीमै थिइन् ।  चैत्र ३० गते साँझ उनका श्रीमानले घर आउने भए आइज, नत्र तेरो छोरालाई जे पनि हुन सक्छ भनेर फोन गरेका थिए । अमृता छोराको मायाले हतारिदै घर पुगिन् ।

अमृता घर गएपछि साँझ सवा ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछन् । उनकी आमा सावित्रा खत्रीका अनुसार साढे ९ बजेसम्म म्यासेज गरेकी अमृता दश नबज्दै मृत्यु भएको खबर माईती पक्षलाई आयो । अमृतालाई परिवारकै सदस्यले बिष सेवन गराई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ । मृतकका परिवारले जाहेरी दिएअनुसार अमृताका श्रीमान् प्रेम टण्डन, सासु दीपा टण्डन र ससुरा पहल सिंह टण्डनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिका–५, मणिग्रामकी २७ वर्षीया श्रीमती सीता भण्डारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यस वर्षको तीज मनाउन माइत गएकी सीतालाई श्रीमान टिका पौडेलले छोरीको बर्थ डे मनाउन आऊ भन्दै फोन गरेर साँझ बोलाएका थिए ।

उनका माइती पक्षका अनुसार उनका श्रीमानले रक्सी खाएर तनाव दिएको र घरमा पनि सम्पत्तिको विषयमा विवाद भहरहेकोले उनी तनावमा थिइन् । सीताका माइतीले प्रहरीमा आत्महत्या दुरुसाहनको मुद्धा दर्ता गराए ।  प्रहरीले सीताका श्रीमान टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र आमाजु विष्णु पौडेललाई पक्राउ गरेको छ ।

त्यस्तै रुपन्देही तामनगरमा पनि २०७८ सालमै अर्की युवतीको पनि अनाहकम ज्यान गयो । ती युवती अमेरिका जाने तरखरमा थिइन् । अमेरिका जाने टिकट लिइसकेर एक पटक घरकालाई भेटघाट गरेर आउँछु भन्दै घर गएकी थिइन् तर उनी फर्किनन् । घरमै झुन्डिएको  अवस्थामा भेटिइन् । उनको घरपरिवारले आत्महत्या गरेको बताएका थिए । तर माइती पक्षले अमेरिका जान तयार भएकीले कसरी आत्महत्या गर्न सक्छ भनेर आवाज उठाएका थिए । यसरी रुपन्देहीमा एकपछि अर्को बुहारी मारिदै छन् ।

हरेक आमावुवालाई धनी घरमा छोरी दिन पाए छोरीले सुख पाउँछिन् भन्ने सोचाई हुन्छ । तर त्यो घरपरिवारको संस्कार कस्तो छ, केटा कस्तो छ ? राम्ररी नबुझी धनसम्पत्ति मात्र हेरेर छोरी दिंदा यस्ता दुःखद घटना हुने गरेको धेरैको आँकलन छ । छोरीको विवाह गर्दा केटाको स्वभाव, रहनसहन, बानीव्यवहार, पढाई सबै बुझेर मात्र विवाह गर्नुपर्ने हुन्छ । मूलको पानी खानु, कुलको छोरा या छोरीसँग विवाह गर्नु भन्ने उक्ति नै छ । वुटवल–७ का शिक्षक  पुर्णचन्द्र पाण्डेले भन्छन्, ‘अहिले विदेशको पीआर भएको केटा भनेपछि आँखा चिम्लिएर छोरी दिन्छन्, चाहे त्यो रक्सी खाने होस् या उमेरले वुढो होस् । यस्तो चलनले धेरैको भविष्य विग्रिएको छ ।

पुरुषप्रधान पुरातन अन्धविश्वासले जरा गाडेको हाम्रो समाजमा महिलालाई सधैं पछाडि पारिएको छ । महिला सधैं भान्सामा काम गर्ने, छोराछोरी पाउने, हुर्काउने काममा मात्र सीमित भइराखेका छन् । अहिलेको एक्काइसौं  शताब्दीमा पनि महिलाले जागिर गर्न हँुदैन, घरकै काम हेर्नुपर्छ भन्ने सोच आम जनमानसमा छ ।

अमृता खत्री यस्तै सोचको सिकार भएकी हुन् । उनी नजिकैको फर्निचरमा जागिर गर्थिन् । उनले जागिर गरेको परिवारलाई मन परेको थिएन । सधैं यो या त्यो बहानामा झगडा भइरहन्थ्यो, फलस्वरूप अमृताले आफ्नो जीवन गुमाउन पर्यो ।

अन्धविश्वास कायमै छ, नेपाली समाजमा । यही वैशाख ४ गते कन्चनपुरमा एक महिलालाई बोक्सी मसान चढेको भन्दै लामाहरुले तातो पन्यू डामेर कुटी कुटी हत्या गरे । यसलाई हामीले मार्यौं, हामीले नै विउ्झाउँछौं भन्दै लाशमाथि ३ दिनसम्म तातो पन्यूले डामिरहेका थिए । जबकि लाश गनाइसकेको थियो ।

बालिका, बुहारी, विधवा महिलाहरु हाम्रो समाजमा अभिसाप बनेका छन् । के हामीले कहिल्लै लोग्ने मान्छेलाई वोक्सो भनेको सुन्यौ ? गरिब, विधवा वुढी, दलित महिला मात्रै बोक्सी हुने यो कस्तो सोच भएको समाज हो ? जसलाई हेप्न सकिन्छ उही बोक्सी ? महिला हिंसा गर्न कत्ति पनि नडराउने पुरुषप्रधान समाज कसरी परिवर्तन सकिन्छ, सबैले ठण्डा दिमागले सोचौ ।

साहित्यकार तथा बुद्धिजीवी ईश्वर चन्द्र ज्ञवालीका अनुसार जनयुद्धपछि  महिला हकहितका कुरामा केही परिवर्तन पक्कै आएको छ । तर पुरानो रुढीवादी सामन्ती सोच तथा पुरुषप्रधान समाज अझै पनि हटेको छैन । त्यसैले महिला हिंसाका यस्ता घटनामा कमी आएको छैन । ज्ञवाली भन्छन्, ‘समाजमा प्रत्येक घरका पुरुषहरुले महिलाप्रति सोच्ने हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ । महिलालाई सम्मान र इज्जत दिन हरेक आमाले आफ्नो छोरालाई सिकाउनु पर्छ ।’

नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य रिज्जु श्रेष्ठको विचारमा पनि पुरुषले जबसम्म महिलालाई इज्जत, सम्मान दिन सक्दैन, तबसम्म महिला हिंसामा कमी आउँदैन  । एमाले नेतृ सावित्रा अर्यालको भनाईमा महिलाहरुलाई नीतिनिर्माणमा पुर्याइयो भने मात्र महिला हिंसाविरुद्ध कडा कानुन निर्माण गर्न सक्छन्, त्यसो गरे महिला हिंसामा केही कमी हुन्छ ।

त्यसो त महिलाहिंसा सम्बन्धि कतिपय वलियो कानुन पनि वनिसकेको छ  । महिला हिंसा सहेर नवस्न आग्रह गर्दै लुम्बिनी प्रदेश कानुन शाखा सचिव राजेन्द्र थापा भन्छन्, ‘महिलाहरु माइतीको इज्जत जान्छ, साथीहरु के भन्लान् भन्ने डरले हिंसा सहेर बस्छन् । हिंसा सहनु हुन्न ।’

हरेक सचेत नागरिकले जहाँ महिला हिंसा हुन्छ, त्यहाँ सम्झाउनुपर्छ । हिंसा गर्ने परिवारलाई कानुनी नियम सुनाएर डर देखाउनुपर्छ । र, सुधार नआए आफैले प्रहरीलाई खवर गरेर रिपोर्ट गरिदिनु पर्छ  । राज्यले महिला हिंसा रिपोर्ट गर्नेलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गर्ने नियम बनाउनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप