शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशका केही पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच तालमेल

बुधबार, १४ वैशाख २०७९, १० : ३९
बुधबार, १४ वैशाख २०७९

जनकपुर । सत्तारुढ गठबन्धनबीच मधेस प्रदेशका केही पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ । भागबण्डामा कुरा नमिल्दा धेरैजसो पालिकामा गठबन्धनबीच तालमेल हुन सकेको छैन ।

गठबन्धनको केन्द्रीय निर्णयअनुसार महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरूबीच चुनावी तालमेल भए पनि मधेस प्रदेशका अधिकांश पालिकामा दलहरू आ–आफ्नै ढङ्गले उम्मेदवारी दर्ता लगायतका गतिविधिमा अघि बढेका हुन् ।

मधेस प्रदेशका एक महानगरपालिका र तीन उपमहानगरपालिकामा केन्द्रीय गठबन्धन अनुसार नै मेयर र उपमेयरमा तालमेल भएको छ । तर नगरपालिका तथा गाउँपालिकामा भने स्थानीयस्तरमा तालमेल हुन सकेको छैन ।

तालमेल हुन नसकेका पालिकामा उम्मेदवारी फिर्ताको अन्तिम समयसम्म पनि सहमति जुटाउने प्रयास भइरहेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेशप्रसाद साहले जानकारी दिए । गठबन्धनभित्र सहमति नभएका पालिकामा गठबन्धन घटककै दुई दलबीच समेत तालमेल भएको छ । सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । जस अनुसार माओवादीका केन्द्रका नेता जयप्रकाश चौधरी मेयर र एकीकृत समाजवादीका नेता शत्रुधन साह ‘आजाद’ ले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सुरुङ्गा नगरपालिकामा जसपा र माओवादी केन्द्रबीच तालमेल भएको छ । जसपाले साबिर खानले मेयरमा र माओवादीको तर्फबाट शिवकुमार रामले उपमेयरमा उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल भएको छ । जसअनुसार माओवादी केन्द्रले मेयर र उपमेयर लिएको छ भने जसपाले ११ वटा वडामध्ये ५ वटा वडाको अध्यक्षमा उम्मेदवारी दिएको छ ।

त्यस्तै सिरहाको लहान नगरपालिकामा मुख्य तीन दलबीच गठबन्धन भएको छ । काँग्रेस, जसपा र माओवादीबीच तालमेलका आधारमा सो पालिकामा उम्मेदवारी दर्ता भएको छ । जसअनुसार काँग्रेसबाट प्रमुखमा महेश चौधरी र उपप्रमुखमा जसपाबाट राम चलितर महतोले उम्मेदवारी दिएका छन् । त्यस्तै २४ वडामा जसपा–माओवादीबीच तालमेल भएको छ । जस अन्तर्गत जसपाले १४ र माओवादीले १० वडा भागवण्डा गरेका छन् ।

त्यस्तै रौतहटको कटहरियामा नेकपा माओवादी र जसपाबीच तालमेल भएको छ भने सर्लाही र महोत्तरीका सबै पालिकामा दलहरूले आ–आफ्नै उम्मेदवारी खडा गरेका छन् ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज साहले मधेस प्रदेशमा केन्द्रको गठबन्धनको नीति न्यून रूपमा लागू भएको स्वीकारे । उनले काँग्रेसले अधिकांश पालिकामा दाबी गर्न थालेपछि सहमति नभएको बताए । यद्यपि अन्तिम समयसम्म पनि सहमतिको प्रयास जारी रहने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप