शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माग सम्बोधनमा ढिलाइ भए फेरि अनसन बस्छौं : ज्ञानराज राई

बुधबार, १४ वैशाख २०७९, ०८ : १३
बुधबार, १४ वैशाख २०७९

भूपू गोर्खाहरुको मुद्दा सम्बन्धि वार्तामा भइरहेको ढिलाइप्रति गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले असन्तुष्टि व्यक्त गरेका छन् । विगतमा दुई पटक बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हडताल बसिसकेका राईले आगामी मे सम्ममा वार्ताको कुनै सम्भावना नभए पुनः अनसनमा बस्ने चेतावनी दिए ।

लन्डनस्थित ह्यारो बरो फुटबल क्लबमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको स्वागत तथा सम्मानमा सोमबार आयोजित कार्यक्रममा राईले आफू मर्न तयार रहेको  चेतावनी दिएका हुन् ।

वर्षौंदेखि विभिन्न बहानामा नेपाल र बेलायत सरकारले भूपू गोर्खा मागलाई आलटाल गर्दै आएपनि अब भने अन्तिम अवस्थामा आइपुगेकाले निर्णायक हुने आशा धेरै गोर्खाहरुको रहेको उनले बताए । ‘तर फेरि हामीलाई धोका दिइन्छ भने आउँदो जुनबाट प्रधानमन्त्रीको कार्यालय अगाडि गइ मर्न तयार छु’, अभियन्ता राईले भने ।

वार्ताको विषयमा यही शुक्रबारसम्म टुंगो लाग्ने राजदूत ज्ञानचन्द्र आचार्यबाट आश्वासन पाएको हुँदा आफूहरु प्रतिक्षारत रहेको उनले बताए ।

समान पेन्सन, रिडन्डेन्सीमा गएकालाई एकमुष्ट रकम, दश वर्षको स्टेट पेन्सन तथा क्षतिपूर्तिको सट्टा ‘गुडवील पेमेन्ट’ दिन सिफारिस गरिएको र यस्तो सुविधा बाबाआमा बितेका सन्तानहरुले पनि पाउनुपर्ने तथा हवाई काण्डका कारण खालि खुट्टा पथाइएका १२१ जानाको बारेमा माग राखिएको राईले प्रष्ट पारे ।

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले वार्ता प्रक्रिया ढिलाई हुनुमा गोर्खाहरु पनि जिम्मेवार रहेको बताए ।

५ वटा समिति मिलेर सत्याग्रहद्वारा लिड गरिएको संघर्षलाई अन्य केहि समितिले अड्चन खडा गरेको भन्दै राईले आपत्ति जनाए । वार्ताका लागि टिओआर (टर्मस् अफ रिफरेन्स) तयार पार्ने काम भइरहेको पनि उनले जानकारी गराए ।

वार्ताको प्रक्रियाकै क्रममा राजदूत फिर्ती, नयाँ राजदूत नियुक्ति प्रक्रिया, वार्ता समितिको टुंगो लगाउने जस्ता विषयले ढिलाई हुँदै आएको उनको भनाइ छ ।

यस्तै वार्ता प्रक्रिया अहिले रुस र युक्रेन युद्धलाई देखाएर ढिलाई गरिनु उचित नरहेको एकजना अनसनकारी धन गुरुङले बताए । ‘मे अन्त्यसम्ममा जी टु जी वार्ताको टुंगो लाग्छ भन्ने आशा गरेका छौं,’ गुरुङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप