निजी क्षेत्रका संस्था नै बौद्धिक सम्पत्तिको नक्कल गर्छन् : महानिर्देशक तिवारी
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले निजी क्षेत्र नै बौद्धिक सम्पत्ति चोरी तथा नक्कल गर्न अग्रसर रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बौद्धिक सम्पत्तिको चोरी तथा नक्कल गर्न निजी क्षेत्र नै अगाडी रहेको बताएका हुन् ।
‘निजी क्षेत्रका कम्पनीहरू बजारमा चलिरहेको ब्राण्डको लागो, अक्षर र ट्रेडमार्क नक्कल गरेर त्यस्तै उत्पादन बेच्छन्,’ तिवारीले भने, ‘आफ्नो छुट्टै ब्राण्ड बनाउनुको सट्टा चोरी तथा नक्कल गर्नतर्फ अग्रसर हुने गरेका छन् ।’ उनले ट्रेडमार्क चोरी तथा नक्कल हुनुले निजी क्षेत्र नै यसबारे बेखबर रहेको देखिने बताए ।
यस्तै, कार्यक्रममा उद्योग सचिव अर्जुन पोखरेलले बौद्धिक सम्पत्ति सम्बन्धी ऐन बनिरहेको र त्यो ऐन बनेपछि बौद्धिक सम्पत्ति संरक्षण र विकासको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गर्ने बताए । उनले हाल कानुन मन्त्रालयमा रहेको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी ऐन छिट्टै मन्त्रीपरिषद्ले पारित गर्ने बताए ।
हाल नेपालमा वि.सं. २०२२ मा बनेको बौद्धिक सम्पत्ति संरक्षण ऐन प्रचलनमा छ । उक्त कानुन बनेको दशकौँ वितिसकेकाले नयाँ ऐन बनेसँगै पुरानो ऐन विस्थापन हुने छ । नयाँ ऐन आएसँगै बौद्धिक सम्पत्ति क्षेत्रमा ठूलो फड्को मार्ने बताउँदै सचिव पोखरेलले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि बौद्धिक सम्पत्तिको संरक्षण तथा प्रबद्र्धनतर्फ सचेत छ । अबको केही समयमा मन्त्रालयले गरेको कामको नतिजा देखिने छ ।’