आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

टोलटोलमा खटिन कार्यकर्तालाई उपाध्यक्ष पौडेलको निर्देशन

मङ्गलबार, १३ वैशाख २०७९, १८ : ०९
मङ्गलबार, १३ वैशाख २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावका लागि टोलटोलमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरु गरेका विकासका योजनाबारे जनतालाई बुझाउन र शासक नबनी सेवकको रूपमा प्रस्तुत हुन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

मंगलबार बुटवलमा उम्मेदवारको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन तयारीका लागि गर्नुपर्ने सबै काम तत्काल गर्न पनि निर्देशन दिए । 'अब समय धेरै छैन, आन्तरिक तयारीका कामलाई छिटो टुंग्याउनुस् र जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस् र स्थानीय सरकारमा एमाले नेतृत्वमा रहँदा गरेका राम्रा कामहरूबारे बुझाउनुस्,' पौडेलले भने ।

रुपन्देहीमा रहेका १६ वटा पालिका मध्ये कम्तीमा १३ वटा पालिकामा एमालेको जित निश्चित रहेको उनले दाबी गरे । 'बुटवल उपमहानगरपालिकामा जित सुनिश्चित जस्तै छ, अन्य स्थानीय तहहरूमा पनि भारी मतान्तरले एमालेको जित हुने छ,' उनले भने ।

सत्ता गठबन्धन रुपन्देहीमा भताभूंग भएको भन्दै पौडेलले गठबन्धनको नाममा एमालेलाई तर्साउन खोजेको सपना पूरा नहुने पनि बताए । 'रुपन्देहीका धेरै पालिकामा गठबन्धन टुटेको छ, गठबन्धनमा आबद्ध दलका धेरै कार्यकर्ता अव एमालेमा आउँछौँ भनिरहेका छन्,' उनले भने । 

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ । त्यस्तै चार जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग एमालेले तालमेल समेत गरेको छ ।  अभिमुखीकरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले उम्मेदवारी मनोनयनका क्रममा देखिएको उत्साहले गठबन्धनभित्र समेत हलचल पैदा भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप