शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव : को–को कलाकर्मी भए उम्मेदवार ?

मङ्गलबार, १३ वैशाख २०७९, १५ : ४५
मङ्गलबार, १३ वैशाख २०७९

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नेको लर्को देखिएको छ । राजनीतिक दलदेखि स्वतन्त्र रूपमा उम्मेदवार हुनेमा विभिन्न कलाकर्मी पनि देखिएका छन् । कलाकर्मीले काठमाडौँ महानगरको मेयरदेखि गाउँपालिकाको अध्यक्षसम्मका लागि मनोनयन दर्ता गराएका छन् । को को कलाकर्मीले कहाँबाट दिए त उम्मेदवारी ?

बालेन साह (र्‍यापर) 
र्‍यापरको रूपमा चर्चित बालेन साहले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । ३१ वर्षीय साहले स्वतन्त्रबाट महानगरको मेयरमा उम्मेदवारी दिएका हुन् । स्ट्रक्चरल इन्जिनियर रहेका उनको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी समेत खुलेरै लागेका छन् । कलाकारहरू प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्मल शर्मा लगायतले बालेनको पक्षमा खुलेर लागेका हुन् । 

प्रायः राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले समेत बालेनको तस्विर र घोषणापत्र पनि सेयर गरेका छन् । साहको पक्षमा नयाँ पुस्ता बढी देखिएका छन् । नयाँ पुस्ताकै मत बढी तान्ने अपेक्षा गरेका उनी आमुल परिवर्तनबाट मात्र देश विकास सम्भव हुने बताउँछन् ।

मदनदास श्रेष्ठ (कलाकार) 

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको भातृसंस्था सांस्कृतिक संघको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणबाट केही अगाडि पदक सिफारिस समितिमा नियुक्त भएका उनी राप्रपाबाट काठमाडौँ महानगरपालिकाको मेयर जित्ने दाबी गर्दछन् । रेडियो नाटकबाट पहिचान बनाएका श्रेष्ठले थुप्रै चलचित्रमा समेत अभिनय गरेका छन् ।

सुनिता डंगोल (मिस नेवा) 

सुनिता डंगोलले नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । स्वतन्त्रबाट महानगरपालिकाको मेयर उम्मेदवार बन्ने घोषणा गरेकी उनलाई एमालेले आफ्नो तर्फबाट उपमेयरमा अघि सारेको हो । काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रूप दिन युवाहरूको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा उनले गरेकी छन् ।

राज घिमिरे (अभिनेता) 

अभिनेता राज घिमिरेले गोदावरी नगरपालिका–३ बाट वडाध्यक्ष उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी सोही पदमा पराजित भएका थिए । माओवादी केन्द्रले प्रदेश नम्बर ३ ललितपुर जिल्लाको क्षेत्र १ बाट समानुपातिक सांसदमा पनि उनलाई सिफारिस गरेको थियो । फिल्म ‘चपली हाइट’का अभिनेता समेत रहेका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनले केही फिल्म र थुप्रै म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दिनेश काफ्ले (हास्य कलाकार) 

चर्चित हास्य कलाकार दिनेश काफ्ले सिन्धुली कमलामाई नगरपालिका–८ को वडाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएका छन् । समाज र देश निर्माणका लागि आफू उम्मेदवार बनेको काफ्ले बताउँछन् । पछिल्लो समय उनी कलाकारिताको अलावा रेष्टुरेन्ट व्यवसायमा पनि आबद्ध छन् । आफूले वडाध्यक्ष जिते सरकारबाट पाउने सेवा सुविधासमेत जनतामा समर्पित गर्ने काफ्लेले घोषणा गरेका छन् ।

टंक तिमिल्सिना (गायक) 

गायक टंक तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विकास र नागरिकको खुसीका लागि स्वतन्त्र हिसाबले चुनाव लड्न उनी उम्मेदवार बनेका हुन् । तिमिल्सिना सुदूरपश्चिमबाट सांगीतिक क्षेत्रमा विभिन्न गीत गाएर चर्चामा आएका छन् । उनका ‘सनसनी’, ‘मैना’ लगायतका लोक र आधुनिक देउडा गीत चर्चित छन् ।

पूर्ण प्रसाद सुवेदी ‘मिलन’ (निर्माता)

फिल्म निर्माता पूर्ण प्रसाद सुवेदी ‘मिलन’ले केराबारी गाउँपालिका–८ बाट वडाध्यक्ष उम्मेदवार मनोनयन दर्ता गराएका छन् । थुप्रै नेपाली फिल्ममा प्रोडक्सन म्यानेजरको काम गरेका मिलनले ‘इतिहास’ नामक फिल्म पनि निर्माण गरेका छन् । आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो जन्म भूमिलाई केही गरौँ भन्ने अभिप्राय बोकेर उनी उम्मेदवार बनेका हुन् ।

थारु समुदायका कलाकार पनि उम्मेदवार

थारु समुदायकी गायिका संगीता चौधरीले नेपाली काँग्रेसबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष, गायक तथा कलाकार नन्दुराज चौधरीले एमालेबाट दाङदेउखुरीको राप्ती गाउँपालिका–४ मा वडाध्यक्षको मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गायक खेम चौधरीले स्वतन्त्र रूपमा कपिलवस्तुको वाणगंगा नगरपालिका–२ मा वडाध्यक्ष एवम् निर्माता, निर्देशक चन्द्र चौधरी चाँदले कैलालीको गाउँपालिका–६ मा नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । उता ‘मिस्टर थारु २०१७’ का विजेता चन्दन चौधरीले सिरहाको लहान नगरपालिकामा स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप