चुनावी ब्याटल विराटनगर : सीके राउतको पार्टीदेखि ठुला दल र स्वतन्त्र उम्मेदवारसम्म मैदानमा
देशका ६ वटा महानगरमध्येको एक विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि सीके राउत नेतृत्वको जनमत पार्टीदेखि लिएर ठुला दल र स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् । विराटनगरको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेको तर्फबाट सागर थापाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टी, राप्रपा, विवेकशील साझा पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका अतिरिक्त स्वतन्त्र उम्मेदवार महानगर प्रमुखका लागि चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगर प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।
को हुन् नागेश कोइराला ?
सत्तारुढ गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदमा उम्मेदवार बनेका काँग्रेसका नागेश कोइराला जमिन्दार परिवारका सदस्य हुन् । २३ वर्ष अघिदेखि काँग्रेसको सक्रिय राजनीति सुरु गरेका कोइरालाले नेपाल तरुण दलको सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका थिए ।
सोही समयमा उनी तरुण दलको जिल्ला कोषाध्यक्ष भए । त्यसको ३ वर्ष पछाडि तरुण दलको मोरङ जिल्ला सभापति भएका कोइरालाले काँग्रेसको जिल्ला कोषाध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
त्यसपछि जिल्ला कार्यसमितिको सचिवका रुपमा ५ वर्ष जिम्मेवारी सम्हालेका कोइराला हाल काँग्रेस मोरङका उपसभापति छन् । उनले काँग्रेसलाई संकट परेको बेलामा आर्थिक सहयोगसमेत गर्दै आएको काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् ।
एमालेका ‘हेभी वेट’ आकांक्षीलाई पछि पार्ने सागर थापा को हुन् ?
विराटनगर महानगरपालिकामा एमालेबाट प्रमुख पदका लागि ‘हेभी वेट’ नेताहरुसमेत आकांक्षी थिए । पूर्वमन्त्री लालबाबु पण्डितसमेत महानगर प्रमुखका लागि चर्चामा रहेको नाम हो । तर ‘हेभी वेट’ आकांक्षीलाई पछाडि पारेर सागर थापाले उम्मेदवारी हासिल गरे ।
विराटनगर–४ जामुनगाछी घर भएका थापा स्कुले जीवनदेखि नै विद्यार्थीको हक हितको पक्षमा आवाज उठाउँदै अनेरास्ववियुमा आवद्ध भएका थिए । उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म गरी दुई कार्यकाल स्ववियु सभापति भएका थिए ।
थापा हाल नेकपा एमालेको महानगर कमिटी अध्यक्ष हुन् । उनी यसअघि एमालेको विराटनगर महानगर कमिटी इन्चार्ज पनि भएका थिए ।
राप्रपाबाट फेरि प्रह्लाद साह उम्मेदवार
०३६ सालदेखि नै विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका प्रह्लाद साह कट्टर राजावादी हुन् । ०३६ सालमा मोरङको विद्यार्थी मण्डलको अध्यक्ष भएका साह राजसंस्थाप्रति समर्पित व्यक्ति हुन् ।
विराटनगरका रैथाने साह ०६२ सालमा राजाको सक्रिय शासनका क्रममा भएको निर्वाचनमा विराटनगरको मेयर पदमा निर्वाचित भएका थिए । त्यस्तै सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारमा उनलाई ६ महिनाका लागि मेयरमा मनोनित पनि गरिएको थियो । त्यसपछि राप्रपाको केन्द्रीय सहमहामन्त्री भएका साह हाल राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाका महामन्त्री हुन् ।
उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि महानगर प्रमुख पदमा उम्मेदवार थिए । त्यसबेला उनी चौथो स्थानमा सीमित भएका थिए । उनले ५ हजार ५ सय २४ मत पाएका थिए ।
जसपा छाडेर स्वतन्त्र उम्मेदवार बनेका उमेश यादव
०४६ सालको जनआन्दोलनबाट राजनीतिमा होमिएका ४८ वर्षीय उमेश यादवले विराटनगर महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादवले ०४६ सालपछि विद्यार्थी राजनीतिमा आफूलाई होमेका थिए । ०५३ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको निर्वाचनमा नेविसंघबाट उम्मेदवार बनेका उनी पराजित बनेका थिए ।
त्यसपछि नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै काँग्रेसको महासमिति सदस्य बनेका यादव २०६३ सालको मधेस आन्दोलनबाट मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।
त्यसपछि मोरङमा दुई कार्यकाल पार्टीको जिल्ला अध्यक्ष पदमा रहेर काम गरेका उनी ०७४ सालको निर्वाचनमा माओवादी र तत्कालीन संघीय समाजवादीको गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेका थिए । पछिल्लो समय जसपा नेपालमा रहेका उनी हाल सो पार्टीको महानगर समिति सदस्य तथा संघीय परिषद् सदस्य थिए । उनले स्वतन्त्र उम्मेद्वारी दिनुभन्दा एक दिन अगाडि पार्टीबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट अरुण मण्डल उम्मेदवार
सीके राउत नेतृत्वको जनमत पार्टीबाट विराटनगर महानगर प्रमुखको उम्मेदवार बनेका अरुणकुमार मण्डल ८ वर्ष अगाडि सीके राउतको ‘फ्रि मधेस’ अभियानमा लागेका थिए ।
विराटनगर–१५ निवासी उनले एसएलसीसम्म विराटनगरबाटै अध्ययन सकेर भारत गएका थिए । रोजगारीको सिलसिलामा भारत पुगेका उनले त्यहीँ ‘प्लस टु’सम्म अध्ययन गरेका हुन् । विराटनगरमै डेरी उद्योग चलाएर बसेका उनलाई जनमत पार्टीले महानगर प्रमुखमा उम्मेदवार बनाएको हो ।
स्वतन्त्र उम्मेदवार सक्रिय गौतम को हुन् ?
पुराना पुस्ताबाट विरक्तिएका विराटनगर–५ का २५ वर्षीय सक्रिय गौतमले पनि विराटनगर महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । उनले ४ वर्ष अगाडि कुखुरा पालन व्यवसाय गरेका थिए । उक्त व्यवसाय सफल नभएपछि उनले नेपालको राजनीतिक वातावरण नै युवामैत्री नभएको भन्दै राजनीतिमा स्वतन्त्र हैसियतमा कदम बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो
-
लिथुआनियामा कार्गो जेट दुर्घटना, एकको मृत्यु
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)