मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर नगरपालिकामा नेमकिपाबाट प्रजापति र जोशी पुन: उम्मेदवार, टक्कर दिन काँग्रेस र समाजवादीबीच तालमेल

मङ्गलबार, १३ वैशाख २०७९, १० : ४१
मङ्गलबार, १३ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति र रजनी जोशीले भक्तपुर नगरपालिकामा फेरि उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरमा प्रजापति र उपमेयरमा जोशी निर्वाचित भएका थिए । सोमबार भक्तपुर नगरको दोस्रो कार्यकालका लागि मेयरमा नेमकिपाबाट प्रजापति र उपमेयरमा जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

सो नगरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। काँग्रेसबाट मेयरमा रामप्रसाद कासुलाले उम्मेदवारी दर्ता गराएका छन्। उनी प्रजापतिसँग दोस्रो पटक निर्वाचन भिड्न लागेका हुन्।  उपमेयरमा एकीकृत समाजवादीबाट ओमचरण आमात्यले उम्मेदवारी दर्ता गराएका छन्। नेमकिपाले भने कसैसँग चुनावी तालमेल गरेको छैन ।

यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट मेयरमा रवीन्द्र लाछिमस्यू र उपमेयरमा रञ्जना खर्बुजा तथा माओवादीबाट मेयरमा तुलसीभक्त सुवाल र उपमेयरमा इन्द्रमाया सुवालले उम्मेदवारी दर्ता गराएका हुन्। 

सुवाल यसअघि उपमेयरमा पराजित भएकी थिइन्। ‘हामीले भक्तपुर नगरमा सत्ता गठबन्धनको चुनावी तालमेल गर्न निक्कै प्रयास गर्यौँ’, माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुनिल बासुले भने, ‘अन्त्यमा काँग्रेस र एकीकृत समाजवादीवीच तालमेल भयो। माओवादी लगायत दल एकल रुपमा प्रतिस्पर्धा गर्ने भएका छौँ ।’ सत्ता गठबन्धन तालमेल हुन नसकेपनि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको बासुले बताए।

यसअघि निर्वाचनमा नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार ७३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार ७११ मत ल्याएर विजयी भएका थिए। मेयर र उपमेयरको मत अन्तर १९ मात्रै छ। नेमकिपाका उम्मेदवारको मतान्तर अरु दल भन्दा तेब्बर भन्दा बढी थियो। यदि भक्तपुर नगरको राजनीतिक समीकरण यस्तै कायम भए प्रजापति र जोशीको दोस्रो इनिङ सहज देखिन सक्छ । 

यसअघि निर्वाचनमा काँग्रेसका मेयरका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५६० र उपमेयर गंगालक्ष्मी अवालले ६ हजार ५६० मत ल्याएर दोस्रो भएका थिए। यस्तै एमालेबाट मेयरमा उम्मेदवार भएका विष्णुप्रसाद सुवालले ४ हजार २१८ मत र उपमेयर कृष्णमाया त्वायनाबासुले ४ हजार ६३१ मत ल्याएर तेस्रो भएका थिए । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सत्यलाल मुल २ हजार ३१३ मत र उपमेयरका उम्मेदवार इन्द्रमाया सुवाल २ हजार १७० ल्याएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप