आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा ‘खिचडी’ गठबन्धन

सोमबार, १२ वैशाख २०७९, २१ : २३
सोमबार, १२ वैशाख २०७९

विराटनगर महानगरपालिकामा केन्द्रबाटै प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको भएपनि वडामा दलहरुले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  वडामा अब कुनै पनि खालको गठबन्धन नहुने काँग्रेसले जनाएको छ । काँग्रेस विराटनगरका सभापति दीपक चापागाईंले प्रमुख उपप्रमुखमा पनि केन्द्रले गरेको कारण गठबन्धन गरेपछि मानेको भएपनि वडामा अब स्वस्थ प्रतिस्पर्धा गर्ने बताए । 

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेश कोइरालाले पनि वडामा गठबन्धन हुन सक्ने सम्भावना कमजोर बनेको बताए । माओवादी केन्द्र विराटनगरका अध्यक्ष नविन पौडेलले अझै पनि १६ गतेसम्म वडामा सहमति गर्ने समय रहेको भन्दै त्यसो नभए प्रमुख र उपप्रमुखमा भोट नहाल्ने बताए । ‘हामीले वडामा सहमति गर्ने भनेपछि माथिल्ला दुई पदमा उम्मेदवारी नदिएका हौं,’ पौडेलले भने, ‘हामीले सबै वडामा उम्मेदवारी पनि दिएका छौं, वडा नमिलाए हामी प्रमुख उपप्रमुखमा भोट हाल्दैनौँ ।’

प्रमुखका उम्मेदवार कोइरालाले भने आफूले चुनाव जित्ने बताए । ‘यसअघि २३ हजार बढी मत ल्याएर हामीले चुनाव जितेका हौं,’ कोइरालाले भने, ‘अहिले तत्कालीन लोकतान्त्रिक फोरम र हालको जनता समाजवादी पार्टीले समर्थन गरेको छ, गठबन्धनका अन्य दलले पनि सहयोग गर्नुभएको छ, मैले नजित्ने कल्पना गर्न सकिँदैन ।’

मोरङमा कहाँ–कहाँ भयो गठबन्धन ?
यसैबीच मोरङका मिक्लाजुङ गाउँपालिकामा काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ । त्यहाँ कांग्रेसले अध्यक्ष लिएर उपाध्यक्ष माओवादीलाई दिएको छ । यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिकामा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । त्यहाँ माओवादीले प्रमुख पद लिएको छ भने नेकपा एसलाई उपप्रमुख पद दिइएको छ । 

यस्तै मोरङको सुनवर्षी नगरपालिकामा भने जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । मोरङको लेटाङ नगरपालिकामा भने काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ । यस्तै काँग्रेस र माओवादीबीच रतुवामाई नगरपालिकामा गठबन्धन भएको छ । त्यहाँ कांग्रेसले प्रमुख पद लिँदा माओवादी केन्द्रले उपप्रमुख पद लिएको छ । 

मोरङको धनपालथानमा यसअघि माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको सहमति भाँडिएको छ । त्यहाँ एक्लाएक्लै उम्मेदवारी दर्ता भएको छ । यस्तै उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी, केराबारी, कटहरी, बुढीगंगा, ग्रामथान र जहदा गाउँपालिकामा एक्लाएक्लै लड्ने गरी दलहरुले उम्मेदवारी दर्ता गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप