शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिका :  प्रमुखमा दश र उपप्रमुखमा सात जनाको उम्मेदवारी

त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना
सोमबार, १२ वैशाख २०७९, १९ : ३६
सोमबार, १२ वैशाख २०७९

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

काँग्रेसको दुई पटक धनगढी नगर सभापति बनिसकेका वड पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उम्मेदवारी दर्ता गर्दै नगर प्रमुख वडले अधुरा योजना पुरा गर्न र नयाँ योजनाको सुरुवात गरी धनगढीलाई हरियो, सुन्दर शहर बनाउन पुनः दोहोरिन चाहेको बताए । विद्यार्थी जीवनबाट नेकपा एमालेको राजनीतिमा होमिएका रणबहादुर चन्दले यस पटक नगर प्रमुखमा उम्मेदवार बनेका छन् । कैलाली पार्टी अध्यक्षका आकाङ्क्षी उनी रतन थापासँग पराजित भएका थिए । चन्द एमाले कैलालीको सचिव समेत भइसकेका छन् । चन्दले उम्मेदवारी दिँदै धनगढीको विकास र नयाँ“ सोचका साथ धनगढीमा भएका समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए ।

यस पटक पनि स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका हमाल २०७४ सालको निर्वाचनमा काँग्रेस उम्मेदवार वडसँग २७ सय बढी मतले पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि हमाल विवेकशील साझा पार्टीको प्रदेश संयोजक बनेका थिए । तर, निर्वाचन मिति घोषणा भए लगत्तै उनले सो पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका हुन । हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहिसकेका छन् । यस्तै उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन ।

अधिकारी लामो समयदेखि माओवादी केन्द्रमै आबद्ध छन् । २०७४ सालको निर्वाचनमा उनी उपप्रमुख पदमा पराजित भएकी थिइन । सो समयमा उनी नेपाली काँग्रेस र नेकपा एमालेबाट पराजित भएकी थिइन । उम्मेदवारी दर्ता गर्दै उनले पार्टीले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिइन । उनले आफू जनताको हित, अधिकारका लागि लड्न उम्मेदवारी दिएको बताइन ।  नेकपा एमालेकी उम्मेदवार राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन् । एमाले जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीया उनी नेपाल राना थारु समाजका केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।  राना धेरै चर्चामा नआए पनि २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन् । 

त्रिपक्षीय प्रतिस्पर्धा
धनगढी उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएका छ । २०७४ सालको निर्वाचनमा धनगढीमा नेपाली काँग्रेस, स्वतन्त्र र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार दोस्रो बनेका थिए भने नेकपा एमाले पार्टी तेस्रो बनेको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए । यही वैशाख ३० गते हुने निर्वाचनमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।नेपाली काँग्रेसको प्रभाव क्षेत्र रहेको धनगढीमा नेकपा एमालेका उम्मेदवार चन्द उम्मेदवार भएपछि दुई दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप