भोजपुरको आमचोक गाउँपालिकामा काँग्रेस र एमालेबीच तालमेल
भोजपुरको आमचोक गाउँपालिकामा सत्ता गठबन्धनबाट बाहिरिएर नेपाली काँग्रेसले नेकपा एमालेसँग तालमेल गरेको छ। एमालेले अध्यक्षमा बसन्त राई र काँग्रेसले छिरिङ शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
गठबन्धनको नीति विपरित काँग्रेसले एमालेसँग तालमेल गर्नु खेदजनक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले बताए। गठबन्धनको निर्णय विरुद्ध काँग्रेसले एमालेसँग तालमेल गरेको भन्दै किराँतीले आपत्ति जनाए। सत्ता गठबन्धनभित्र आमचोक र अरुण गाउँपालिकामा तालमेल गर्ने निर्णय भएपनि काँग्रेस आमचोक गाउँपालिकामा एमालेसँग तालमेल गर्नु ठिक नभएको किराँतीले बताए।
‘भोजपुरको आमचोक र अरुण गाउँपालिका गठबन्धन नगर्ने निर्णय भयो। आमचोकमा माओवादीले एकल जित्न सक्छ अरुणमा काँग्रेस एकल जित्न सक्छ भन्ने भयो’ किराँतीले भने,‘दुबै गाउँपालिकामा आआफ्नै तरिकाले लड्ने भनिएपनि काँग्रेसले धोका दिएर एमालेसँग मिलेर हामीलाई धोका दियो।’ एमाले काँग्रेसले समेत भागबण्डा गरेर तालमेल गरेका छन्। भोजपुरका ९ स्थानीय तह मध्ये ६ स्थानीय तहमा मात्रै काँग्रेस र माओवादी,एकीकृत समाजवादीसँग तालमेल भएको थियो। त्यसबाट माओवादीलाई एक प्रमुख मात्रै पाएको थियो। तर, अरु तालमेल भएका ५ स्थानीय तहमा पनि काँग्रेसले सेट नै बनाएर उम्मेदवारी दिएको छ।