बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फ्ल्यासब्याक : एकादेशको गाउँ लाङटाङ

सोमबार, १२ वैशाख २०७९, १६ : १९
सोमबार, १२ वैशाख २०७९

१२ वैशाख २०७९ । संयोग पनि कस्तो भने ७ वर्षपछि वैशाख १२ मै म फेरि लाङटाङ यात्रामा छु । साथमा छन्, नेदरल्यान्डका प्रोफेसर मार्क र श्रीमती मास्चा । २०७२ सालको यो त्यही दिन हो जुन दिन विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले लाङटाङ गाउँ पूरै बगाएको थियो । बगाएलगत्तै म लाङटाङ गएको थिएँ । त्यसपछि पटक पटक गइरहेँ र त्यो हिमालय र हिमाली माटोसँग यसरी जोडिएँ, किताबका पानाहरूझैँ पल्टिरहन्छन् पलपल– जहाँ जति आँशु छन्, त्यसभन्न्दा बढी मुस्कान । तिनै आँशु र मुस्कानका पाना रातोपाटीमार्फत सबैसँग बाँड्न चाहन्छु । 

यसक्रममा भूकम्प र हिमपहिरोले बगाएर हराएको हिमाली गाउँको कथा क्रमशः आउने छन्  । रोएर फेरि हाँसेको ठाउँको कथा । मृत्यपछि फेरि जीवनतिर फर्किएको पीडादेखि प्रेरणासम्मको यात्राकथा । म लाङटाङमा हिँड्दै यता अक्षरहरू पठाइरहनेछु ।  

एकादेशको गाउँ लाङटाङ, सुन्दर गीत जस्तै लयमा थियो जीवन । 

अनायासै अनौठो गरी जमिन हल्लियो । सुरुमा डर लाग्यो । दिमाग शून्य भयो । तर त्यही शून्यबीच सोचेँ, “सोचेर केही हुनेवाला छैन । विपत्तिको अगाडि कसैको केही लाग्दैन । जे हुन्छ, स्वीकार्नुबाहेक विकल्प छैन ।” 

आँखा चिम्लेँ र जीवन वा मृत्यु दुवैका लागि तयार रहेँ । सुरुमा मैले सबैलाई बिर्सें, स्वयंलाई समेत । आफँैलाई बिर्सनु र मृत्युलाई स्वीकार्नु शून्यमा जानु हो । 

त्यो विपत्तिमाझ एक्कासि मैले अनौठो शान्ति अनुभव गरेँ । कुनै ध्यान वा तप गरेर प्राप्त गरेको ‘बुद्धत्व’ थिएन । त्यो त मैले स्थितिसँग गरेको ‘सरेन्डर’ थियो । त्यो त्यही समय थियो, मैले बुद्धलाई आफैभित्र दर्शन गरेँ । 

हजारौँ मानिस मरँे, लाखौँ घर भत्के तर त्यहीँनेर उज्यालो थपियो । हामी सबै उस्तै र उत्तिकैको मानव भयौँ । सम्भवतः मैले पहिलो पटक असल समाजको वास्तविक सदस्य भएको अनुभव गरेँ । केही दिनसम्म सामूहिक चुलो चल्यो । अहम्हरू भत्के । घृणाहरू सिद्धिए ।

परकम्पको त्रास चारैतिर थियो तर त्यही त्रासले मानिसलाई एकत्रित गरेको थियो । सबै आफन्त भएका थिए । जीवनलाई मृत्युले जोडेको थियो र भयले भरोसा । 

मिनेटहरू एकै ठाउँमा बसेनन् । ती उसरी नै चलिरहे, जसरी पहिले चल्थे । मृत्युहरू सल्बलाइरहेका केही घण्टाबीच मैले सोचेँ, “म त बाँचेँ तर मैले बाँच्नुसँग मेरो पत्रकारिता र लेखनलाई जोडेर यो समयको डायरी लेख्नुपर्छ । यी सूचना र अनुभूति दुवैलाई बराबरीमा राखेर विनाशकारी भूकम्पका कथाहरू लेख्नुपर्छ, जहाँ घटनाहरू मात्र हुँदैनन्, परिवेश पनि हुन्छन् । जहाँ जीवन र मृत्युका आम अनुभवहरू जीवन्त हुन्छन् ।”

सय वर्षपछि पनि कसैले यो विनाशकारी भूकम्प र मानवबीचको सम्बन्धलाई अनि यो समयको त्रासदीलाई अध्ययन गर्न चाह्यो यो डायरीको सङ्ग्रह एउटा जीवन्त दस्तावेज बन्नेछ ।

“एक महिनासम्म हरेक दिन डायरी लेख्छु”, कोलाहलबीच मनमनै बुन्दै थिएँ, जे भोगेँ त्यो लेख्छु । जे देखेँ, त्यो लेख्छु । जे सुनेँ, त्यो लेख्छु । त्यसरी म आफ्नो मात्र होइन, परिवार, साथीभाइ, समाज र समयको कथा लेख्छु । प्रकृति र मानव जातिको सम्बन्धमाथि कथा लेख्छु । ‘इन्डिभिज्युल’ हुँदै गएको तर विपत्तिले सामूहिकतामा फर्केको समाजको कथा लेख्छु ।

“आयो । फेरि आयो ।”

परकम्पले छिनछिनमा त्रास र चित्कारहरू जन्माइरहेका थिए । घरहरू मृत्युशाला भएका थिए । घाइतेहरू यत्रतत्र थिए । मानिस हराइरहेका थिए । कति मानिस कहाँ पुरिएका थिए केही थाहा थिएन । तीमध्ये कति मरिसके, कति जीवित थिए केही थाहा थिएन । तर बाँचेकाहरू तिनको सास खोज्दै थिए । प्रहरी, सेना र उद्धारकर्ताहरू त्रासदीलाई चिर्दै शवहरूसँगै सासहरू उत्खनन् गर्न थालिसकेका थिए ।

फोन नेटवर्कले काम गरिरहेको थिएन । बिस्तारै घाम पहेँलिन थाल्यो । त्यति बेलासम्म थाहा भयो, कम्तीमा परिवार र आफन्त सकुशल छन् । साथीभाइ सर्कललाई पनि केही भएको छैन । एक जुगमा एक दिनको सहर भएको काठमाडौँमा म स्कुटर लिएर घरी बानेश्वर त घरी बालाजु दौडिरहेको थिएँ ।      

साँझ प¥यो । म दृढ भएँ, “अब लेख्न थाल्छु, मृत्यु र जीवनले भरिएको संवेदनशील डायरी ।” तर मन कहाँ हातमा गयो र ! अनि हात कहाँ गयो र कलममा ! संवेदनाहरू एकमुष्ठ हुन सकेनन् । सोचेँ भोलिदेखि लेख्छु, भोलि बेलुकादेखि त पक्कै लेख्छु ।

भोलिपल्ट अर्थात् १३ वैशाख २०७२ । बिहानको ११ बजेर ५६ मिनेट । अघिल्लो दिन त्यही समयमा त आएको थियो विनाशकारी भूकम्प । धर्ती मात्र होइन, समय पनि हल्लिएको त्यो समय म फेरि पनि दृढ थिएँ । सोच्दै थिएँ, “मैले यो समय र संवेदनाको कथा लेख्नु भूकम्पप्रति न्याय गर्नु हो । स्वयंप्रति न्याय गर्नु हो । मेरो पत्रकारिता र लेखन चेतनाप्रति न्याय गर्नु हो । तर लेख्नका लागि जो एकाग्रता आवश्यक थियो, त्यो जुटाउन सकिनँ । दोस्रो दिन पनि त्यसरी नै गयो, जसरी पहिलो दिन ।

तेस्रो दिन पनि मैले आफूलाई कलममा बाँध्न सकिनँ । म चाहन्थेँ, “लेख्न सुरु गरिहालुँ । लेखिहालुँ ।” तर आफू बाँचे पनि हजारौँ मृत्युको समाचार फैलिरहँदा एकाग्रता कता हराउँदो रहेछ कुन्नि ! मैले लेख्न सकिनँ । समाचारमा मृत्यु मात्र थिएन, त्यसका कथाहरू थिए । जस्तो कि “आमाको काखमा बसेर बच्चा दूध खाँदै थियो । ती दुवैका शव त्यही अवस्थामा उत्खनन् भए ।” 

त्यस्ता कारुणिक खबरहरूले हल्लिएको थिएँ म ।

मैले चौथो दिन पनि लेखिनँ र क्रमशः लेखिनँ । मैले नलेख्नु वा लेख्न नसक्नुमा परिस्थितिको संवेदनशीलता त थियो नै तर मेरो मुर्दा आलस्य मुख्य दोषी थियो । म ‘फ्रस्टेड’ हुन थालेको थिएँ ।

“जे सोचेँ, गरिनँ । जे गर्न सक्थेँ, गरिनँ । गर्नुपर्ने काम थियो तर गरिनँ”, धर्तीमा मात्र होइन, मनमा पनि परकम्प आइरहेको थियो । 

मनमा त्यो झन् जोडजोडले बारबार आउन थाल्थ्यो, “मैले मेरो पत्रकारिता, मेरो कलम र मेरो क्षमतामाथि मात्र होइन, सङ्कल्पमाथि समेत अन्याय गरेँ ।”

दिनहरू ‘फ्रस्टेसन’मा बित्न थाले ।

समाचारका केन्द्रमा भूकम्पकेन्द्र बारपाक आइरह्यो । काठमाडौँ र आसपासका क्षेत्र आइरहे । सिन्धुपाल्चोकहरू आइरहे । त्यो आउनुपथ्र्यो । तर मैले कल्याङमल्याङ थाहा पाएँ, “हिमालयमा एउटा यस्तो गाउँ थियो, जहाँ भूकम्प मात्र होइन, सँगै हिमपहिरो पनि आयो रे । अब त्यहाँ त्यो गाउँको कुनै नामोनिसान छैन । त्यहाँ जो स्थानीय थिए, ती सबै मरे । त्यहाँ जो गएका थिए, ती सबै मरे रे ।”

एकादेशको गाउँ भइसकेको त्यो ठाउँ थियो लाङटाङ, त्यो गाउँ थियो लाङटाङ ।

क्रमशः

(लेखक लाङटाङ सद्भावना दूत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप