शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महानगरमा काँग्रेस उम्मेदवार : रोक्दा रोक्दै चिरिबाबुको बाजी, शेखरलाई पनि स्थान

सोमबार, १२ वैशाख २०७९, १३ : १२
सोमबार, १२ वैशाख २०७९

नेपाली काँग्रेसले महानगरपालिका प्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय समिति बैठकले पार्टीको भागमा परेका तीन महानगरका मेयरको उम्मेदवार तय गरेको हो ।

सत्ता गठबन्धनको सहमति अनुसार तीन महानगरपालिका प्रमुख पाएको काँग्रेसले चार दिन लगाएर उम्मेदवार तय गरेको छ । गत शुक्रबारदेखि शीर्ष नेताबीच छलफल भए पनि सोमबारमात्र काँग्रेसले उम्मेदवार टुङ्ग्याएको हो ।

काँग्रेसले काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाएको छ । नेता प्रकाशमान सिंहकी पत्नी तथा काँग्रेस महाधिवेशन प्रतिनिधि सिर्जना सत्ता गठबन्धनबाट काठमाडौँ मेयरको उम्मेदवार बनेकी छन् ।

नेपाली काँग्रेस काठमाडौँ नगर कमिटीले काठमाडौँको मेयरमा सिर्जनासहित पाँच जनाको नाम सिफारिस गरेको थियो । सिर्जनाका अलावा निलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको थियो । तर बैठकले सिर्जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेसको शीर्ष तहमा सिर्जनाको नाममा रामचन्द्र पौडेलबाहेक सबै नेताको समर्थन थियो ।

जिल्ला र केन्द्रका अधिकांश नेता सिर्जनाको पक्षमा उभिएपछि देउवाले सजिलै टिकट थमाएको काँग्रेसका एक नेताको भनाइ छ । १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेका प्रकाशमान सिंह पहिलो चरणको निर्वाचनमा तेस्रो भएपछि उनलाई देउवाको पक्षमा उभ्याउन सिर्जनाको मुख्य भूमिका रहेको काँग्रेस वृत्तमा चर्चा छ । काँग्रेस नेताहरूका अनुसार सिर्जनाको जोडबलमा सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

नेतृत्व परिवर्तनको पक्षमा उभिएका सिंह अन्तिममा देउवालाई सभापतिमा दोहोर्‍याउने लाइनमा उभिएका थिए । त्यसपछि सभापतिका प्रत्याशी विमलेन्द्र निधि र कल्याण गुरुङको पनि देउवालाई समर्थन रह्यो । उनीहरूको समर्थनपछि शेखर कोइरालालाई दोस्रो चरणमा भारी मतान्तरले पराजित गरी देउवा दोस्रो पटक काँग्रेसको सभापति बन्ने सफल भएका थिए ।

सिर्जनाले मेयरको उम्मेदवारका लागि आकांक्षा प्रकट गरेपछि देउवा सुरुदेखि नै सकारात्मक थिए । साथै देउवा पत्नी आरजु राणा देउवाले पनि सिर्जनालाई काठमाडौँ मेयरमा उम्मेदवार बन्न प्रोत्साहन गरेको स्रोत बताउँछ ।

रोक्दा रोक्दै उम्मेदवार बने चिरिबाबु

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन गठबन्धनबाट उम्मेदवार बनेका छन् । काँग्रेसको ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, चन्द्र महर्जन, वर्तमान उपमेयर गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

ललितपुर महानगरको मेयरमा उम्मेदवार हुन काँग्रेसमा चिरिबाबु, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको मुख्य दाबेदारी थियो । काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, जितजंग बस्नेत, ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाउन लबिङ गरेका थिए । जिल्लाका नेताहरु चिरिबाबु र प्रेमकृष्णका नाममा विभाजित भएपछि सभापति शेरबहादुर देउवाले विकल्पका रूपमा पूर्व सांसद चन्द्र महर्जनको नाममा छलफलमा अगाडि सारेका थिए । तर शीर्ष नेताको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले चिरिबाबुको पक्षमा अडान लिए । यस्तै जिल्लाबाट उनको पक्षमा मदन अमात्यको निकै जोडबल थियो ।

पौडेलको लबिङ र अमात्यको जोडबलमा चिरिबाबु गठबन्धनबाट ललितपुरको मेयरमा उम्मेदवार बन्न सफल भएका छन् । ललितपुरमा चिरिबाबुले टिकट पाएपछि नेता रामचन्द्र पौडेलको माग पनि सम्बोधन भएको छ ।

काँग्रेसका एक पदाधिकारीले भने, ‘रामचन्द्र दाइले पोखरा महानगरपालिका लागि जोड गर्नुभएको थियो । त्यहाँ समाजवादीले पाउने अवस्था बन्यो । त्यसपछि उहाँले चिरिबाबुको पक्षमा अडान लिनुभयो ।’ संस्थापन पक्षका चिरिबाबुको पक्षमा पौडेलले लिएको अडानको स्वार्थ भने खुलेको छैन ।

शेखरलाई पनि स्थान

काँग्रेसलाई महानगरपालिका उम्मेदवार टुङ्ग्याउने क्रममा सबैभन्दा सकस विराटनगरको विषय बन्यो । नगर कमिटीले केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, वर्तमान मेयर भीम पराजुली, जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम मेयरका लागि सिफारिस गरेको थियो ।

जसमा सभापति देउवा अमृत अर्याल, कृष्णप्रसाद सिटौला भने भीम पराजुली तथा शेखर कोइरालाले नागेश कोइरालाको पक्षमा अडान लिए । बैठकमा सहभागी एक नेताका अनुसार चार दिनसम्म काँग्रेस बैठक आचार्य, पराजुली र कोइरालाका नाममा केन्द्रित भएको थियो ।

१४ औं महाधिवेशनमा कोइराला समूह छोडेर पराजुली सिटौला क्याम्पमा पुगेका थिए । सिटौलाको सिफारिसमा देउवा समूहबाट पराजुली केन्द्रीय सदस्यको उम्मेदवारमात्र बनेन्, विजयीसमेत भए । अहिले पनि सिटौलाले मेयरमा पराजुलीलाई दोहोर्‍याइ छोड्ने अठोट लिएका थिए । तर विराटनगरको मेयरमा उम्मेदवार चयनको विषयलाई शेखर कोइरालाले प्रतिष्ठाको लडाइँ बनाएपछि देउवा र सिटौला ‘ब्याक’ हुन बाध्य भए । अन्ततः शेखर कोइराला निकट नागेश कोइरालालाई काँग्रेसले विराटनगरको मेयरका रूपमा मैदानमा उतारेको छ । सभापति देउवाले विराटनगर शेखर कोइराला समूहलाई दिएर पार्टीभित्रको भागबण्डा पनि मिलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप