मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात, विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

नेपाललाई कस्तो असर पर्छ ?
सोमबार, १२ वैशाख २०७९, ०५ : ३०
सोमबार, १२ वैशाख २०७९

विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेल यतिबेला विश्वमा निकासी हुन रोकिएको छ । रुसले हमला गरेका कारण युक्रेनबाट विश्वभरको बजारमा आपूर्ति हुँदै आएको खानेतेलको निकासी रोकिएको हो । यससँगै, विश्व बजारमा खानेतेलको मूल्य दिनदिनै बढिरहेको छ । 

राष्ट्रपति विडोडोले विश्वभरमा तेलको मूल्य बढेका कारण आन्तरिक माग धान्न निर्यात रोक्ने निर्णय गरेको जनाएका छन् । इण्डोनेसिया र मलेशिया पाम तेल उत्पादनको क्षेत्रमा विश्वकै अब्बल मानिन्छन् । पाम तेलको प्रयोग कस्मेटिकदेखि प्याकेजिङ गरिने खाद्यान्नसम्ममा प्रयोग हुन्छ । इण्डोनेशियाले यसको निर्यातमा रोक लगाएसँगै विश्वव्यापी रूपमा प्याकेजिङ गरिएका खाद्यान्नको मूल्य बढ्ने आङ्कलन गरिएको छ ।

विश्वमा निर्यात हुने कुल पाम तेलमा इण्डोनेशियाको हिस्सा करिब ५० प्रतिशत छ । इण्डोनेशिया विश्वको ठूलो तेल उत्पादक र निर्यातक हो भने भारत विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतमा यसको प्रयोग ‘स्ट्रिट फूड’देखि, दूनोट, बेकरी, कस्मेटिक बनाउने लगायत खाने तेलको रूपमा समेत प्रयोग गरिन्छ । यसका साथै, भारतमा ‘जंक फूड’को उत्पादनमा समेत पाम तेलको प्रयोग हुन्छ । त्यसैले इण्डोनेशियाको यो निर्णयले सबैभन्दा ठूलो असर भारतलाई पर्छ ।

भारतको सोलोभेन्ट एक्सट्र्याक्टर्स एसोसिएशन अफ इण्डियाका अध्यक्ष अतुल चतुर्वेदीले यस निर्णयबाट सबैभन्दा धेरै अप्ठ्यारो भारतलाई पर्ने बताएका छन् । उनले इण्डोनेशिया सरकारको यो निर्णय अकल्पनीय र आकस्मिक भएको समेत बताए । कास्मिर मुद्धामा पाकिस्तानको पक्षमा बोलेपछि मलेसियासँग भारतको राम्रो व्यापारिक वातावरण छैन ।

जबकि इण्डोनेशियाको विकल्पको रूपमा भारतले मलेसियाबाट पाम तेल खरिद गर्न सक्थ्यो । यसका साथै अन्य वनस्पति तेलहरू भटमास, तोरी र सूर्यमूखी तेलको मूल्य समेत उकालो लागेको छ । यसबाहेक, मलेसिया आफै पाम तेलको न्यून उत्पादनबाट गुज्रिरहेको छ । साथै, अर्जेन्टिना, ब्राजिल र क्यानडामा ठूलो खडेरीले ती देशबाट तेल आपूर्तिको विकल्प समेत छैन । ती देशको उत्पादनमा खडेरीबाट क्षति पुगेपछि भटमास र तोरीको तेल आपूर्ति समेत सहज नरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

खास गरी, इण्डोनेसियामा खाना पकाउने तेलको मूल्य १.८४ डलर प्रतिलिटर पुगेको छ । यो, एकै वर्षमा आएको ४० प्रतिशतको वृद्धि हो । देशका केही राज्यहरूमा गत महिना मात्रै मूल्य दोब्बरले बढेको छ । जसकारण, बढेको मूल्य नियन्त्रण गर्न राष्ट्रपतिले निर्यात रोक लगाउने घोषणा गरेका हुन ।

नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्छ ?

नेपालले चालू आर्थिक वर्ष २०७८/७९ मा ३४ अर्ब ४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । इण्डोनेशिया, मलेशिया र फिलिपिन्सबाट यसको आयात हुँदै आएको छ । जसमा इण्डोनेशियाबाट मात्रै २५ अर्ब ८९ करोड रुपैयाँको कच्चा पाम तेल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यस्तै, मलेशियाबाट ६ अर्ब ३ करोड र फिलिपिन्सबाट ११ करोड रुपैयाँको कच्चा तेल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा आयात भएको कूल कच्चा पाम तेलमध्ये ९० प्रतिशत इण्डोनेशियाबाट भित्रिने गरेको छ । यस्तै, २१ करोडको प्रशोधित पाम तेल र २६ करोड ६४ लाखको प्याकेजिङ नै भएको पाम तेल भित्रिने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसमध्येबाट चालू आर्थिक वर्षको ९ महिनामा भारततर्फ २६ अर्ब ७४ करोड रुपैयाँको पाम तेल निकासी भएको छ । यस्तै, ९ अर्ब रुपैयाँको प्याकिङ गरिएको पाम तेल समेत भारततर्फ निकासी भएको छ । यसरी, भारततर्फ निकासी भएको पाम तेलको ७० प्रतिशत कच्चा तेल इण्डोनेशियाबाट आयात हुन्छ । अब इण्डोनेशियाले कच्चा पाम तेलको निकासी रोकेपछि नेपालको अर्बौको आयात र निर्यात प्रभावित बन्ने देखिएको छ ।

पूर्व राज्यमन्त्री तथा उद्योगी मोतीलाल दुगडले इण्डोनेशियाले पाम तेलको निकासी रोक्दा नेपालका उद्योगलाई प्रत्यक्ष प्रभाव पर्ने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘७० प्रतिशत कच्चा पदार्थ इण्डोनेशियाबाट आउँछ । निकासी रोकिएपछि यता कच्चा पदार्थ पाउनै छाडिएको छ ।’ उनले अब मलेसियामा उत्पादित पाम तेलको मूल्य समेत बढ्ने र नेपालमा खानेतेलको मूल्य पुनः बढ्ने तथा निर्यात नै प्रभावित बन्ने बताए ।

इण्डोनेशियाले पाम तेल निकासी बन्द गर्ने घोषणा गरेलगत्तै नेपालका लागि खुलाउन पहल सुरू गरिएको दुगडको भनाइ छ । उनका अनुसार नेकपा एमालेको उद्योग विभागले इण्डोनेशियाका व्यावसायिक साझेदारसँग टेलिफोनबाट वार्ता भइरहेको र औपचारिक रूपमा पत्रै लेखेर नेपाललाई प्रतिबन्ध नलगाउन माग गर्ने समेत बताए । हाल नेपालमा तेल प्रशोधन गर्ने २२ वटा उद्योग छन् । यी उद्योगले विदेशबाट कच्चा तेल ल्याएर प्रशोधनपछि भारततर्फ निकासी गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप