सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एमालेलाई जीतपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार छान्न सकस

आइतबार, ११ वैशाख २०७९, १५ : ३३
आइतबार, ११ वैशाख २०७९

जीतपुर सिमरा उपमहानगरको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार छान्न नेकपा एमालेलाई सकस भएको छ । उपमहानगर प्रमुखमा एक दर्जन र उपप्रमुखमा आधा दर्जन नाम सिफारिस भएपछि एमालेलाई उम्मेदवारी छान्न कठिन देखिएको हो ।

एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार साँझसम्म निर्णय गर्ने अपेक्षा गरिए पनि बाराको २ उपमहानगरमध्ये कलैया उपमहानगर प्रमुखको मात्रै टुङ्गो लागेको छ ।  कलैया उपमहानगर प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भए पनि जीतपुर सिमराको प्रमुख÷उपप्रमुख र कलैया उपमहानगर उपप्रमुखको टुङ्गो लाग्न सकेको छैन । 

जीतपुर सिमरा प्रमुखमा पुराना दावेदार बाहेक पछिल्लो समय एमाले प्रदेश कमिटीले निवर्तमान जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीको नाम अघि सारेको छ । नेकपा एमाले जीतपुर सिमरा नगर कमिटी अध्यक्ष भोला अधिकारीले चौधरीको नाम नगर र जिल्ला कमिटीबाट नभएर प्रदेश कमिटीले घुसाएको जानकारी दिए ।

‘उहाँको नाम प्रदेश कमिटीबाट सिफारिस भएको छ । हेरौँ, आज साँझसम्ममा कसको पक्षका निर्णय आउँछ,’ अधिकारीले भने । यसअघि नगरकमिटीले नगरप्रमुख पदका लागि हालकी उपप्रमुख सरस्वती चौधरीसहित एमाले बारा सचिवालय सदस्य मनोज पौडेल, जिल्ला कमिटी सदस्य कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, राधेश्याम सिवाकोटी, महादेव चौधरी, प्रह्लाद साह र विश्वनाथ लामिछानेको नाम सिफारिस गरेको थियो । 

यसैगरी उपप्रमुखमा भोला अधिकारी, कमला घिमिरे, रेनु रिमाल, सरिता चौधरी, अशोक लामाको नाम सिफारिस भएको छ । २०७४ मा जीतपुर सिमरा उपमहानगर प्रमुख÷उपप्रमुख दुबै एमालेले जितेको थियो । ५ वर्षको कार्यकालमा जीतपुर सिमरा उपमहानगर भ्रष्टाचारमा देशकै पहिलो र कार्यसम्पादन मूल्याङ्कनमा अन्तिमबाट दोस्रो अर्थात ७ सय ५२ औं स्थानमा परेपछि हालको नेतृत्वको चर्को आलोचना हुँदै आएको छ । 

एमालेले गठबन्धनको उम्मेदवार हेरेरमात्रै आफ्नो उम्मेदवारको नाम सार्वजनिक तयारी गरेको स्रोतले जनाएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुर सिमरा उपमहानगरमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ भने उपप्रमुखमा काँग्रेसले उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप