शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दलहरू गरिबको झुपडीमा चुनावताका मात्रै किन पुग्छन् ?

आइतबार, ११ वैशाख २०७९, १५ : ०८
आइतबार, ११ वैशाख २०७९

स्थानीय चुनावमा उम्मेदवारीसँगै अवको केही साता नेताहरुले भाषणमा देशलाई अमेरिका र स्वीजरल्याण्ड भन्दा कम विकसित वनाउने छैनन् । उम्मेदवारहरुले आफ्नो दलको योजना भन्दा पनि एक दलले अर्काे दललाई सत्तोसरापको भाषण मात्रै थमाउँदै छन् । भाषणमा रमाउने, उत्तेजित हुने, ताली पड्काउने बेरोजगार जनता छँदै छन् । राजनीतिमा नैतिकता, इमान्दारिता, लगानी, आस्था, निष्ठा, त्याग, विचार र सिद्धान्तको अहम् भूमिका एवम् मान्यता हुनुपर्छ । तर अहिले नेपाली राजनीतिमा सबै पार्टीभित्र  इमान र नैतिकताको खडेरी परेको देखिन्छ । हुँदा हुँदा अब त केही समयपछि पार्टीका चिह्न, झण्डाको महत्व हराउने पो हो कि भन्ने चिन्ता पो देखिँदैछ ।

चुनाव जित्न र कुर्सीका लागि भागबण्डा गर्न दलहरु फरक विचारधाराका बावजुद जोड घटाउमा रुम्मलिनु भनेको लोकतान्त्रिक ब्यवस्थाको अविश्वास गर्नु होईन र ? सत्तारुढ गठबन्धनले अहिलेको स्थानीय चुनावमा एकातिर गठबन्धन, अर्कोतिर दलमा आकांक्षीहरु समेत धेरै देखिएकोले बिद्रोही/स्वतन्त्र उम्मेदवारहरु स्वतः बढ्न सक्ने देखिन्छ । यसपटक क्रस मतदाताको  संख्या बढ्न सक्ने सङ्केत देखिदैछ ।  

गत पाँच वर्षमा कुनै पनि स्थानीय सरकारले स्याबासी कमाउने गतिलो काम गर्न सकेको देखिदैन । अलि अलि भएको विकास नियमित प्रक्रिया नै हो । विकासको नाममा अलि देखिने भनेको सडक नै हो । केही सडक स्तरवृद्धि र ग्राभेल, कुनै ठाउँमा नयाँ ट्रयाक र  भ्यूटावरलाई नै  ठुलै विकास मानेका छन् अहिलेका जनप्रतिनिधिरुले । पहाड क्षेत्रका पालिका र केही वडाहरुले त विना ईन्जिनियरिङ जथाभावी सडक वनाउने नाममा चुरे पहाड खन्नाले बाढी, पहिरोको जोखिम उत्तिकै निम्तिएको देखिन्छ । 

बजार तथा सहरका सडक छेउका विद्युतका पोलमा जथाभावी तारका गुजुल्टा र विज्ञापनका वोर्ड झुण्डिएर वजारको सौन्दर्य नै बिगारेका छन् । मेरो सहर, राम्रो सहरको नारा केवल नारामै सीमित भएको छ । पुरानो त  पुरानै भइहाल्यो, नयाँ भर्खरै निर्मित सडकमा समेत फुटपाथ छैन । पैदलयात्रा गर्ने पेटीहरुमा ह्वीलचिययर गुडाउन मिल्ने संरचना छैन । सरकारी कार्यालय, अस्पताल जस्ता ठाउँहरु सवै प्रायः अपाङ्गमैत्री छैनन् । दुई लेनको सडकमा गाडी र मोटरसाइकलहरु दुवै तर्फको बाटो मिचेर गुड्छन् । गाडीहरु एक अर्कालाई ठोक्काउँदै सडक यात्रुका कुहिना हान्दै कुद्छन् ।  के यो देश पैदलयात्रीको होइन ? 

बजार भाउ आकासिएको छ । जग्गाको भाउ त झन चन्द्रमामा पुगिसक्यो । उत्पादन न्यून प्राय छ । बेरोजगारी समस्या बढ्दो छ । पहाडी भेगका प्रायः सबै खेतीयोग्य जमिन बाँझै छन् । तराई तथा शहर केन्द्रीत  खेतीयोग्य जमीन ‘प्लटिङ’ गरेर घडेरी बनाउँदै छन् । जिल्लाको सदरमुकाममै पनि राम्रा अस्पताल छैनन् । विकासलाई भ्यूटावरले गिज्याइरहेको छ ।

निजी र सामुदायिक स्कुलहरुले अङ्ग्रेजी माध्यमको पढाइ शुरु गरेको वहानामा  अत्यधिक शुल्क लिन्छन् । सरकारी कार्यालयहरुमा चिनेजानेकाहरु र ‘सेटिङ’ मिलाउन जान्नेहरुको काम एकैछिनमा हुन्छ, पैसा र सम्बन्धको पहुँच नहुनेहरु सानो कामको लागि हप्तौं धाउनु परेको छ । यसमा सवैभन्दा धेरै मालपोत, नापी  र यातायात कार्यालय नै पर्छन् । बजारमा अस्वस्थ प्रतिस्पर्धा र अन्तरराष्ट्रिय ब्राण्डका डुब्लिकेट सामानको बिगबिगी छ । पसलहरुमा वर्षाैदेखि मिति सकिएका खाद्य तथा अन्य सामग्री बिक्रीमै  हुन्छन् । अस्पतालहरु विरामीमाथि सेवा होइन, ब्यापार गर्छन्  । तर बेथिति हटाउनु भन्दा, विकास गर्नुभन्दा नयाँ जोगी आए पनि कान चिरा भनेझैं चुनिएर आउने जनप्रतिनिधि पनि चुनावको लगानी उठाउनमै ध्याउन्न छ । 
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारमा जानेहरुको पीडा उस्तै छ, फ्रि भिसा, फ्रि टिकटको नाममा राज्यलाई झनै घाटा परिरहेको छ र कामदारलाई पनि मार परिरहेको छ । एक लाख ५० हजार  लिएर १० हजारको सेवाशुल्क वापतको नगदी रसिद दिईन्छ र कसैले  सोध्यो भने १० हजार मात्रै तिरेकोे भन्ने प्रशिक्षण दिईन्छ । 

सरकारी शिक्षक र कर्मचारी नै पार्टीको झण्डा वोकेरै हिँड्ने गरेका छन् । ठुलाठुला आश्वासन दिने राजनैतिक दलहरु गरीबको घर र गाउँमा चुनावताका मात्रै पुग्छन् । र, भाषणमा धमाधम देश अमेरिका र स्वीजरल्याण्ड  बन्छ, रितिथितिमा सुधार आउँछ र सम्वृद्धिका नाराहरु सम्हाल्न नसकेर  छ्यालब्यालै हुन्छ भन्छन्  । 

माथिका यावत कुराहरुको अनुगमन र नियमन कसले गर्ने ? सम्वन्धित कार्यालयले नियमन गरेपनि कर्मकाण्डी मात्रै  गर्छन् । जनप्रतिनिधिहरुले सच्चा मनले गाउँ सुधार्ने मनसाय बनाए मुलुकले स्वतः समृद्धि हासिल गर्न धेरै समय नलाग्नेमा दुईमत छैन । तर अहिलेका हाम्रा सरकार टाउको दुःखेको औषधि खुट्टामा लगाईदिने खालका भए । त्यसैले उद्देश्य र आवश्यकता भन्दा फरक योजना आउँछ ।
वर्षाैसम्म पनि  प्रयोगविहीन हुने रेल खरिदले देशको गति कसरी अगाडि बढ्छ ? निःशुल्क शिक्षा, सामान्य औषधोपचार, किसानको उत्पादनको उचित किसिमको बजार व्यवस्थापन मात्रै गर्न सके देशले काँचुली फेर्थ्यो । तर  हाम्रा नेतृत्वले वनाउँछन् भ्यूटावर ।  त्यसैले त अहिलेको सरकार वा नेतृत्व जनआकाँक्षा अनुरुप काम गर्ने भएनन् । अव भने दलहरू गरिबको झुपडीमा चुनावताका मात्रै नपुगुन्, बाह्रैमास सुखदुःखको सारथी बनुन् । सोचविचार गरेर जनप्रतिनिधि चुनौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप