आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगर प्रमुखमा ठुला दलहरुको उम्मेदवारी दर्ता सोमबारमात्रै

आइतबार, ११ वैशाख २०७९, १३ : ४४
आइतबार, ११ वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख पदमा ठुला राजनीतिक दलका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच विभिन्न विषयमा सहमति जुटाउन बाँकी रहेको र पार्टीभित्रको आन्तरिक विवाद पनि सल्टाउनुपर्ने भन्दै ठुला दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने जनाएका हुन् ।

गठबन्धनको तर्फबाट वीरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् । उनले सोमबार दिउँसो २ बजेमात्रै उम्मेदवारी दर्ता गर्ने जानकारी दिए ।

‘पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ, भोलि दिउँसो २ बजेमात्रै उम्मेदवारी दिने कुरा छ,’ सिंहले रातोपाटीसँग भने, ‘वीरगञ्ज महानगरका वडाहरुमा गठबन्धनको टुङ्गो लागिसकेको छैन आकांक्षीहरुले उम्मेदवारी दिए पनि नामावली फिर्ता लिने दिनसम्म सहमति हुन्छ ।’

निर्वाचन आयोगले आइतबार र सोमबार २ दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । तर दलहरुले अधिकांश पालिकामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा सोमबारमात्रै मनोनयन दर्ता गर्ने जनाएका छन् ।

नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले वीरगञ्ज महानगरबाहेक पर्साका सबै पालिकामा भोलि (सोमबार) मात्रै काँग्रेसका तर्फबाट उम्मेदवारी दिने जनाएका छन् । ‘वीरगञ्ज महानगरमा हाम्रो उम्मेदवार छैन, त्योबाहेक सबै पालिकामा भोलि नै उम्मेदवारी दिने निर्णय भएको छ,’ पर्सा जिल्ला सभापति क्षेत्रीले भने, ‘वीरगञ्ज महानगरमा प्रमुख÷उपप्रमुख बाहेक वडामा गठबन्धन छैन । सबै ठाउँमा हाम्रो उम्मेदवार उठ्छ ।’

यता नेकपा एमालेले पनि पार्टीको निर्णय भन्दै आफ्ना उम्मेदवारलाई भोलिमात्रै मनोनयनपत्र दर्ता गर्न निर्देशन गरेको छ । नेकपा एमालेको तर्फबाट वीरगञ्ज महानगर प्रमुखका उम्मेदवार विजय सरावगीले सोमबार दिउँसो ३ बजेमात्रै मनोनयन पत्र दर्ता गर्ने बताए ।

पर्सा जिल्लामा ६ वटा राष्ट्रिय दलसहित ३२ वटा दल दर्ता भएका छन् । वीरगञ्ज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले ठुला दलहरुले उम्मेदवारी दर्ताका लागि सोमबारको समय लिएको बताए । ‘छिटफुट रुपमा त उम्मेदवारहरु आइरहनु भएको छ तर ठुला दलहरुको उम्मेदवारी भोलिमात्रै हुने भनेर समय लिनुभएको छ,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप