निजी क्षेत्रका आयोजनाहरूको विद्युत् प्रसारण लाइनमा जोड्न पहल
नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरूबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ ।
प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र ती आयोजनाहरूको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो ।
टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरूको भ्रमण गरेको थियो ।
टोलीले ती आयोजनाहरूको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरूसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरू जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए ।
प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।
तर, १ असार २०७८मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरूको पुनर्निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाहरूमध्ये दोर्दी खोला रे दोर्दी–१ जलविद्युत आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरू सम्पन्न गरी २० दिनभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।
आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्था अन्तर्गत हाल सञ्चालनमा रहेको मर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ । यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाख भित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।
उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्य मर्स्याङ्दी को स्वीचयार्डमै जाडिने छ ।
बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावर लि.ले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।
‘स्थानीयको अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणका केही ढिला हुँदा वैकल्पिक व्यवस्था अन्तर्गत चिनियाँ लागानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत् जोडिएको छ, चिनियाँहरूले जोड्न नदिने अडान लिइरहेका थिए तर प्राधिकरणको निरन्तरको प्रयासपछि अन्ततः न्यादीलाई जोड्न सफल भयौँ’, कार्यकारी निर्देशक घिसिङले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)