सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भरतपुरको मेयरमा रेनु दाहाल र विजय सुवेदीबीच भिडन्त पक्का

आइतबार, ११ वैशाख २०७९, ०९ : ०३
आइतबार, ११ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच भिडन्त हुने भएको छ । पाँच दलीय गठबन्धनबाट दाहाल र एमालेबाट सुवेदीलाई टिकट दिइएसँगै भिडन्त निश्चित भएको हो । 

दाहालले मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि माओवादीबाट उम्मेदवारी दिएकी हुन्।  यस्तै सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका हुन् । उपमेयरको उम्मेदवार भने सत्ता गठबन्धनबाट काँग्रेस र एमाले दुबैले टुंगो लगाएका छैन् । 

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा काँग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।  

भरतपुरको मेयरको मत हेर्दा काँग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो । काँग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।
 यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो। राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रीना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप