सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसमा शुभकामना सन्देश

आइतबार, ११ वैशाख २०७९, ०८ : ४६
आइतबार, ११ वैशाख २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको बताएका छन् । उनले आज मनाइँदै गरिएको लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वर्तमान परिपेक्षमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्ने बताए ।

प्रदेश प्रदेश प्रमुख शर्माले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुपर्ने बताए । प्रदेश प्रमुख शर्माले भन्नुभएको छ,‘आफ्नो देश र संसारभरी जहाँ–जहाँ छरिएर रहनुभएपनि राष्ट्रियताको एकै सूत्रमा बाँधिएर रहनुभएका सम्पूर्ण नेपाली समुदायप्रति यस अवसरमा सुख,शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रदेश प्रमुख शर्माले २०६२÷०६३ सालको वसन्त विद्रोहबाट मुलुकमा लोकतन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा यो दिवस मनाउने गरिएको उल्लेख गरे । नेपालीहरुले विभिन्न कालखण्डमा गरिएको संघर्षबाटै अधिकार प्राप्त गरेको उनको शुभकामना सन्देशमा भनिएको छ ।

‘नेपालीहरुले विभिन्न कालखण्डमा गर्दै आएका संघर्ष तथा बलिदानको उपलब्धि स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थाले उपलब्ध गराएका अधिकारको उपभोग गर्दा  हामीले गौरवबोध गर्न सक्नुपर्दछ ।’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रमुख शर्माले राष्ट्रले अवलम्बन गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको समाजवाद उन्मुख संविधानद्धारा प्रदत्त अधिकारले स्वतन्त्र नागरिक हुने अवसर प्राप्त गरेको उल्लेख गरेका छन् । शोषण, दमन र उत्पीडन विरुद्धको बलिदानपूर्ण संघर्षको जगमा स्थापित लोकतन्त्रको अर्थपूर्ण उपयोगबाट भविष्य निर्माण गर्नु हामी सबैको कर्तव्य रहेको उनको भनाई छ ।

प्रदेश प्रमुख शर्माले लोकतन्त्र दिवस मनाइरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप