बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना

आइतबार, ११ वैशाख २०७९, ०६ : २८
आइतबार, ११ वैशाख २०७९

काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्ने भएको हो ।

दुई दलबीच कैलालीमा चुनावी तालमेल गर्नेबारे वैशाख ३ गते सहमति भएको थियो । त्यसबाहेक अन्यत्र कतै पनि यी दुई दलबीच चुनावी तालमेलको सम्भावना देखिएको छैन । मधेस प्रदेशमा जसपा र लोसपाको राम्रो संगठन छ । यो प्रदेशमा १३६ पालिका छन् । ती पालिकाका एक हजार २७१ वटा वडा छन् । तीमध्ये कतै पनि जसपा र लोसपाबीच तालमेल हुने सम्भावना छैन ।

जसपाका मधेस प्रदेशसभा सदस्य विक्की यादव (सप्तरी) ले उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको बताए । यस अवस्थामा लोसपासँग कुनै पनि पालिका वा वडामा तालमेलको चर्चा समेत नभएको उनले बताए ।‘भोलि–पर्सिसम्म कुनै ठाउँमा कसैले नामै फिर्ता लिएर कसैलाई समर्थन गरे भने त्यो बेग्लै कुरा हो तर अहिलेसम्म जसपा र लोसपाबीच चुनावी तालमेलको बारेमा कहीँ कुनै चर्चा छैन,’ उनले भने ।

जसपा अहिले पाँच दलीय गठबन्धनमा छ । सत्तारुढ गठबन्धनले आपसमा तालमेल गर्ने भएको छ । महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलबीच चुनावी तालमेल केन्द्रित भागबण्डा भइसकेको छ । कतिपय नगरपालिका र गाउँपालिकामा पनि पाँच दलबीच उम्मेदवारीबारे भागबण्डा टुङ्गिएको छ ।

लोसपाले स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्न सकिने निर्णय गरेको छ । उसले कुनै दल विशेषसँग तालमेल गर्ने वा कुनै दल विशेषलाई तोकेर तालमेल नगर्ने योजना बनाएको छैन । स्थानीय तहमा कुनै दलसँग तालमेल भयो भने त्यसमा केन्द्रीय स्तरबाट लोसपाले कुनै हस्तक्षेप नगर्ने जनाइएको छ ।

लोसपाका नेता राकेश मिश्र (सर्लाही)ले भने, ‘हामीलाई केन्द्रले अधिकार दिएको छ, जुनसुकै दलसँग गठबन्धन गर्न सकिन्छ तर जसपासँग हालसम्म तालमेलबारे कुनै छलफल भएको छैन ।’ जहाँ लोसपा बलियो छ, त्यहाँ जसपा कमजोर रहेको र जहाँ जसपा बलियो छ, त्यहाँ लोसपा कमजोर रहेकाले यी दुई दलबीच चुनावी तालमेलको सम्भावना कम रहेको उनले बताए ।

जसपाबाट लोसपा अलग भएको कारण नेतृत्व तहमा केही तिक्तता भए पनि स्थानीय स्तरमा त्यस्तो तिक्तता नरहेकाले तालमेलमा खासै अप्ठ्यारो भने नरहेको उनको भनाइ छ । स्थानीय स्तरमा लोसपा र जसपाका नेताहरुबीचमा अनौपचारिक छलफल हुने गरेको तर जसपा नेपाल पाँच दलीय गठबन्धनमा रहेकाले लोसपासँग तालमेल गर्न गाह्रो भइरहेको उनले बताए ।

एकता र विभाजन हुँदै अहिलेको अवस्थामा जसपा र लोसपा नामले चिनिएका यी दुई दल २०७४ सालमा पनि अलगअलग अस्तित्वमा थिए । दलको नाम फरक भए पनि नेताहरूको समीकरण करिब करिब यसैगरी दुई दलमा विभाजित थियो । त्यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल भएको थियो । त्यसबाहेक दुई दलबीच तालमेल भएको रेकर्ड छैन ।

यसपटक त झन जसपाबाट लोसपा अलग भएका कारणले एक अर्काबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । जसपाले काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्दैछ । उता, लोसपाले एमालेसँग तालमेल गर्ने गृहकार्य सुरु गरिसकेको छ तर जसपा र लोसपाबीच कैलालीबाहेक कतै तालमेलको सुरसार छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप