शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेलाई उठाउने एमालेको निर्णय

शनिबार, १० वैशाख २०७९, २२ : १८
शनिबार, १० वैशाख २०७९

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छान्न बसेको एमालेको सचिवालय बैठकले बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको हो ।

पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आन्तरिक गतिविधिमा सक्रिय रहेका थिए । आगामी निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा दावी गर्दै आएका उनलाई गत चैत अन्तिम साता बसेको एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले मेयर पदमा सिफारिस गरेको थियो ।

उनीसँगै हेटौंडाको मेयरमा बहालवाला मेयर हरिबहादुर महत र गणेशकुमारी श्रेष्ठको नाम सिफारिस गरेको थियो । जिल्लासँगै केन्द्रीयस्तरमा समेत पौडेलको राम्रो पहुँच रहेको छ । त्यस्तै एमाले सचिवालय बैठकले हेटौंडाको उपमेयरमा सुमित्रा काफ्लेलाई टिकट दिने निर्णय गरेको छ । अखिल नेपाल महिलासंघ मकवानपुरकी अध्यक्षसमेत रहेकी काफ्ले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको रोजाइकी उम्मेदवार हुन् । काफ्लेलाई पूर्व मुख्यमन्त्री पौडेलसँगै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको पनि राम्रो समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप