शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा लफडा : मन्त्री रेणु यादवले एकलौटी गर्न खोजेको आरोप

शनिबार, १० वैशाख २०७९, २२ : ०७
शनिबार, १० वैशाख २०७९

मधेस प्रदेशमा गठबन्धन दलबीच सहमतिको प्रयास जारी रहे पनि घटक दलमा आन्तरिक किचलोका कारण अहिलेसम्म उम्मेदवारीको नाम टुङ्ग्याउन सकेको छैन । जनकपुरधाम उपमहानगरपालिका नपाएको भन्दै नेपाली काँग्रेसमा विद्रोहको अवस्था सिर्जना भएको छ भने जनता समाजवादी पार्टी नेपालमा सङ्घीय मन्त्री रेणुकुमारी यादवले टिकट वितरणमा एकलौटी गरेको भन्दै असन्तुष्टि तीव्र रहेको छ ।

जसपा नेपालको केन्द्रीय समितिले पार्टीका कार्यकारिणी सदस्य समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादव मार्फत टिकट वितरणको जिम्मा प्रदेश समितिलाई हस्तान्तरण गर्न पठाएको तर मन्त्री यादवले महोत्तरीको बर्दिवासस्थित एक होटलमा बसेर पर्सा जिल्लाको टिकट वितरण गरेको प्रदेश समिति सदस्य मनोज देवले आरोप लगाएका हुन् । जनकपुरधाम स्थित जसपाको कार्यालयमा छलफलमै रहेको बेला मन्त्री यादवले प्रदेश र जिल्ला समिति पर्सालाई जानकारी नै नदिई आफू खुसी टिकट वितरण गरेको प्रदेश सदस्य देवको आरोप छ । 

मन्त्री यादवले सप्तरी जिल्लाको स्थानीय तहको टिकट पनि आफैँले भनेको व्यक्तिलाई दिनुपर्ने भन्दै जसपा मधेस प्रदेश समितिलाई टिकट हस्तान्तरण गर्न नचाहेको आरोप उनीमाथि लगाइएको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले मन्त्री रेणु यादवले टिकट लिएर राजधानीबाट आए पनि अहिलेसम्म प्रदेश समितिमा हस्तान्तरण नगरेको बताए । मुख्यसचिव यादवले भने, ‘टिकट वहाँले आफ्नै साथमा राख्नुभएको छ ।’ टिकट वितरणमा प्रदेश समितिको अधिकारमाथि मन्त्री रेणु यादवले अनावश्यक हस्तक्षेप गरेकोले प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिने तयारी गरेको असन्तुष्ट पक्षको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप