शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

शनिबार, १० वैशाख २०७९, २१ : १३
शनिबार, १० वैशाख २०७९

नेपाल आर्मीले पुरुष/महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार वापत प्राप्त गरे । प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कास्य हासिल गरे ।

बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने । पुरुष ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पूरन सुनुवारलाई पन्छाउदै शीर्ष स्थान हात पारे । एपीएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । बाग्मती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेश्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे । मधेशका कोशिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेश्रो स्थानमा सीमित भए । पुरुष ८१ केजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बागमतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपीएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेश्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गरिन् । १३ औं साग स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपीएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेश्रो भए । महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउँदै पहिलो भइन् ।

एपीएफकी नाङजा बूढा मगर र प्रदेश १ की सुस्मिता राई कांस्यमा रोकिए । महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपीएफकी संगीता डंगाललाई पाखा लगाउदै स्वर्ण हात पारिन् । प्रदेश १ की नारिका राई तथा बागमतीकी शशिकला राई तेश्रो बने । आर्मीकी पुनम रावलले एपीएफकी विनिता थापा मगरलाई पन्छ्याउँदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन् । मधेसकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेश्रो भए ।

पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे ।  पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप