शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश: उम्मेदवार टुङ्गो लगाउन दलहरूलाई सकस

शनिबार, १० वैशाख २०७९, १९ : ३६
शनिबार, १० वैशाख २०७९

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि दलहरूको बैठक केही दिन देखि निरन्तररुपमा जारी रहेको छ । गठबन्धनको बैठकलगायत विभिन्न दलको बैठक अझैसम्म पनि जारी नै रहेकाले उम्मेदवारी छनोट अहिलेसम्म पनि हुन सकेको छैन ।

नेपाली काँग्रेससँग अन्य गठबन्धन दलको तालमेल हुन नसक्दा काँग्रेस इतरका दलहरूको बैठक अझैसम्म पनि जारी नै छ । माओवादी, जसपा र एकीकृत समाजवादीको संंयुक्त बैठक जारी नै रहेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरियाले जानकारी दिए । मधेस प्रदेशमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उम्मेदवारको नाम टुङ्ग्याउनका लागि बैठक बसेका छन् ।

काँग्रेसले मधेस प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने जनाएका छन् । मधेस प्रदेशबाट सिरहा र सर्लाही पार्टी कार्यालयले नाम सिफारिस गरेर पठाए पनि यसको टुङ्गो भने लगाउन बाँकी रहेको काँग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले जानकारी दिए । उनले अन्य जिल्लाहरूबाट पनि उम्मेदवारको नामावली पठाउने क्रम जारी रहेको बताउँदै उनले बेलुकासम्म बैठक बसेर टुङ्गो लगाउने बताए ।

यता नेपाली काँग्रेससँग अधिकांश स्थानीय तहमा गठबन्धन हुने छाटकाट नदेखिएपछि जसपा, माओवादी, एकीकृत समाजवादी भने गठबन्धन गरेर अधिकांश पालिकामा उम्मेदवारी दिने भएका छन् । यसका लागि निरन्तररुपमा तीन दलको संयुक्त बैठक जारी रहेको छ । टुङ्गो नलागे पनि सहमतिका लागि निरन्तर छलफल बहस र बैठकहरू जारी नै छ ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले जिल्लाहरूबाट उम्मेदवारको सिफारिस भएर नामावली आए पनि छनोट गर्नका लागि बैठक बसिरहेको जनाए । उनले यससँगै तीन दल र चार दलको समेत गठबन्धन बैठक निरन्तररुपमा भइरहेको बताए ।

त्यसै गरी नेकपा एमाले मधेस प्रदेश समितिको बैठक बिहानैदेखि चलिनैरहेको छ । एमालेले वीरगञ्जमा सरवगीलाई नै दिने पक्का छ । वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भइसकेको छ । तर सो बाहेक अन्य पालिकामा भने उम्मेदवारी टुङ्गो लगाउनका लागि बैठक चलिरहेको एमालेका केन्द्रिय सदस्य रामचन्द्र मण्डलले बताए ।

त्यस्तै लोसपाले काठमाण्डौ स्थित केन्द्रिय कार्यालयबाटै १३६ वटा पालिकाको नाम टुङ्गो लगाएका छन् । केही पालिकामा एमालेसँग गठबन्धन हुने जनाइएको छ । सोको बारेमा छलफल भइरहेको जनाइएको छ ।

त्यस्तै जनमत पार्टीले पनि मधेस प्रदेशका अधिकांश पालिकामा उम्मेदवारी दिने भएको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले दिएको जानकारी अनुसार मधेस प्रदेशको सबै पालिकामा उम्मेदवारको टुङ्गो लागेको बताए ।

सत्तारुढ गठबन्धन र एमाले, लोसपा, राप्रपालगायतका दलहरूको बैठक जारी नै रहेकाले भोलि बिहानसम्म उम्मेदवार टुङ्गोमा पुग्न सक्ने नेताहरूको भनाई छ ।

मधेस प्रदेशका ८ वटै जिल्लाबाट अधिकांश जनप्रतिनिधिहरूले पुनः दोहोर्‍याउनका लागि राजीनामा दिएका छन् । मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ वटा पालिका छन् । ती मध्ये वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिताकुमार मिश्र, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलगायतकाले राजीनामा दिई पुनः आकाङ्क्षी छन् ।

१३६ पालिका मध्ये करिब ३५ वटा पालिकाका जनप्रतिनिधिहरूले सहितकाले राजीनामा दिएका हुन् । पालिकामा जनप्रतिनिधिहरूले राजीनामा गरिरहँदा दलहरू भने उम्मेदवार छनोट प्रक्रियामा छन् ।

महानगरपालिका, उपमहानगरपालिका र पालिकामा दोहोर्‍याउने भएका छन् । वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेबाट विजय सरावगी, जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट लालकिशोर साहले उम्मेदवार दिने प्रबल सम्भावना रहेको जनाइएको छ । तर उनको उम्मेदवारीको टुङ्गो भने लागि सकेको छैन । आइतबारदेखि दुई दिनसम्म मनोनयन दर्ता गर्ने समय अघि शनिबार दलहरू आ–आफ्ना पार्टी कार्यालयमा उम्मेदवारी छनोटका लागि बैठक बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप