आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जित्नकै लागि भएको सिद्धान्तहीन गठबन्धन गलत : प्रजापति

शनिबार, १० वैशाख २०७९, १९ : २४
शनिबार, १० वैशाख २०७९

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन् । निर्वाचन सिद्धान्त र विचारको लडाई भएको भन्दै तर ठूला राजनीति दलहरूले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताएका हुन् । 

निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणापत्रको लडाई हो भने राजनीतिशास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए । राजनीति देश र जनताको सेवाका लागि हुनुपर्नेमा राजनीतिलाई ती ठूला दलहरूले पैसा कमाउन माध्यम बनाएको आरोप लगाए । 

सेवा निवृत्त शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विचार र सिद्धान्त फरक भए पनि जित्नकै लागि भागबन्डा हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले ती दलहरू सिद्धान्त र विचारको लडाई नभई निर्वाचनलाई भाग पाउने रूपमा लिएको भन्दै रोष प्रकट गरे । 

राजनीति भागबन्डामा सीमित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । निर्वाचनसँगै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर ठूला राजनीतिक दलहरूले गठबन्धन गरेको भन्दै उनले ती दलहरू भागबन्डामा सीमित भएको उनले बताए । 

एमसीसीको विरोध गर्ने संसद्मा आफ्नो पार्टी नेपाल मजदुर किसान पार्टी मात्रै रहेको स्मरण गर्दै उनले मन्त्रीलेसमेत अध्ययन नै नगरेर एमसीसी सम्झौता पारित गरेको आरोप लगाए । संयुक्त राष्ट्र सङ्घमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गर्नु गलत भएको भन्दै युक्रेन नेटोको सदस्य नबनोस् र युक्रेनको सैनिकीकरण बन्द गराउन रसियाले युक्रेनमाथि आक्रमण गरेको भनाइ राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप