शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

'दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको'

दलको केन्द्रीय कमिटीले निर्णय गरेर हटाउन सक्छ
शनिबार, १० वैशाख २०७९, १९ : १६
शनिबार, १० वैशाख २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरू सोही दलको जनप्रतिनिधि हुने प्रस्टाएका हुन् । 

तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरू निर्वाचित भए भने उनीहरू स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले स्मरण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,  ‘हाम्रो स्थानीय तह निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन । अव हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । त्यसकारण हामी के बुझ्दछौँ भने–यदि कोही व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ । अव त्यो उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको त्यहाँ पार्टीमा के हैसियत छ ? भन्ने विषय आयोगको विषय होइन । त्यसकारण जुन चिन्हबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ । त्यही दलको हो भन्ने निधो हुन्छ । तर, यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार भएर स्वतन्त्र चिन्हबाट उसले निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट निर्वाचित पदाधिकारीले त्यो दल त्याग गरेर अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरीत कार्य गरेको भनी त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाई दिनुपर्‍यो भनेर आयोगले आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिन भित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलबाट निर्वाचित जनप्रतिनिधिले सो दल त्याग गरेमा वा त्यो दलले गर्नुपर्ने भन्दा विपरीत काम गरेमा त्यो दलको केन्द्रीय कमिटीले हटाउनका लागि निवेदन दिएमा १५ दिन भित्र सो पद रिक्त रहेको घोषणा गर्ने अधिकार आयोगलाई रहेको पनि बताए । उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरण सम्पन्न गराउने काममा आम सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आयोग विश्वस्त रहेको पनि पटकपटक दोहोराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप