मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

शनिबार, १० वैशाख २०७९, १६ : ३३
शनिबार, १० वैशाख २०७९

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरस्थित सडकमा प्र.१-०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१-०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा दुवै मोटरसाइकल सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँ बस्ने २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता मोरङको पथरी शनिश्चरे नगरपालिका-३ आइतबारेस्थित सडकमा को.२ त २८३२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री रतुवामाई नगरपालिका-२ ईटहरा बस्ने ४२ वर्षीय दिनेश भण्डारीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलवारे उर्लावारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै दैलेखको आठबिस नगरपालिका-९ पत्थर गाडे भन्ने स्थानमा क.प्र.२-०३-००१ त ४९५९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको चक्काले किच्दा सोही ठाउँ बस्ने बल बहादुर बिकको छोरा १३ वर्षीय तपेन्द्रबहादुर बिकको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप