बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेटौंडाका आठ वडाअध्यक्षसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

शनिबार, १० वैशाख २०७९, ११ : ४०
शनिबार, १० वैशाख २०७९

आगामी निर्वाचनमा पुनः उम्मेदवार हुने भएपछि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडा अध्यक्षहरू र वडा सदस्यहरुले राजीनामा दिएका हुन् । पुनः उम्मेदवार बन्नका लागि निर्वाचन आयोगले जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने कार्यविधि बनाएसँगै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडाअध्यक्ष र सदस्यहरुले राजीनामा दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । हेटौंडा उपमहानगरपालिका ८ जना वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिने वडा अध्यक्षहरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का हरि राउत, वडा नम्बर–३ का रामकुमार पुडासैनी, वडा नम्बर–४ का नविन सिग्देल, वडा नम्बर–७ का राजन थापा, वडा नम्बर–९ का लक्ष्मण भण्डारी, वडा नम्बर–१२ का ललित घलान, वडा नम्बर–१४ का दीपक खड्का र वडा नम्बर–१८ का अनिल बानियाँ रहेका छन् ।

२०७४ सालको निर्वाचनमा हेटौंडा–२, ३, ४, ७, ९ र १८ का वडा अध्यक्षहरू एमालेबाट निर्वाचित भएका थिए भने आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरुको नाम सिफारिसमा परेको छ । यद्यपि उनीहरु नै उम्मेदवार हुनेबारे भने निर्णय भइसकेको छैन ।

हेटौैंडा–२ का राउत, हेटौंडा–४ का सिग्देल, हेटौंडा–७ का थापा र हेटौंडा–१८ का बानियाँलाई एमालेले पुनः वडा अध्यक्ष पदमा उठाउने सर्वसम्मत निर्णय गरेर जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो भने हेटौंडा–३ मा वडा अध्यक्ष पुडासैनीसहित परेशमान विडारी र कल्पना लामाको नाम सिफारिसमा परेको छ । हेटौंडा–९ मा वडा अध्यक्ष भण्डारीसहित नरेन्द्र भण्डारी र गोमा शाहको नाम सिफारिसमा परेको छ ।

त्यस्तै हेटौंडा–१२ र १४ का वडा अध्यक्ष घलान र खड्का २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडा अध्यक्ष खड्का हाल एमालेमा आवद्ध छन् भने घलान माओवादी केन्द्रमा नै छन् । घलान र खड्का दुवैको नाम पुनः वडा अध्यक्षमा सर्वसम्मत सिफारिसमा परेको छ । उनीहरुको उम्मेदवारीको अन्तिम निर्णय भने भइसकेका छैन ।

यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत भोली र पर्सी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप