शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा अनुहारको स्याहार यसरी गरौँ

शनिबार, १० वैशाख २०७९, ११ : २९
शनिबार, १० वैशाख २०७९

आफ्नो अनुहारलाई सफा र आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । तर मौसम अनुसार अनुहारको स्याहार गर्न नजान्दा कतिपयलाई समस्या भइरहेको हुन सक्छ । मौसम अनुसार अनुहारको स्याहार गर्ने तरिका फरकफरक हुन्छ ।

गर्मी मौसममा पसिना आउने भएकाले अनुहारको स्याहारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । पसिनाले गर्दा मेकअप बिग्रिनेदेखि छालामा असर पुर्‍याउने सम्भावना अधिक हुन्छ । गर्मी याममा अनुहारमा छिद्र खुल्ने र त्यसमा फोहोर जाने सम्भावना हुने भएकाले विशेष ख्याल गर्नुपर्ने छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्रेष्ठको भनाइ छ । उनका अनुसार गर्मी याममा अनुहारलाई ख्याल गर्न ‘डे सन ब्लक’ र ‘नाइट क्रिम’को प्रयोग गर्नुपर्छ । रोम छिद्रमा फोहोर जम्मा हुन सक्ने भएकाले बेलाबेलामा क्लिन्जिङसमेत गर्नुपर्ने उनले बताइन् ।

गर्मीमा अनुहारलाई सफा र राम्रो राख्न अर्थात् चाया, पोतो, डण्डीफोर आउन नदिन पनि क्रिम, मोइस्चराइजर  प्रयोग गर्नुपर्ने उनको भनाइ छ । तर गर्मी याममा अनुहारलाई सुरक्षित राख्ने नाममा जुन पायो त्यही क्रिम, सन ब्लक, फाउन्डेसनको प्रयोग गर्दा विभिन्न समस्या आउन सक्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।

घामबाट अनुहारलाई जोगाउन विभिन्न विधि प्रयोग गरिन्छ । जसमध्ये अनुहारलाई राम्रो अर्थात् स्वच्छ राख्न ‘सन ब्लक’ र ‘नाइट क्रिम’ प्रयोग गर्नेबारे धेरैले त्यति ध्यान दिएको पाइँदैन । कतिपयलाई त आफ्नो छालामा कस्तो खालको ‘सन ब्लक’, क्रिमहरू प्रयोग गर्ने भन्नेबारे ज्ञान नहुन सक्छ ।

विशेषज्ञका अनुसार सामान्यतया अनुहारको छाला अनुसार ‘सन ब्लक’ प्रयोग गर्नुपर्छ । तेलीय छाला, तेलीय सामान्य किसिमको छाला, सामान्य छाला र धेरै सुक्खा छाला गरी सामान्यतया चार प्रकारको छाला हुन्छ । घरमै बसेर सामान्य तरिकाबाट आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ ।

फेसवासले अनुहार धोएर एक छिनसम्म मोइस्चाइजर नलगाईकन सुक्खा छाडिदिँदा अनुहारको सबै भागबाट चिल्लो निस्कन्छ वा कुनै कुनै भागबाट मात्रै चिल्लो पदार्थ आउँछ भने कम्बिनेसन स्किन हो भन्ने बुझ्नु पर्छ । अनुहारबाट धेरै चिल्लो पदार्थ आएको खण्डमा तेलीय छाला अर्थात् ओइली स्किन भनेर बुझ्नुपर्छ ।

यस्तै, केही पनि हुँदैन अर्थात् अनुहार सामान्य नै रहन्छ भने आफ्नो छाला सामान्य भनेर बुझ्नुपर्छ । मुख धोएको एक छिनपछि छाला कसिलो र कक्रक्क हुन्छ भने सुक्खा छाला भनेर बुझ्नुपर्छ ।

घामबाट जोगिन ‘सन ब्लक’ प्रयोग गर्दा पनि ध्यान दिन आवश्यक हुने विशेषज्ञ बताउँछन् । उनीहरूका अनुसार आफ्नो अनुहारको छालाको प्रकार थाहा पाएर ‘सन ब्लक’ प्रयोग गरेको खण्डमा अनुहारलाई घामबाट जोगाउन तथा प्राकृतिक अनुहार बनाउन सकिन्छ ।

छाला रोग विशेषज्ञ श्रेष्ठका अनुसार अनुहारमा चिल्लो बढी आउनेहरूले जेल बेसमा उत्पादन भएका मोइस्चराइजर प्रयोग  गर्नुपर्छ । यस्तै, गर्मी याममा जेल बेसमै उत्पादन भएका मोइस्चराइजरमा आक्को जेल भनेर उल्लेख गरिएका जेलको प्रयोग उनले सुझाव दिइन् ।

तर, जाडो मौसममा भने मध्यमखालका जेल बेसका क्रिमहरू प्रयोग गर्न उनको सुझाव छ । गर्मी मौसममा ‘सन क्रिम’सँगै नचम्किने र नलतपतिने खालको मेकअप गर्नुपर्छ । गर्मीमा लिपिस्टिक प्रयोग गर्दा नबग्ने खालको रोज्नुपर्ने वाटरप्रुफ आइलाइनर तथा मस्काराको प्रयोग गर्दा उपयुक्त हुने उनले बताइन् । गर्मीमा खानपानमा नियमित ध्यान दिनुपर्छ । यस्तै, नियमित शारीरिक अभ्यास गर्नुका साथै प्रशस्त मात्रा पानी पिउने र रसयुक्त खाने कुरामा जोड दिनुपर्ने उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप