मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

त्रिविका वरिष्ठ गुरुहरूको प्रहारले नेपाली लेखाइमा लाजमर्दो अराजकता फैलियो : प्रा मुकुन्दशरण उपाध्याय

‘भाषिक मान्यता स्थापित गराउन एक्लो वृहस्पति भएको छु’
शनिबार, १० वैशाख २०७९, १० : १४
शनिबार, १० वैशाख २०७९

मुकुन्दशरण उपाध्याय नेपाली भाषा–व्याकरणको छुट्टै धार लिएर निरन्तर अध्ययन अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् । १९९७ वैशाख ५ गते पोखराको हेम्जामा जन्मिएका उनी संस्कृत अध्ययनका लागि भारतको वृन्दावन गई तत्कालीन काशी युनिभर्सिटी (अहिलेको सम्पूर्णानन्द विश्वविद्यालय) बाट संस्कृतमा आचार्य गरी २०२१ सालमा नेपाल फर्किएका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट संस्कृतमा स्नातकोत्तर गरी हेम्जा फर्किएर गौरीशङ्कर मिडिल स्कुलमा पढाउन सुरु गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाटै नेपालीमा एमए गरेर २०२५ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गर्न थाले । करिब ३२ वर्ष सोही क्याम्पसमा अध्यापन गरेर जागिरबाट निवृत्त भए । 

प्राकृत पोखरा (२०२१) खण्डकाव्यका लागि मदन पुरस्कार प्राप्त गरेका उपाध्यायले भाषा व्याकरणका अतिरिक्त उपन्यास, समालोचना, निबन्ध आदिमा पनि कलम चलाएका छन् । उनका प्रकाशित कृतिहरूमा ‘वरदान’ (उपन्यास २०१७), ‘महाभारत सूक्तिसुधा’ (२०२६), ‘धर्ती र अकाश’ (कविता सङ्ग्रह, २०३४) ‘शैल सरिता’ (संस्कृत कविता सङ्ग्रह, २०३४), ‘महेन्द्रालङ्कार’ (काव्यशास्त्र २०१८), ‘निम्बार्क चरितम्’ (संस्कृत, खण्डकाव्य) २०१६, शरणागतिशतकम् (२०१८) ‘प्रस्तावना र विवेचना’ (व्याकरण, २०४३), ‘केलादी घाट’ (तीर्थपरिचय, २०२२), ‘सरल नेपाली : शुद्ध नेपाली (२०४५), ‘अक्षर प्रज्ञा’ (वर्णविन्यास विज्ञान र व्याकरण, २०४७), पद्य–प्रभा (पद्यभाषा को हिज्जे व्याकरण) २०६४, ‘व्याकरण चिन्तन’ (२०६८), नारायणकवच (२०१५) आदि आदि छन् । उनको ‘झगडाको ओखती’ बालकथा निकै चर्चित छ । यसको बङ्गाली अनुवाद बङ्गलादेशको पाठ्यक्रममा पनि राखिएको छ ।

भाषा, व्याकरण र साहित्यमा जीवन समर्पित गरेका उपाध्यायलाई सरकार र विभिन्न सङ्घसंस्थाले सम्मान पनि गरेका छन् । उनले प्राकृत पोखरा खण्डकाव्यका लागि २०२१ को मदन पुरस्कार, ‘निम्बार्क चरितम्’ का लागि अखिल भारतीय संस्कृत पुरस्कार, (२०१६), महाकवि गुणराज पुरस्कार (२०४७) र महाकवि देवकोटा पदक आदि विविध सम्मान प्राप्त गरेका छन् । प्राकृत पोखराको संस्कृतमा अनुवाद भएर प्रकाशित पनि भएको छ । प्रस्तुत छ भाषासेवी प्रा मुकुन्दशरण उपाध्यायसँग मोहन दाहालले व्याकरण चिन्तन र जीवनका विविध आयामबारे गरेको कुराकानी  :

–आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अधूरा पुस्तकहरू पूरा गर्ने प्रयत्नमा छु । पचास वर्षअघि २५ सर्ग लेखिसकेको एउटा महाकाव्य छ । त्यो पूरा गर्नुछ । त्यस्तै दुइटा संस्कृत महाकाव्य पनि अपूरै छन् । ती सबै पूरा गर्न सकिए हुन्थ्यो भन्ने लागिरहन्छ । तिनमा पनि दृष्टि दिने प्रयास गर्छु र भाषासम्बन्धी आफ्ना दृष्टिकोण पनि यदाकदा सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने गर्छु । त्यसमा धेरैले आआफ्ना विचारहरू दिन्छन्, प्रश्न गर्छन् यथासम्भव जबाफ दिने गर्छु । कहिलेकाहीँ संस्कृति र अन्य विषयसम्बन्धी विचार पनि सञ्जालमा प्रस्तुत गर्छु । मेरो संलग्नतामा यहाँ राजधानीमा एउटा र पोखरामा एउटा गुरुकुलको स्थापना र सञ्चालनमा अविश्रान्त लागिरहेको अर्को पाटो पनि छ ।

–यहाँको शिक्षादीक्षा चाहिँ कसरी अगाडि बढ्यो ? 

मेरो अक्षरारम्भ मेरा पिताजी श्री दशरथ उपाध्यायका काखमा बसेर भएको हो र औपचारिक शिक्षा पोखरास्थित  गुरुकुल आश्रममा भएको हो । मलाई अहिले पनि गुरुकुलीय पद्धतिमा गहिरो आस्था छ । मैले उच्च शिक्षा पनि गुरुकुलीय शैलीमै भारतको वृन्दावनमा लिएको हुँ । मभित्र भाषिक चेतना र मातृभाषा नेपालीप्रति विशेष प्रेम र आस्था वृन्दावनमै पलाएको हो । वृन्दावनमा म जहाँ अध्ययन गर्थें त्यहाँ हिन्दी भाषाका तुलनामा नेपाली भाषा त केही पनि होइन भन्ने अध्यापक पनि थिए, त्यस्ता कुरा सुन्नुपर्दा मेरो किशोर मन अत्यन्त विचलित र व्याकुल पनि बन्थ्यो । म कलिलै थिएँ र मभित्र  त्यहाँका अध्यापकले नेपाली भाषाप्रति गलत कुरा गर्दा भन्न मनलाग्थ्यो “हन्दीमा भन्दा नेपालीमा कैयौँ गुणा राम्रा शब्द छन् र हामीसँग शब्द सङ्ख्या पनि ठूलो छ ।” त्यो समय जोस पनि हुन्थ्यो र कहिलेकाहीँ हिन्दीपक्षधर साथीहरूसँग झगडा पनि पर्थ्यो । तर राष्ट्रभाषाप्रतिको त्यो स्वाभिमानमा हाम्रा त्रिविका गुरुहरूले त जगै हँसाउने गरी उर्दी जारी गरेर चोट पारिदिनुभयो ।

–नेपाली भाषामा देखिएको अराजकताको कुरा आएको छ, यहाँले भनेको अराजकता कस्तो हो ? 

त्यो यथार्थ हो २०३४ सालसम्म नेपाली हिज्जे प्रायः निर्विवाद नै थियो ०३४ सालमा त्रिविका वरिष्ठ गुरुहरूले भइरहेको व्याकरणमा हात हाल्नुभयो र आगन्तुक र तद्भव शब्दमाथि एक प्रकारले हमला नै गरिदिनुभयो । जसले गर्दा अहिले नेपाली लेखाइमा लाजमर्दो अराजकता पैmलिएको अवस्था छ । कस्तो भएको छ भने त्यसबेला लेखिँदै आएका शहर, शहीद, शेयर, होश, जोश, स्कूल, कानून, करीब, गरीब आदि असङ्ख्य शब्दमा भइरहेको शुद्धता नै भताभुङ्ग भएको छ । नेपाली भाषा अन्तर्राष्ट्रिय भाषिक जगतबाटै टुक्रिन पर्ने भयावह स्थिति छ । त्यही अशुद्धता पनि फेरि एकैचोटि सबैथरी शिक्षण संस्थामा लागू नगरेर त्रिविका कक्षाहरूमा मात्र लागू गरिएकाले कतै शहीद लेख्न सिकाइने र कतै सहिद लेख्न सिकाइनेसम्मका अवस्था हामीले भोगेका छौँ । यसरी एउटै भाषाको हिज्जे कतै एकथरी र कतै अर्कोथरी पढाइन्छ भने अब यसलाई के भन्ने ? अराजकता भन्ने कि सुव्यवस्था ? एउटै भाषामा, एउटै देशमा, एउटै शिक्षा विभागले चलाएका विद्यालय, विश्वविद्यालयहरूमा हिज्जेको जथाभावी प्रयोग भएको छ । वास्तवमा यो अराजकता शब्द पनि अहिलेको स्थितिलाई बुझाउन कमजोर हुन्छ । यसबाट मलाई साह्रै पीडा भयो र मैले आफ्ना विचारहरू राख्दै आएको हुँ । 

–हिज्जे लेखनमा तपाईंका खास मान्यता के–के हुन्, छोटकरीमा भनिदिन मिल्छ ?

विश्वमा के भइरहन्छ भने भिन्न भिन्न भाषाहरूबीच आपसमा शब्दहरूको आदान प्रदान हुन्छ । जस्तै सहर फारसी शब्द हो र कानुन अरबी शब्द हो । स्कुल अङ्ग्रेजी शब्द हो र कैँची तुर्केली शब्द हो । आफ्नै देशभित्रका पनि कैयौँ शब्द नेपाली भाषालाई सघाउन आइरहेका छन् उदाहरणका लागि रोदी शब्द र क्वाँटी शब्दलाई मात्रै लिए पुग्छ । यस्ता अनेकौँ शब्दले हाम्रो राष्ट्रभाषा सम्पन्न भएको छ सिँगारिएको छ तर हामी भने आगन्तुक शब्दहरूको मानमर्दन गर्नमै बहादुरी ठानिरहेछौँ । म आगन्तुक शब्दलाई ससम्मान प्रयोग गरौँ भनेर कराइरहेछु । हाम्रै दिदी र दाइ शब्दकै कुरा गरौँ यी दुई शब्दमध्ये दिदी शब्द अहिले भारतका धेरै भाषामा चल्न थालेको देखिएको छ तर हामीले दाबी गरेका छैनौँ । म दाबी गर्नुपर्छ भनिरहेछु । कसरी भने हिन्दीमा दिदी र दाइ बुझाउने शब्द छैनन्, बडाभाइ शब्द त छ तर त्यो जोरजाम मात्र हो । यसका लागि हाम्रो मन र कर्म पनि फराकिलो हुनुपर्छ । अङ्ग्रेजहरू सकभर आगन्तुक शब्दलाई अनादर गर्दैनन् । उदाहरणका लागि हिन्दीबाट लगेको ‘घी’ शब्दको दीर्घमात्रालाई उनीहरूले जस्ताको तस्तै आफ्ना कोशहरूमा राखेका छन् । यो उदारता वा महानता हामीमा पनि हुनुपर्छ र आगन्तुक शब्दको स्वरूपलाई सकेसम्म हामीले भत्काउन हुँदैन । कुनै पनि शब्द जन्मिँदा त्यसका केही प्रक्रिया हुन्छन्, चाहे फारसी, अरबी वा अङ्ग्रेजी नै किन नहोस् शब्द बन्दा त्यसका केही प्रक्रिया हुन्छन् । संस्कृत भाषाका शब्दहरू बन्दा पनि केही प्रक्रियाहरू हुन्छन् । त्यसलाई हामीले भत्काउनु हुँदैन । भत्काउन थाल्दा समेलिनसक्नु भइदिन्छ र भाषा नै रोगाउन थाल्छ । नेपाली भाषामा अहिले यही भइरहेको छ । नेपाली भाषा रोगाउनु भनेको नेपालीभाषी जाति नै रोगाउन थाल्नु हो । 

अहिले यही समस्या तद्भव शब्दका सन्दर्भमा पनि उपस्थित भएको छ । तद्भव शब्दमा पनि ठूलो अतिक्रमण भएको छ । दीर्घ हुनुपर्ने शब्दहरू बलात् ह्रस्व तुल्याएका छन् । उदाहरणमा दूध, भूल, जून, र बीस, पच्चीस, तीस आदि यी सबै शब्दको दीर्घ मात्रा खोसिएको छ । सार्वनामिक शब्द पनि जस्तो हुनु पर्ने हो त्यस्तो हुन पाइरहेका छैनन् । नेपाली शब्दहरूमाथि धेरै ठूलो थिचोमिचो भएको छ ।

उक्त आगन्तुक र तद्भव शब्दमा दार्जिलिङले आजसम्म पनि अन्याय गरेको छैन । गोहाटी र सिलाङ, सिलिगुडी र सिक्किम पनि अहिलेसम्म ठेगानमै छन् । तर नेपालमा यी शब्दहरूले ठूलो अव्यवस्था भोगिरहेका छन् । 

यी कुराको मैले कारणसहित खण्डन गरेको छु । खुशी मोटो श लेख्नुपर्छ भनेको छु । शेयर मोटो श लेखेको लेखौँ भनेको छु, चार दशकदेखि एकोहोरो लागिरहेको छु ।  

–यहाँले विभक्ति नजोड्ने कुरा पनि उठाउनु भएको छ तर त्यो किन आवश्यक पर्‍यो र ?

भाषामा शब्दकोशको पनि एउटा विज्ञान हुन्छ । त्यो के भने शब्दकोशले एउटा डिकोभित्र आउने अक्षरहरूलाई एउटा शब्द मानेर अर्थ दिने गर्दछ । हाम्रा कुनै पनि कोशमा विभक्तिसहितको शब्द दिइएको हुँदैन । अर्कातिर हाम्रा साहित्यमा  विभक्ति नटाँसिएको शब्द हुँदैन भने यस्तो अवस्थामा कसरी सामञ्जस्य हुन्छ । विभक्ति जोडेर लेखिएको शब्दलाई हाम्रा शब्दकोशमा कहाँनेर खोज्ने र कसरी अथ्र्याउने । हाम्रा व्याकरणको यो असाधारण त्रुटि हो । यसै भएर मैले २०१७ सालमा छापिएको वरदान उपन्यासमा विभक्ति र नामयोगी शब्द पृथक् लेख्ने आँट गरेको हुँ । तर के पनि बिर्सन हुँदैन सर्वनामवाची शब्दमा मैले विभक्ति जोड्ने कुरा पनि भनिरहेको छु ।

–त्रिवि र प्रज्ञा प्रतिष्ठानले आगन्तुक शब्द मानेर सहर, सेयर आदिमा दन्त्य सकार लेख्ने नियम बनाइएको हो भनिरहेका छन् नि ?

पहिलो कुरा त हामी नेपालीले दन्त्य सकार नै बोल्छौँ भन्ने कुनै आधार छैन । अर्को कुरा आगन्तुक शब्द जहाँबाट आएका हुन् उनीहरूले उतैको हिज्जे बोकेर आएका हुन्छन् । यसैले हामीले यस्तो र उस्तो उच्चारण हुन्छ भन्ने नैतिक धरातल नै बनाइसकेका छैनौँ । नैतिक धरातल बनाउनलाई त हामीले आफ्नै शब्दमा त्यो लागू गर्न सक्नुपथ्र्यो र एकार बोलिने ‘एस, तेस, एता, तेता एसरी, तेसरी’ आदिलाई नभत्काउनुपथ्र्यो । मैले आगन्तुक शब्दलाई अतिथि शब्द पनि भन्ने गरेको छु । के हामी अतिथिको भौतिक स्वरूपलाई नेपाली शैलीमा ल्याउन भनेर गोरो छाला भए कालो, कालो भए गोरो बनाउने, अग्लो भए होचो र होचो भए अग्लो बनाउनेजस्ता काम गर्न सक्छौँ त ? सक्दैनौँ । यसै भएर आगन्तुक शब्दका लागि मैले भन्दै आएको छु यी अन्तर्राष्ट्रिय शब्द हुन् । यसर्थ यिनको प्रयोग पाकिस्तान, बङ्गलादेश र भारतमा अथवा हाम्रै देशका मैथिली, नेवारी, माडवारी र अबधी, भोजपुरी आदिमा जसरी गरिन्छ नेपालीमा पनि त्यसरी नै गरिनुपर्छ ।

–हिज्जेमा सरलता ल्याउन नेपाली नियम बनाएको भन्छन् नि भाषाका विद्वान्हरू ?

केही विद्वान्ले बहुमतको आधारमा नेपाली नियम बनायौँ भनिदिँदैमा त्यो नियम हुन्छ र ? नियम शब्दको व्युत्पत्तिविज्ञानको आधारमा हुनुपर्छ ।  उदाहरणका लागि जस्तै संस्कृतको इमानि शब्दको आधारमा बनेको इनी शब्दलाई केही विद्वान्ले यिनी बनाइदिए उनीहरूले आजदेखि हामीले इमानिको स्वर इकारलाई यकार भएको यिकारमा परिणत गरिदियौँ । भनेपछि त्यो नियम हुन्छ कि के हुन्छ ? यस्तै जथाभावी कुरालाई नियम भनेर तोकिएको छ अहिले । दृष्टान्त दिन थाल्दा धेरै लामो होला । 

भाषा भनेको विज्ञान हो । यो विज्ञान सम्मत हुनै पर्छ । विज्ञान र दर्शन यस्ता विषय हुन् जसलाई भीडले होइन एकाग्र चिन्तनबाट निष्कर्षमा लानुपर्छ । अहिलेका पढाइने हाम्रा व्याकरणहरू त्यसरी तयार गरिएका होइनन्, यसर्थ तिनलाई नियम मान्न मिल्दैन ।

–तपाईंका यी मान्यता स्थापित हुने सम्भावना छ त ? 

स्थापित हुन्छन् भनेर नै यसमा जीवन समर्पित गरिरहेछु । यो लागू नगर्दा नेपाली भाषा भाषा नै रहँदैन । रह्यो भने केवल त्रिवि भाषिकामा परिणत भएर वा दीर्घरोगी भएर केही वर्ष रहला । तर भाषा नै भएर दीर्घकालतक रहने सम्भावना छैन । त्यसका लागि सबैले प्रयास गर्नुपर्छ । यी भाषिक मान्यता स्थापित गराउन अहिले एक्लो वृहस्पती भएको छु । तर अबका अध्येताहरू त्यसरी अलमलिएर बसिरहलान् जस्तो मलाई लाग्दैन । गहन अध्ययन गर्छन् भनेर नै म यसमा लागिरहेछु । यसर्थ अब विस्तारै यी मान्यता स्थापित हुँदै जानेछन् र नेपाली नयाँ व्याकरणको अभ्यास सुरु गर्नेछ । कतिपय नियमहरू त प्रयोगमा पनि आइसकेका छन्, आउन थालेका छन् । मलाई विश्वास छ तपाईंको पत्रिकाले पनि यस विचारलाई चाँडै नै अपनाउने छ ।

–तपाईंले उठाउँदै आउनुभएका वर्णविन्यासका मान्यताहरू पहिले पनि प्रचलनमा थिए ? 

कति थिए कति थिएनन् तर धेरैजसो शब्द थिए । २०३४ को भाषागोष्ठीले बनाएको नीति बालकृष्ण पोखरेलको संयोजनमा र विद्वद्वर डा. वासुदेव त्रिपाठीको सम्पादकत्वमा २०४० मा प्रज्ञाप्रतिष्ठानले छापेको नेपाली बृहत् शब्दकोशमार्पmत परम्परागत असङ्ख्य शब्दहरू विस्थापित हुनपुगेका हुन् । उहाँहरू दुवै असाधारण विद्वान् हुँदाहुँदै पनि दुर्भाग्यवश नेपाली भाषाको इतिहासमा यो असाधारण दुर्घटना हुन गएको हो । तर ०३४ सालको दुर्घटना बालकृष्ण गुरुको आग्रहमा भए पनि उहाँले जीवनका अन्तिम वर्षहरूमा पत्रपत्रिकाहरूमै वक्तव्य दिएर “मबाट नेपाली भाषामा अक्षम्य अपराध हुन गएकोछ” भन्न सक्नुभयो । 

–०३४ सालको गोष्ठीमा तपाईंका मान्यतालाई समर्थन गर्ने पनि कोही थिए कि एक्लै यसमा लागिरहनुभयो ? 

त्यतिबेला केही समर्थकहरू पनि हुनुहुन्थ्यो तर उहाँहरू खुलेर बोल्न सक्नुभएन । २०३४ मा म पृथ्वीनारायण क्याम्पस, पोखरामा थिएँ र अस्थायी थिएँ । पछि मलाई स्थायी गराउनेहरू बालकृष्ण गुरुहरू नै थिए होलान् । यद्यपि मेरो सहित्यिक यात्रामा भने यस घटनाले ठूलो क्षति बेहोर्नुपर्‍यो । तर आज उक्त मेरा मान्यताको प्रयोग धेरैले गरेका छन् । जगदीश शमशेर राणाले नरसिंह अवतार भन्ने कृतिमा मदन पुरस्कार पनि पाउनुभएको हो, उहाँले पनि आफ्नो सुप्रसिद्ध उपन्यास ‘सेतो ख्याक’  लगायत धेरै कृतिमा ससम्मान प्रयोग गर्नुभएको छ । ‘सेतो ख्याक’  विमोचन कार्यक्रममा कमल दीक्षितले ‘विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठनको भाषालाई छोडेर मुकुन्दशरणको भाषिक मान्यतालाई अपनाएर तपाईं ठूलो साहस गरेको’ भनेर जगदीश शमशेरको प्रशंसासमेत गर्नुभयो । त्यतिबेला मोहन कोइराला प्रज्ञा प्रतिष्ठानमा उपकुलपति हुनुहुन्थ्यो । यस घटनालाई प्रतिष्ठित पत्रकार दुर्गानाथ शर्माले कान्तिपुरमा ‘सेतो ख्याक र मुकुन्दशरणको व्याकरण’ शीर्षकमा एउटा लेखै निकाल्नुभयो । भाषाका कारण सेतो ख्याक र सेतो ख्याकका कारण मेरो भाषिक अभियान दुवैको ख्याति बढेको भनेर राष्ट्रकवि माधव घिमिरेले नै लेखनाथ जयन्तीको समारोहमा भन्नुभयो । यी कुराले सत्यको जित हुँदो रहेछ भन्ने ठान्ने गरेको छु ।

अहिले त सेतो ख्याक मात्र होइन साहित्य सौगात त्रैमासिक पत्रिकाले, गण्डकी प्रभा पत्रिकाले क्यानडाबाट प्रकाशित हुने चौतारी पत्रिकाले पनि मेरा मान्यताहरूको प्रयोग गर्दै आएका छन् । यस्तै मंगल कुमार नेपालको संस्कृत व्याकरण प्रकाश कृतिमा र कविताञ्जलिमा लक्ष्मीशरण उपाध्यायले पनि यो मान्यता अपनाउनु भएको छ । उत्तराध्यायन सूत्र लगायत चार थान पुस्तकमा प्राडा नारायणप्रसाद अधिकारीले, श्रीमद्भागवत्गीताको नेपाली मा अनुवाद गर्दा मुक्तिनाथ शर्मा न्यौपानेले पनि मेरा प्रस्तावहरूलाई प्रयोग गरेका छन् । कवि निष्प्रभ सजीले ‘भूपरिवेष्टित खुट्टा’ नामक प्रसिद्ध कृतिमा पनि मेरा प्रस्तावहरू पूरै अपनाएका छन् । यस्तै दीनदयाल रेग्मीले ‘नेपाली व्याकरणका दुई धारको चिरफार’ भन्ने शीर्षकमा एमफिलमा शोधपत्र नै लेखेका छन् । अपर्णा पोखरेलले नेपाली वर्णविन्यासमा पदयोग र पदवियोगको समस्या शीर्षकमा स्नातकोत्तरको शोधपत्र नै तयार गरेकी छिन् । त्यसमा उनले विभक्ति र नामयोगी छुट्याउनुपर्छ भनेर निष्कर्षसमेत दिएकी छिन् । उनी भाषाविज्ञ माधव पोखरेलकी सुपुत्री पनि हुन् । माधव पोखरेल पनि पदयोग र पदवियोगसम्बन्धी मैले प्रस्तुत गरेका धारणामा सहमत हुनुहुन्छ । यो कुरा उहाँले साहित्य सौगातमा दिएको आफ्नो लिखित अन्तरवार्तामा पनि भन्नुभएको छ । अहिले पुग नपुग १०० जना प्रतिष्ठित लेखकका शताधिक कृतिहरूमा मेरो प्रस्तावित शैली लागू भएको देखिएको छ । यसले उत्साहित भएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनप्रसाद दाहाल
मोहनप्रसाद दाहाल
लेखकबाट थप