काँग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा : महानगरमा मेयर र उपमेयरका को-को बन्दैछन् उम्मेदवार ?
आसन्न स्थानीय तह निर्वाचनमा महानगर प्रमुख र उपप्रमुखको उम्मेदवारको छलफल लागि नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेबाट बैठक भइरहेको काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीलाई बताए । सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।
काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा काँग्रेसले गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । जसमा काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने सहमति भइसकेको छ ।
काँग्रेसको महानगर समितिले निलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो । पाँच जना मध्ये सिर्जनाको नाममा सहमति भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । यस्तै विराटनगरको मेयरका लागि भीम पराजुली, डीला संग्रौला, अमृत अर्याल र नागेश कोइरालाको नाममाथि छलफल केन्द्रित छ । सभापति शेरबहादुर देउवा पक्षले संग्रौला र अर्यालको पक्षमा जोड गरिरहेको छ ।
नेता कृष्णप्रसाद सिटौलाले पराजुलीलाई दोहोर्याउनु उपयुक्त हुने तर्क राखेका छन् भने नेता शेखर कोइरालाले नागेश कोइरालाको पक्षमा अडान राखेका छन् । यस्तै ललितपुर महानगरपालिकामा वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल केन्द्रित छ । विराटनगर र ललितपुरमा वर्तमान मेयरलाई दिने कि नयाँलाई अगाडि सार्ने भन्नेमा छलफल भइरहेको सहमहामन्त्री जीवन परियारले रातोपाटीलाई बताए ।
तीन वटा उपमहानगरपालिकाको उपमेयरका लागि पनि काँग्रेसमा हानथाप चलिरहेको छ । गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले मेयर पाएको भरतपुर महागरपालिकामा काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने छ । काँग्रेसले भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठ र चित्रसेन अधिकारी मध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।
यस्तै पोखरा महानरपालिकाको उपमेयरमा कोकिला राना भाटको सम्भावना बढी छ । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसले महिलालाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।
यस्तै विरगञ्ज महानगरपालिकाको उपमेयरमा काँग्रेसबाट आकांक्षीको नाम शुक्रबार साँझ मात्र पठाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए । उक्त नाममाथि छलफल गरेर पार्टीले चुनाव जित्ने सक्नेलाई उम्मेदवार बनाउने उनको भनाइ छ । विरगञ्जमा गठबन्धनबाट जसपाले मेयर पाएपछि काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने भएको हो ।
काँग्रेसबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस भएको छ । जसमा वर्तमान उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’