शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

एमाले हेटौंडाको चुनावी घोषणा : मासिक १० हजार लिटर निःशुल्क खानेपानीदेखि हिडिम्बा टावर निर्माणसम्म

शुक्रबार, ०९ वैशाख २०७९, २१ : ५४
शुक्रबार, ०९ वैशाख २०७९

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले नगर क्षेत्रभित्र गर्ने कामहरु समेटेर आगामी निर्वाचनको लागि चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना र केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेलले संयुक्तरुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
एमाले हेटौंडा नगर कमिटीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा नगरभित्रका हरेक घरमा मासिक १० हजार लिटर निःशुल्क खानेपानीदेखि  हेटौंडाको परिचय तथा परम्परागत संस्कृति झल्काउने हिडिम्बा टावर निर्माण गर्नेसम्मका योजनाहरु समावेश गरिएको छ ।

एमालेले हेटौंडा उपमहानगरपालिकाको आगामी ५ वर्षको योजनाको रुपमा मुख्यगरी दीर्घकालीन सोचसहितको योजनावद्ध विकास, पूर्वाधार तथा शहरी विकास,आर्थिक विकास, सामाजिक साँस्कृतिक विकास, वन, वातावरणको संरक्षण तथा विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास तथा राजस्व, खर्च, बाह्य स्रोत र सहकार्य लगायतका योजनाका बुँदाहरु प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।

हेटौंडालाई समय समयमा रणनीतिक परामर्शका लागि सबै पक्ष समेटेर नगर विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मूल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने, नगर यातायात गुरुयोजना तयार गर्ने एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी हेटौंडाको यातायात व्यवस्थापन तथा संघीय सरकारको निर्देशन अनुसार २५ मिटर सडक विस्तार गर्ने अथवा वैकल्पिक सडक निर्माणको काम गर्ने भन्ने बिषयलाई पनि कार्यान्वयन गर्ने, नगरभित्रका अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने योजनाहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप