आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिका : सत्तारुढ गठबन्धनबीच भागबण्डापछि दलहरु आफ्नै तालमा

शुक्रबार, ०९ वैशाख २०७९, २० : ५१
शुक्रबार, ०९ वैशाख २०७९

सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुङ्गिएको दुई दिन भइसके पनि पालिकास्तरमा दलहरु आ–आफ्नै तालमा छन् । सत्तारुढ गठबन्धनमा भएको भागबण्डा अनुसार बुटवल उपमहानगरको मेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिने तय भइसकेको छ ।

उक्त भागबण्डा अनुरुप गठबन्धनमा रहेका पाँच वटै दलले मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारका लागि मत माग्नुपर्ने छ । तर शुक्रबारसम्म पनि गठबन्धन घटकहरु मतदातासम्म पुग्न चासो देखाएका छैनन् । उनीहरु वडा तहको भागबण्डा र आ–आफ्ना उम्मेदवार चयनका लागि व्यस्त छन् ।

केन्द्रले मेयर र उपमेयरमा गठबन्धनका तर्फबाट कुन दलले उम्मेदवारी दिने भन्ने विषय टुङ्ग्याएको भए पनि वडाकाबारे अझै भागबण्डा भइसकेको छैन ।

१९ वडा रहेको बुटवल उपमहानगरपालिकामा कुन वडामा कसले उम्मेदवार बनाउने र सम्बन्धित दलबाट पनि कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्न बाँकी छ । यसरी  दलहरु  पद र वडा बाँडफाँटमा केन्द्रित रहँदा ती दलका कार्यकर्ताहरु अझै प्रचार–प्रसार लगायत चुनाव केन्द्रित गतिविधिमा चलायमान हुन सकेका छैनन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा केही पालिकामा दलहरुबीच तालमेल भएको थियो, जसमा एउटा दलले मेयर र अर्को दलबाट उपमेयरमा उम्मेदवारी दिँदा मतदाता शिक्षाको अभावमा कतिपय मत बदर भएको थियो । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने भए पनि चुनाव प्रचार–प्रसार तथा मतदाता शिक्षाका सम्बन्धमा अहिलेसम्म खासै काम हुन सकेको छैन ।

दलहरुले प्रचार कार्यालय तथा सम्पर्क कार्यालय खोलेका भए पनि कार्यकर्ता परिचालन तथा प्रचार–प्रसारमा चासो देखाएका छैनन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सचिव विमलराज भट्टराईका अनुसार नगरका सबै वडामा पार्टी कार्यालय खोलिसकेको जानकारी दिँदै अब चाँडै संयुक्त रुपमा चुनाव प्रचारमा जुट्ने बताए । उम्मेदवारी नदिँदासम्म चुनाव प्रचार अभियानले गति लिन नसक्ने जनाए ।

उनले मतदाता शिक्षा कार्यक्रम निर्वाचन आयोगले पनि राखेकाले अहिले दलहरुले त्यसतर्फ कम ध्यान दिएको जिकिर गरे ।

नेकपा एकीकृत समाजवादी पार्टीका बुटवल नगर अध्यक्ष चिनबहादुर गुरुङले पार्टीको चुनाव चिह्न प्रचार गर्ने काम भइरहेको बताए । विभिन्न वार्ड तथा टोल समिति मार्फत चुनाव चिह्नका बारेमा जानकारी गराइने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले मेयर र उपमेयर केन्द्रले टुङ्ग्याए पनि वडा अध्यक्षका उम्मेदवार टुङ्ग्याउन बाँकी रहेकाले चुनाव प्रचार अभियानले गति लिन नसकेको बताए ।

गठबन्धनभित्रको राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालको संगठन बुटवलका कमजोर छ ।

एमालेले के गर्दैछ ?

सत्तारुढ गठबन्धनभित्र वडा अध्यक्षको भागबण्डा मिलाउन बाँकी रहेका कारण चुनाव प्रचार अभियानले गति लिन नसकेको जिकिर भइरहँदा सो गठबन्धनलाई एक्लै टक्कर दिन अग्रसर नेकपा एमाले पनि चुनाव प्रचार अभियानमा सुस्त नै देखिएको छ ।

२०७४ सालको निर्वाचनमा बुटवल उपमहानगरमा एमालेले जितेको थियो । एमालेले अहिलेसम्म बुटवलमा तालमेलका बारेमा औपचारिक निर्णय गरिसकेको छैन । यद्यपि, कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतका दलसँग तालमेलको सम्भावना रहेको सो पार्टीका स्थानीय नेता बताउँछन् ।

एमालेका नगर अध्यक्ष किसन ज्ञवालीले अहिलेसम्म तालमेलबारे ठोस निर्णय भइनसकेको रातोपाटीलाई बताए ।

उनले पनि उम्मेदवार टुङ्ग्याउने काम भइरहेकाले प्रचारप्रसारमा खासै ध्यान दिन नसकिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप