सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा सत्ता गठबन्धनमा गडबड, सहमति खोज्न नेताहरु काठमाडौंमा

शुक्रबार, ०९ वैशाख २०७९, १८ : ४२
शुक्रबार, ०९ वैशाख २०७९

मकवानपुरमा सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलाउने कसरत जारी रहेको छ । जिल्लास्तरको गठबन्धनके संयन्त्रले दलहरु बीच पदीय भागबण्डा टुङ्ग्याउन नसकेपछि सो विवाद प्रदेशमा पुगेको छ ।

गठबन्धनका दलहरु बीच भागबण्डाको विषयमा प्रदेशस्तरको संयन्त्रसँग जिल्लास्तरीय नेताहरु काठमाडौंमा बैठक बसिरहेका छन् । यद्यपी बैठकको निष्कर्ष भने आइसकेको छैन । गठबन्धनको मकवानपुर जिल्ला संयन्त्रको बैठकले पालिका र वडा तहको भागबण्डा मिलाउन नसकेपछि दलका नेताहरु काठमाडौं पुगेका हुन् । गएराति अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेताहरु काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ कहाँ विवाद लिएर पुगेका हुन् ।

गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा पारिदिएपछि नेपाली काँग्रेस मकवानपुरभित्र गडबड चलिरहेको छ । एकीकृत समाजवादीको पोल्टामा गठबन्धनले हेटौंडाको मेयर पारिदिएपछि नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिसहित १९ वटै वडाका सभापतिले केन्द्रको निर्णय नमान्ने निर्णय समेत गरेको छ । समितिले सो निर्णय माथि पुनावरोलकन गरी सच्याउन माग गर्दै यदी निर्णय नसच्याएको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्ने बताएको छ । यता नेपाली काँग्रेस मकवानपुरको संस्थापन इतर पक्षले उपमहानगरपालिका समितिको सो निर्णयलाई समर्थन दिएको छ ।

इतर पक्षले केन्द्रले हेटौंडाको वस्तुस्थिति र २०७४ को निर्वाचनको मत तथा जनाधारको बेवास्ता गर्दै केही नेताहरुले राजनीतिक प्रतिशोध साँध्नका लागि दाबी नै नगरी हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयको फिर्ता लिन माग गरेको छ । इतर पक्षले सो निर्णय माथि पुनरावलोकन गरी फिर्ता नलिएको खण्डमा निर्वाचनको परिणाम प्रतिकुल आए जिम्मेवार नहुने बताएको छ । आगामी निर्वाचनमा हेटौंडाको मेयरमा एकीकृत समाजवादी स्वयं जित्न नसक्ने मनसाय बनाइरहेको अवस्थामा केन्द्रले एमालेलाई सहयोग पुग्ने गरी निर्णय गरेको नेपाली काँग्रेस मकवानपुरका एक नेताले बताए ।

उनले आगामी निर्वाचनमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार जो आएपनि काँग्रेसका अधिकांश कार्यकर्ताहरूले भोट हाल्ने पक्षमा नरहेको बताए । ‘काँग्रेस कार्यकर्ताहरूको माग हेटौंडाको मेयर हो । केन्द्रले कार्यकर्ताको भावना र जनाधारको बेवास्ता गरेर एकीकृत समाजवादीलाई टिकट दिएको छ । यसले एमालेलाई नै सजिलो बनाएको छ,’ उनले भने, ‘हेटौंडाको मेयरमा एकीकृत समाजवादी आफै जित्न सक्ने मनसायमा छैन । त्यसमाथि आम कार्यकर्ताहरु रुखमा नै भोट हाल्ने पक्षमा छन् । त्यसैले उनीहरुले कलममा भोट हाल्दैनन् ।’

हेटौंडाको मेयर काँग्रेसले पाउनु पर्ने कार्यकर्तारुहको माग भएकाले त्यसको सम्बोधन केन्द्रले गर्नुपर्ने उनले बताए । अन्य पालिकाको हकमा सम्मानजनक भागबण्डा गरेर गठबन्धन गर्दा कार्यकर्ताहरु प्रतिवद्ध रहने उनले बताए । ‘कार्यकर्ताको एक मात्र माग हो काँग्रेसलाई हेटौंडाको मेयर । त्यसलाई केन्द्रले सम्बोधन गर्नुपर्छ । मकवानपुरको अन्य पालिकामा जनाधार अनुसारको सम्मानजनक भाग लिएमा कार्यकर्ताहरु गठबन्धनमा प्रतिवद्ध हुन्छन् ।’ उनले भने ।

यसैबीच नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरू सहजै रुपमा सफल हुने दावी गरेका छन् । उनले सत्तारुढ ५ दलीय गठबन्धन मिलेर मकवानपुरको स्थानीय तहको निर्वाचनमा आउँदा एमालेलाई कुनै असर नपर्ने बताए ।

मकवानपुरमा एमालेको अवस्था राम्रो रहेकाले आगामी निर्वाचनमा आम मतदाताले एमालेलाई मत दिएर सत्तारुढ गठबन्धन विरुद्ध सहजै जिताउने दावी गरे । ‘सत्तारुढ गठबन्धन जसरी आएपनि हामीलाई कुनै समस्या हुँदैन । गठबन्धनले स्थानीय तहको निर्वाचनमा कुनै फरक पर्दैन । हामी सहजै जित्छौ , आम मतदाताले एमालेलाई जिताउनु हुन्छ,’ उनले भने ।

उनले आगामी निर्वाचनको लागि उम्मेदवार छनौट कार्य अन्तिम अवस्थामा रहेको र एमालेले फरक रणनीतिका साथ आफ्नो चुनावी कार्यक्रम लिएर जनतासमक्ष जाने भएकाले सबै पालिका र वडाहरूमा जित सुनिश्चित रहेको बताए । एमालेले केन्द्रीय निर्देशन अनुसार जिल्ला र पालिका तहमा सक्रिय रहेको दलहरुसंग पनि सहकार्य गरेर आगामी निर्वाचनमा जाने तयारी गरेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप