आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

मोरङसहित ६ जिल्लामा गठबन्धन टुट्ने खतरा

माओवादी नेताले भने, ‘सँगै हिँड्न सकिन्छ टाङ्मुनि छिर्न सकिँदैन’
शुक्रबार, ०९ वैशाख २०७९, १७ : ३७
शुक्रबार, ०९ वैशाख २०७९

केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय गरेको भएपनि उम्मेदवारको मनोनयन गर्ने समय २ दिनमात्रै बाँकी छँदा प्रदेश १ का ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर भएको छ । गठबन्धन दलकै नेताहरूले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । अहिलेसम्म गठबन्धन दलले प्रदेश १ का ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङमा भागबण्डा टुङ्ग्याइसकेका छन् ।

यस्तै इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीले बताए । ‘पहाडी जिल्लामा उदयपुरमा काँग्रेसबाहेक गठबन्धन हुने देखिएको छ अन्य जिल्लाहरुमा संखुवासभा बाहेक सबैमा मिल्ने देखिन्छ,’ उनले भने । यता, मोरङमा पटक–पटक छलफल गर्दा पनि सहमति नभएको कारण गठबन्धन टुट्ने सम्भावना रहेको एक नेताले बताए ।

नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता वसिम आलमले आफ्नो पार्टीले विराटनगर बाहेकका सबै पालिकामा उम्मेदवारी दिने तयारी गरेको बताए । ‘हाम्रो पार्टीले आजै बैठक बसेर सहमति हुने सम्भावना कम रहेको विश्लेषण गर्दै मोरङको विराटनगर बाहेकका पालिकामा उम्मेदवारी दिने तयारी गरेको छ,’ आलमले भने, ‘हामीले माग गरेको पालिकाहरुको विषयमा कांग्रेस र माओवादीले कुनै निष्कर्ष दिएका छैनन् ।’

माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामीले अब कसैको टाङमुनि छिर्न सकिँदैन भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छन् । ‘अब मोरङले नयाँ सन्देश दिनेछ, जसले देशमा तरङ्ग पनि ल्याउने छ,’ गठबन्धन तोड्न सक्ने संकेत गर्दै उनले लेखेका छन्, ‘मात्र यो काम दुई दिनमा हुनुपर्छ । सबैले आफ्नो सापेक्षतामा पहल लिँदै अगाडि बढ्नुहुनेछ, सँगै हिंड्न सकिन्छ टाङमुनि छिर्न सकिँदैन ।’

माओवादी मोरङका नेता कुशल लिम्बूले कांग्रेसले हेपेको कारण आफूहरु एक्लै चुनावमा जाने तयारी गरिहेको बताए । ‘कांग्रेसका साथीहरुले छलफलमा रुचि देखाएका छैनन्,’ लिम्बूले भने ।

कहाँ कहाँ टुंगियो ?

अहिलेसम्म प्राप्त विवरण अनुसार ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धनबीच भागबण्डा टुंगिएको छ । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा मिल्न थोरै मात्र बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

विवरण अनुसार ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।

यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । जसअनुसार कांग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।

यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा कांग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा कांग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

यस्तै कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ कांग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप