प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने काँग्रेसमा सहमति
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
बैठकका बीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ । काठमाडाैंकाे मेयरमा उहाँको सम्भावना बढी छ । औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ ।’ काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
काँग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप-मेयरका उम्मेदवार चयन गर्ने छ । ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यत: तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकामा मुख्यतः वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल भइरहेको छ । यस्तै विराटनगर महानगरपालिकामा डिला संग्रौला, भीम पराजुली लगायतको नाममाथि छलफल भइरहेको छ ।
को हुन् श्रृजना ?
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ । उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।
०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।
०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।
त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन् । १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो