बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

९ महिनामा २ खर्बको पेट्रोलियम पदार्थ आयात, व्यापार घाटा १३ खर्ब नाघ्यो

शुक्रबार, ०९ वैशाख २०७९, १६ : ४६
शुक्रबार, ०९ वैशाख २०७९

चालु आर्थिक वर्षको ९ महिनामा नै मुलुकको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्र नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।   यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३१.९७ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा नेपालले कुल ११ खर्ब ११ अर्ब ३९ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र माल वस्तु आयात गरेको थियो ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा यो वर्ष निर्यात समेत अधिकतम ६९.४४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा मुस्किलले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको मात्र माल वस्तु निर्यात गरेको मुलुकले यो वर्ष १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको हो । समीक्षा अवधिमा मुलुकले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । मुलुकले १६३ देशसँग व्यापार गरेको छ । 

दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको ९ महिनामा नेपालले दुई खर्ब रुपैयाँ बराबरको त पेट्रोलियम पदार्थ मात्र आयात गरेको छ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासका लागि मात्र यस अवधिमा १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्कले देखाएको छ । 

यस अवधिमा सबैभन्दा बढी डिजेल, १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको आयात भएको छ भने ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोल आयात भएको छ । यसैगरी समीक्षा अवधिमा कुल ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यासको आयात भएको विभागको तथ्याङ्कमा छ । 

यस्तै, ९ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप