शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए

शुक्रबार, ०९ वैशाख २०७९, १५ : २५
शुक्रबार, ०९ वैशाख २०७९

प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना हुनेछन् । 

विराटनगरमा शुक्रबार सम्वाद समूहद्वारा आयोजित कार्यक्रममा अधिकारीसहित मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले निर्वाचन तयारीबारे जानकारी दिए । उनीहरुका अनुसार प्रदेशका कतिपय स्थानमा नेपाली सेनाले गस्ती पनि सुरु गरिसकेको छ । यस्तै अपुग भएका जनपथ प्रहरीको व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश प्रहरी कार्यालयले समन्वय गरिरहेका छन् । 

आचारसंहिता पालना गर्ने गराउने, मतदान केन्द्रको अवस्थाबारे जानकारी लिने, मतदान केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ति दिने, आवश्यक सामग्रीहरुको बाँडफाँट र व्यवस्थापन गर्ने काम पनि अहिले धमाधम भइरहेको छ । यही सन्दर्भमा प्रस्तुत छ, मोरङको निर्वाचन तयारीबारे प्रमुख अधिकारीहरुको भनाइ :

आचारसंहिताबारे सबै सचेत हुनुपर्छ
भरत लम्साल, मुख्य निर्वाचन अधिकृत, मोरङ

हामीले विराटनगरको शनिहाटस्थित रेडक्रस भवनमा मोरङको मुख्य निर्वाचन कार्यालय स्थापना गरिसकेका छौं । कार्यालय स्थापना नहुँदा कहाँ बसेर के गर्ने भन्ने विषयमा अप्ठ्यारो थियो । तथापि निर्वाचनमा खटिने कर्मचारीहरुको नामावली संकलन गर्ने काम प्रदेश निर्वाचन कार्यालयबाट भइरहेको थियो । प्राप्त नाम लिष्ट अनुसार कर्मचारी व्यवस्थापनको काम पनि गर्दैछौं । 

विहीबार कार्यालय खोलेर अदालतभित्रै कर्मचारी साथीहरुलाई सोही दिन देखि नै लागू हुने गरी नियुक्ति दिएका छौं । काम चाहिं अगाडिदेखि नै लगाइरहेका थियौं । त्यस्तै, जिल्लाभरी निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । त्यहाँ सबै कामहरू निर्वाचन आयोगले प्रकाशन गरेको कार्यक्रम तालिका बमोजिम गरिरहेका छौं । केही निर्वाचन सामग्री प्राप्त भइसकेको छ । जस्तो मनोनयन फारम, मनोनयन गर्दा आवश्यक पर्ने फारम तथा निर्देशिका पनि प्राप्त भएको छ । त्यही अनुसार हामी काममा लागेका छौं ।

हामी सबै आम नेपाली नागरिकले निर्वाचनलाई कसरी निष्पक्ष, स्वतन्त्र, भयरहित र धाँधलीरहित बनाएर सम्पन्न गर्ने भन्ने विषय नै महत्वपूर्ण हो । हाम्रो पनि त्यही चिन्ता र चासो छ । आचारसंहिता पालना गर्ने दायित्व आम मतदातादेखि सबै सरकारी, गैरसरकारी संघ संस्था र व्यक्तिहरुको हो । 

आचारसंहिता पालना गर्न गराउन सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्छ । यो नैतिक दायित्व हो । यसलाई दण्डै लगाएर आचारसंहिता लागू गर्छौं भन्न हामी सक्दैनौं । मसँग साधन स्रोत छ । मैले आचारसंहिता पालना गराउनका लागि सम्बन्धित सुरक्षा निकायमा भनौंला । उहाँहरुले कन्ट्रोल गर्नका लागि खोज्नुहोला । तर, त्यसरी मात्रै आचारसंहिता पालना हुँदैन । एउटा दलले उल्लंघन गर्छ, त्यसले उल्लंघन गरेको, के हेरेको भनेर हामीलाई फोन आउँछ । यो हटाउनु पर्दैन, हेर्नु पर्दैन भनेर आउँछ । हामी प्रत्येक ठाउँमा पुगेर त्यो हटाउन सक्दैनौं । हामीसँग साधन पनि छैन, स्रोत पनि छैन । स्पष्ट कुरा हो । यसलाई नैतिकताको रुपमा लिएर सबै दलले, उम्मेद्वारले हामी जिम्मेवार नागरिकहरुले आफ्नो आफ्नो तर्फबाट गरेनौं भने आचारसंहिता उल्लंघनको विषय रोक्न सकिँदैन ।

सुरक्षा चुनौती छैन
काशीराज दाहाल,प्रमुख जिल्ला अधिकारी, मोरङ

विशेष गरी हामीलाई निर्वाचन आयोग, गृह मन्त्रालयले पठाएको निर्देशन बमोजिम केन्द्रीय सुरक्षा योजनामा आधारित रहेर जिल्ला सुरक्षा योजना तयार भइसकेको छ । जिल्ला सुरक्षा योजनाअनुसार प्रत्येक ३ सय मतदान स्थललाई हामीले विभिन्न स्तरमा वर्गीकरण गरेका थियौं । त्यही अनुसार हामीले मतदान स्थलको पनि अनुगमन गरिरहेका छौं । सुरक्षा समितिको संयुक्त टोली नै मतदान स्थलको अनुगमन गरेको अवस्था छ । विगतदेखि नै मतदानस्थल निर्धारण भइसकेको हुनाले परिवर्तन गर्न सक्ने अवस्था छैन । तर, त्यो हेर्दा केही हाम्रो संवेदनशीलताको विषयमा जे तय गरेका थियौं । त्यो फेरबदल हुन सक्ने सम्भावना पनि देखियो । 

केन्द्रीय सुरक्षा योजनामा आधारित रहेर स्थानीय तह निर्वाचन २०७९ जिल्ला सुरक्षा योजना हामीले तय गरिसकेका छौं । त्यो अनुसार हामीले निर्वाचन अधिकृतको कार्यालय पनि हिजोदेखि खुलेको छ । निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा टोलीले सुरक्षा प्रदान गर्छ भने निर्वाचन अधिकृतहरुको पनि सुरक्षा सशस्त्र प्रहरीले गर्ने भनेको छ । मतदान स्थलको चाहिं मतदान केन्द्र र मतदान स्थलको भित्री पेरिफेरिमा नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा प्रदान गर्छ भने त्यो भन्दा बाहिरको सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेनाले गर्छ । सूचना संकलन गर्ने काममा राष्ट्रिय अनुसन्धान पनि परिचालन गर्ने व्यवस्था मिलाएका छौं । 

जनशक्तिको कुरा गर्दा १० हजार कर्मचारीको विवरण हामीसँग संकलन छ । निर्वाचन कार्यालयमार्फत् त्यो विवरण संकलन भएको हो । जनशक्ति व्यवस्थापनको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था छ । ती कर्मचारीलाई निर्वाचनमा खटाउन सक्ने नसक्ने भन्ने विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतकोमा हामीले निर्णय गरेर उपलब्ध गराएका छौं । आवश्यक संख्या हेर्दा ४ हजार १ सय कर्मचारी मतदान केन्द्रमा खटिने अवस्था देखिएको छ । हामीसँग कर्मचारीको अभाव छैन । 

सुरक्षा निकायको परिचालन सन्दर्भमा सशस्त्र प्रहरी बल र नेपाली सेनालाई हामीले जिल्लाबाटै परिचालन हुने व्यवस्था छ । थप आवश्यक पर्ने देखिएको छैन । नेपाल प्रहरीको खटन पनि जिल्लामा भएको संख्या नपुग हुने भएकोले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । 

प्रत्येक मतदानस्थलमा आधा घण्टामा नेपाली सेना पनि पुग्ने गरी व्यवस्थापन भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा दिएर अहिलेदेखि नै नेपाली सेनाले मोबाइल गस्ती, पेट्रोलिङ गरिरहेको छ । मतदाता, मतदानस्थल अन्य कतिपय सुरक्षा चुनौती समयमै आँकलन गरेर सुरक्षा व्यवस्था भरपर्दो बनाउने विषयमा नेपाली सेनाको मोबाइल टोली र सशस्त्र प्रहरीको पनि मोबाइल टोली परिचालन भएको अवस्था छ । 

हामीले जिल्ला सुरक्षा योजनामा प्रदेश १ मा हवाइ गस्ती पनि गर्नुपर्ने अवस्था आएको खण्डमा वा कतिपय दुर्गम ठाउँमा निर्वाचन सामग्री हेलिकप्टरबाट पनि लानुपर्ने भएको अवस्था रहेकोले हेलिकप्टर पनि स्ट्याण्डबाइ राखेका छौं । यो केन्द्रीय सुरक्षा योजनामा पनि परेको अवस्था छ । हामीले दुइ÷तीन चरणमा स्थानीय निर्वाचनलाई केन्द्रीत गरेर राजनीतिक दलहरुसँग पनि छलफल गरेका छौं । त्यस सन्दर्भमा निर्वाचनलाई सुरक्षित, भयरहित वातावरण सम्पन्न गर्ने, बढी भन्दा बढी मतदाता सहभागी गराउने, मत बदर हुने अवस्थालाई पनि कम गर्ने गरी अगाडि बढ्न सुझाव दिएका छौं ।

सबै दलहरु निर्वाचन केन्द्रीत हुनुहुन्छ । केही बहिष्कार गर्ने भन्दै पनि आउनु भएको छ । तर, उहाँहरुले बहिष्कार गर्ने नाममा अवरोध गरे कारबाही हुन्छ । सिमा जोडिएको पालिकामा साधन स्रोतको अभावले केही चुनौती छ । मोबाइल टोली आधा घण्टामा पुग्ने भनेका छौं । तर, स्रोतले सपोर्ट गर्न सकेन भने हामीलाई चुनौती हुन सक्छ ।

२७ गते सम्ममा मतदान स्थलमा सबै सामग्री पुग्छ

लेवन काश्यप अधिकारी, प्रमुख, प्रदेश निर्वाचन कार्यालय 

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल रहेको छ । मतदान केन्द्र ४ हजार ५१ वटा छन् । प्रदेश १ मा कूल मतदाता ३३ लाख ४७ हजार ३ सय ८४ जना छन् । मोरङमा भने ३ सय मतदान स्थलमा ८ सय २० वटा मतदान केन्द्र छन् । मोरङका १ सय ५९ वटा वडाका ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । यस पटक मात्रै मोरङमा १ लाख ४१ हजार मतदाता थपिएका हुन् । 

निर्वाचन कार्यालयले गरेको प्रगतिको सन्दर्भमा निर्वाचनको समयमा आवश्यक पर्ने जनशक्तिको विवरण तयार गरेर उपलब्ध गराउने काम गरेका छौं । त्यो अन्तिम चरणमा पुगेको छ । केही अपडेट पनि हुँदैछ । संकलन गर्दै बुझाउँदै पनि गर्दैछौं । हामीले मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम दिएर उहाँहरुलाई मतदानस्थलमा पठाउने छौं । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दिनेछौं । अरु सामग्रीहरु हाम्रो कार्यालयमा हुन्छ । 
निर्वाचन सामग्रीहरु ११ र १२ गतेदेखि प्राप्त हुन सुरु हुन्छ । ती सामग्री रुजु गर्ने, वितरण गर्ने काम हुन्छ । सम्बन्धित मतदान अधिकृतहरूलाई नियुक्ति गर्ने तथा २१, २२ र २३ गते करिब १७ सय कर्मचारीलाई तालिम दिएर हामीले सबै सामग्री बुझाएर २७ गते सम्बन्धित मतदान स्थलमा पुग्ने गरी तयारी गरिरहेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप