शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा जनमोर्चा र जसपा भन्छन्, ‘ठूला दलले ‘बाइपास’ गरे गठबन्धनबाट बाहिरिन्छौं’

शुक्रबार, ०९ वैशाख २०७९, १५ : १९
शुक्रबार, ०९ वैशाख २०७९

विहीबार राती ११ बजेसम्म कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा सत्तारुढ गठबन्धन संयन्त्रको बैठक बस्यो । सत्ता गठबन्धनको बैठक भनिएपनि जसपा र राष्ट्रिय जनमोर्चालाई बैठकबारे कुनै जानकारी थिएन  । उक्त बैठकमा भागवण्डाको अन्तिम टुंगो लगाउने भनिएको थियो । तर बैठक विना निष्कर्ष टुंगियो । 

गत सोमबार बसेको बैठकपछि काँग्रेस, माओवादी र समाजवादीले के गरे भन्ने कुरा हामीलाई जानकारी नै छैन,’ राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव पुर्ण बहादुर शाहीले रातोपाटीसँग भने,‘सुरुको बैठकदेखि नै म सहभागी छु । तर हामीलाई धेरै कुरामा ‘बाइपास’ गर्न खोजिन्छ ।’ गए रातीको बैठकले भागवण्डाको टुंगो लगाउन नसकेर शुक्रबार अन्तिम निर्णय गर्नका लागि बैठक बस्ने भनिएको छ । तर उक्त बैठकबारे पनि आफुलाई अहिलेसम्म कुनै जानकारी नआएको शाहीले बताए । ‘ठूला दल भनिनेहरूले हामीसँग सहमतिमै जाने भनेपनि व्यवहारमा ठिक उल्टो गरेकोे देखिन्छ । जनमोर्चाको सबै जिल्लामा सांगठनिक संरचना छ तर ठूला दलहरुले हामीलाई नस्वीकारेको अवस्था छ,’ शाहीले भने ।

काँग्रेस, माओवादी र समाजवादी त्रिपक्षीय भएर जाने जनमोर्चा र जसपालाई ‘बाइपास’ गर्ने जस्तो देखिएकाले गठबन्धनबाट बाहिरिने संकेत शाहीले गरे, ‘हामीलाई बैठकमा सहभागी नै नगराइने, साना दल केही पनि होइनन् भन्ने मानसिकता देखाए हामी गठबन्धनबाट बाहिरिनुको विकल्प छैन ।’ जनमोर्चा संघीयता विरोधी दल हो । तर प्राप्त लोकतान्त्रिक, गणतन्त्रलाई रक्षा गर्नका लागि मिलेर जानुपर्छ भनेर तालमेल गरिएको थियो । तर ठूला दलहरूको इमान्दारीता देखिँदैन,’सचिव शाही भन्छन् ।  जनमोर्चाले ०७४ मा सुर्खेतको लेकवेशी नगरपालिका–१ मा एकजना वडा सदस्य र कार्यपालिका सदस्य बाहेक कतै जित्न सकेन । त्यसैले अहिले संगठन भएको ठाउँमा पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमात्रै माग गरिएको सचिव शाही बताउँछन् । 

जनमोर्चाको सुर्खेतको लेकवेशी, दैलेखको भैरवी गाउँपालिकाको वडा नं. १ र २, भगवतीमाई गाउँपालिकामा उपाध्यक्ष, वडासदस्य, कालीकोटको रास्कोटमा वडा ५, नरहरिनाथको वडा ९ मा दाबी थियो । तर प्रमुख राजनीतिक दलहरु भने कुनै ठाउँमा पनि दिन नमानेको सचिव शाहीले जानकारी दिए । उता जसपाका प्रदेश अध्यक्ष देवीकृष्ण न्यौपानेले प्रमुख राजनीतिक दलहरुले आफूहरुलाई पेलेर नै जान खोजेको बताउँछन् । उनले भने,‘ तीन दलले आ–आफ्नो हिसाबले जाने हुन भने हामी पनि आफ्नै तरिकाले जाने तयारीमा छौं । शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनबाट बाहिर गएको घोषणा गर्छौं ।’ जसपाको नौ जिल्लामा सांगठनिक अवस्था रहेको तथा एक्ला एक्लै लडेको खण्डमा मेयर/उपमेयरमा पनि उम्मेदवार उठाउने स्थिति रहेको उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप