शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

मधेसका मुख्य पालिकाहरुमा लोसपा र एमालेबीच चुनावी तालमेलको तयारी

शुक्रबार, ०९ वैशाख २०७९, १५ : १२
शुक्रबार, ०९ वैशाख २०७९

मधेस प्रदेशका मुख्य पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमालेबीच तालमेलको तयारी भइरहेको छ । यद्यपि दुवै दलले आपसमा चुनावी तालमेलबारे आन्तरिक सहमति भए पनि औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।

वीरगञ्ज महानगरपालिकामा दुवै दलले तालमेल गर्ने भएका छन् । बिहीबार पर्सामा पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गरिएको हो । मधेस प्रदेशका अन्य प्रमुख पालिका तथा प्रदेश १ को विराटनगर महानगरपालिकामा समेत आपसमा तालमेल गर्ने गरी तयारी भइरहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार विराटनगर महानगरपालिका, बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा चुनावी तालमेलका लागि दुई दलबीच संवाद सुरु भइसकेको छ । अन्य नगरपालिका तथा गाउँपालिकामा पनि यी दुई दलबीच चुनावी तालमेल हुन सक्छ ।

लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘केन्द्रले यो दलसँग वा त्यो दलसँग गठबन्धन गर्न भनेको छैन, स्थानीय तहमा जुन दलसँग कुरा मिल्छ त्यो दलसँग गठबन्धन गर्नका लागि भनेको छ । जहाँ एमालेसँग कुरा मिल्छ, त्यहाँ एमालेसँग तालमेल गर्ने, जहाँ काँग्रेससँग मिल्छ, त्यहाँ काँग्रेससँग गर्नेछौं ।’

लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य एकवाल मियाका अनुसार एमालेसँग बारामा गठबन्धनका लागि शनिबारदेखि छलफल हुन्छ । बारा जिल्लामा दुईवटा उपमहानगरपालिकासहित १६ पालिका छन् । ती पालिकामा कहाँ-कहाँ तालमेल हुन सक्छ भन्नेबारे दुवै दलका बीचमा शनिबार छलफल हुने उनको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकामा पनि गठबन्धन गर्ने लोसपाको तयारी रहेको छ । त्यहाँका लागि औपचारिक संवाद सुरु नभए पनि स्थानीय कार्यकर्ता तथा नेता तहमा आन्तरिक छलफल सुरु भइसकेको छ । लोसपाका धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले हालसम्म लोसपाबाट को उम्मेदवार बन्ने भन्ने टुङ्गो नलागेकाले कोसँग तालमेल गर्ने भन्नेबारे छलफल सुरु हुन नसकेको बताए ।

उनले भने, ‘आज लोसपाबाट उपमहानगरपालिकाको उम्मेदवार को हुने भन्ने टुङ्गो लाग्दैछ, टुङ्गो लागेपछि गठबन्धनको बारेमा छलफल सुरु हुन्छ ।’ जनकपुर उपमहानगरपालिकामा एमालेसँग गठबन्धन हुने सम्भावना अधिक रहेको र सम्भवतः शनिबारदेखि त्यसमा छलफल हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप