हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिएपछि काँग्रेसमा असन्तुष्टि
आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसलाई उपेक्षा गरी नेकपा एकीकृत समाजवादीलाई मेयर दिइएको भन्दै काँग्रेसबाट मेयरका आकांक्षी केही नेताले विरोध जनाएका हुन् ।
काँग्रेस हेटौंडा उपमहानगर समितिले केन्द्रले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय पुनरावलोकन गरेर सच्याउनुपर्ने उनीहरुको माग छ । अन्यथा, हेटौंडा उपमहानगरपालिकामा गठबन्धन घटकबीच नै काँग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
काँग्रेस मकवानपुरको संस्थापन इतर पक्षले एकीकृत समाजवादीले माग्दै नमागेको अवस्थामा हेटौंडाको मेयर दिनु काँग्रेसको आन्तरिक राजनीतिमा प्रतिशोधको एउटा उदाहरण भएको आरोप लगाएको छ ।
माओवादी केन्द्रले भने गठबन्धनको निर्णयलाई पालना गर्नुको विकल्प नभएको बताएको छ । उसले गठबन्धनको उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्नुपर्ने बताउँदै आएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफललाई तीव्र पारेको छ ।
यसरी छोड्यो काँग्रेसले मेयरमा दाबी
मकवानपुरमा काँग्रेस सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल हो । काँग्रेस वृत्तमा हेटौंडाको मेयर काँग्रेसले नै पाउने चर्चा थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर पराजित भएका आनन्दराम पराजुलीलाई बलियो उम्मेदवारको रुपमा हेरिएको थियो ।
पराजुली २०७४ को निर्वाचनमा हेटौंडाको मेयर पदमा एमालेका हरिबहादुर महतसँग पराजित भए । उनी ६१५ मतान्तरले पराजित भएका थिए । एमालेका महतले २३ हजार १२४ मत ल्याउँदा पराजुलीले २२ हजार ५०९ मत पाए ।
मकवानपुरबाटै प्रतिनिधित्व गर्ने महालक्ष्मी उपाध्याय डीना नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित भइन् । उनले हेटौंडाको मेयर जसरी पनि काँग्रेसको भागमा पार्ने र पराजुलीलाई मेयर बनाउने बचन दिएको काँग्रेसकै स्थानीय नेताहरुको भनाइ छ ।
तर, पार्टी नेतृत्वसमक्ष उनले हेटौंडाको मेयर सम्बन्धमा दह्रो अडान लिन नसकेका कारण नेकपा एकीकृत समाजवादी पार्टीले मेयर पदमा उम्मेदवारी लिन सफल भएको बताइन्छ ।
बहालवाला स्वास्थ्यमन्त्री विरोध खतिवडा एकीकृत समाजवादीका प्रभावशाली नेता मानिन्छन् । एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भएलगत्तै मन्त्री बनेका खतिवडाले मकवानपुरमा पार्टी र आफ्नो प्रभाव जमाउन हेटौंडाको मेयर कुनै पनि हालतमा एकीकृत समाजवादीले नै पाउनुपर्ने अडान लिएका थिए ।
उनकै अडानका कारण हेटौंडाको मेयर एकीकृत समाजवादीको भागमा परेको देखिन्छ । हेटौंडा खतिवडाको गृह नगर पनि हो । आफ्नै नगरमा बलियो बनेर जिल्ला राजनीतिमा सशक्त प्रभाव जमाउने खतिवडाको दाउ छ ।
खतिवडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् हुन् । उनले काँग्रेकी डीनालाई हराएर २०७४ को निर्वाचनमा जित हात पारेका थिए । खतिवडाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डीनालाई सो क्षेत्रमा सघाउने र आफू अर्कै निर्वाचन क्षेत्रबाट उम्मेदवार हुने बचन दिएपछि डीनाले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई छाड्न तयार भएको एकीकृत समाजवादीकै नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या